
काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मियान ) र नेपाल औषधि उत्पादक संघ (एपोन) बीचको व्यवसायिक लडाईं उत्कर्षमा पुगेको छ । दुवै संघमा आवद्ध औषधि व्यवसायीबीचको आन्तरिक द्धन्दले चर्को रुप लिएको छ ।
स्यानेटाइजरमा नेपाली औषधि उद्योग आत्मनिर्भर भइसकेकोले बिना दर्ता र गुणस्तर परीक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउन एपोनका पदाधिकारी आन्दोलनमा उत्रिएपछि त्यसको प्रतिकारमा मियानका पदाधिकारी उँभिएका छन ।
सुझाव समितिमा सिण्डिकेट
गत असार २२ गते मन्त्रीस्तरीय निर्णयबाट स्यानेटाइजर दर्ताको समय तीन महिना थप गरिएपछि एप्पोन आबद्ध व्यवसायी आन्दोलनमा उत्रिएका हुन ।
एपोन आबद्ध व्यवसायीहरुको आन्दोलनप्रति बिमति राख्दै मियानका रहेका व्यवसायीले मुट्ठीभरका उद्योगीहरुको स्वार्थको पक्षमा निर्णय गर्न उत्पन्न परिस्थितिको जिम्मेवार औषधि व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुने भन्दै घुमाउरो ढंगले चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालस्तरीय निर्णयबाट डा. विकास देवकोटाको संयोजकत्वमा गठित तीन सदस्यीय सुझाव समितिमा प्रतिनिधित्व नगराएका कारण मियान रुष्ट बनेको हो । समितिमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष जी नारायण क्षेत्री सदस्यका रुपमा रहेका छन ।
निर्वाध रुपमा आयात भइरहेको गुणस्तरीय विदेशी औषधिको आयात बन्द गरि सेनिटाइजर बेच्न पाउनु पर्ने मागको आडमा आत्मनिर्भरताको खोल ओढ्ने कार्य भएकोमा विरोध गर्नुपरेको मियानका महासचिव पवन आचार्यले बताए । पूर्ण खपतको ६० प्रतिशत औषधि आयात गर्ने आयातकर्तालाई समितिमा नराखेर सिण्डिकेट लाद्न खोजेको महासचिव आचार्यले बताए ।भोलिको दिनमा औषधि उत्पादकहरुले नेपालमा क्रिटिकल केयर र लाइफ सेभिंग डग्स निर्यात गर्न रुचि नदेखाएको अवस्थामा हुन सक्ने भयावह अवस्थाको पुर्वानुमान गर्न उनले अनुरोध गरे ।
छानविनको माग
मियानले सोमबार औषधि व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएको छ ।मियानका अध्यक्ष अञ्जन पुडासैनी र महासचिव पवन आचार्यले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन । ज्ञापनपत्रमा औषधिको गुणस्तरीयतामा छानविन गर्न समेत माग गरिएको छ ।
औषधिको स्तरीयताको प्रमुख मापदण्ड नै औषधि उद्योगले सम्बन्धित देशको नियामक निकायबाट प्राप्त गर्ने उत्पादन प्रकृयाको प्रमाणिकरण (कुशल उत्पादन अभ्यास) हो । मियानले बुझाएको ज्ञापन पत्रमा भनिएको छ,‘ हाल देशमा राष्ट्रियताको खोल ओढेर महँगोमा औषधि बेच्न पल्केका ६५ उद्योग मध्ये ३० वटाले मात्र औषधि उत्पादन संहिता २०७२ पुरा गरि उत्पादन पुरा गरिरहेको अवस्थामा बाँकीले उत्पादन गरेको औषधिको गुणस्तरीयताको सन्दर्भमा निष्पक्ष छानविन गरियोस ।’
विवादमा एपोनको संस्थागत प्रतिबद्धता
