काठमाडौं । ६५ वर्षिय बरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्राडा राकेशकुमार बर्मालाई के को कमी थियो र ? वीर अस्पतालबाट अवकाश पाएपछि पनि उनलाई फुर्सद थिएन । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा ‘जब’ पाए । मिर्गौला प्रत्यारोपणमा संलग्न रहे । हालसम्म ६ शय भन्दा बढीको मिर्गौला प्रत्यारोपणमा संलग्न रहे । मृत्यु शैयामा पुगेका व्यक्तिलाई नयाँ जीवन दान दिए ।
यसैबीच उनलाई चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा पनि काम गर्न अफर आयो । समयको व्यवस्थापन गर्दै उनी त्यहाँ पनि मिर्गौला प्रत्यारोपणमा संलग्न भए । मिर्गौला रोग विभागका विभागीय प्रमुखमा हैसियतमा उनले मिर्गौला प्रत्यारोपण गरे । २४ वर्ष अगाडि स्थापना भएको कलेजमा उनलाई ५० वर्षिय डा.बालकृष्ण कालाखेती लगायतका स्वास्थ्यकर्मीले सघाउँथे । उनलाई कलेजका प्रमुख संचालन अधिकृत (सीओओ) डा. सुप्रभात श्रेष्ठ सहयोग गर्थे । अहिले तीनै जना चिकित्सकहरु प्रहरी हिरासतमा पुगेका छन ।
प्रहरी पनि पक्राउ !
२०७७ असार २७ गते शनिवार । मानव वेचविखन
अनुसन्धान ब्युरो काठमाडौंका ५ जना प्रहरीको टोली चितवन ओर्लिए । ख्यातिप्राप्त चिकित्सकलाई पक्राउ गर्नुपर्ने अवस्थाबारे अवगत उनीहरु चनाखो थिए । मध्यान्ह पाँच बजेतिर नै उनीहरुले कलेजका प्रमुख संचालन अधिकृत (सीओओ) डा. सुप्रभात श्रेष्ठ, डा. बर्मा, डा. कालाखेती, अस्पतालका कानूनी सल्लाहकार रमेश काफले लगायतलाई पक्राउ गरेको खबरले चिकित्सकीय वृत्तमा तरंग मच्चायो ।
मानव अनुसन्धान