एपोनको संस्थागत बिवादमा परेको छ । गत बैशाख १६ गते नागरिक राष्ट्रिय दैनिकमा कच्चा पदार्थको अभावले ८० प्रतिशत उद्योग बन्द भइसकेको एपोनका पदाधिकारीले बताएका थिए ।
उक्त वाक्यांशलाई उदृत गर्दै मियानको ज्ञापन पत्रमा भनिएको छ,‘देश कसरी आत्मनिर्भर भयो त ? न्याय पाउँ ।’ मुलुकमा कोभिड १९को महामारीको शुरुवातका क्रममा आयोजित पत्रकार सम्मेलनमा ६ महिनासम्मको लागि आफूसँग पर्याप्त कच्चा पदार्थ मौज्दात रहेको एपोनका पदाधिकारीले व्यक्त गरेका थिए । मियानका महासचिव आचार्य भोलिको दिनमा औषधि उत्पादकहरुले नेपालमा क्रिटिकल केयर र लाइफ सेभिंग डग्सअरु निर्यात गर्न रुचि नदेखाएको अवस्थामा हुन सक्ने भयावह अवस्थाको पुर्वानुमान गर्न मियानका महासचिव आचार्य अनुरोध गर्छन । कोभिडको लागि आवश्यक पर्न सक्ने अत्यावश्यकीय औषधिमा (औषधि व्यवस्था विभागले तयार पारेको कोरोना भाइरसको लागि आवश्यक पर्ने अत्यावश्यकीय १ सय ४५ वटा औषधिको सूचिमा पाँच सात थरिका औषधिमा नेपालमा उत्पादन हुन्छन । यस खालका उद्योग कसरी आत्मनिर्भर भए ? महासचिव आचार्यले प्रश्न गरे ।
आयातलाई प्रोत्साहन ?
स्वदेशी औषधी उधोगले कुनैपनि नयाँ औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञा दिनु पूर्व औषधी सल्लाहकार समिति बाट स्वीकृत लिनुपर्ने पर्ने व्यवस्था छ । तर,तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समिति बाट अनुमोदन गराउने ब्यबस्था गरिएको छ ।
फलस्वरुप स्वदेशी उधोगले कुनै नयाँ औषधी उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नुपर्ने तर आयात गर्दा तत्काल अनुमति पाइने भएकाले स्वदेशी उधोगलाई भन्दा आयातलाई प्रोत्साहन गरिएको दाबी औषधि उत्पादक संघ (एपोन)को छ ।
स्वदेशी औषधी उधोगको प्रमाणिकरणको लागी निरिक्षण पश्चात पनि महिनौं सम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उद्योगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरिक्षण गरि प्रमाणिकरण गर्ने गरिएको हुँदा स्वदेशी उधोगहरु निरुत्साहित भएको उत्पादकहरुले बताएका छन ।
हालै मिति २०७६ फागुन १९ गतेको राजपत्रमा स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत दस्तुर लिने गरि असामान्य रुपमा १२ गुणा सम्म बृद्धि गरिएको हुँदा स्पष्ट रुपले आयातलाई प्रोत्साहन गरिएको एपोनका अध्यक्ष जी नारायण क्षेत्री बताउँछन ।‘बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर नेपालले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने ?’ उनले भने । औषधि उत्पादक संघ (एपोन)को आन्दोलनमा नेपाल आयुर्बेदिका औषधि उत्पादक संघ ,उद्योग बाणिज्य महासंघ ,नेपाल उधोग परिसंघ ,औषधि थोक ब्यबसायी संघ , निर्यात ब्यबसायी महासंघ ,कम्प्युटर एसोसिएसन नेपाल ,नेपाल जेम्स तथा ज्वलेरी संघ ,नेपाल कार्गो तथा कुरियर एसोसिएसनले ऐक्यबद्धता जनाएका छन ।
एपोन र मियानबीचको व्यवसायिक जुँगा लडाईंमा सरकारको भूमिका कस्तो हुने हो ? प्रतिक्षाको विषय छ ।

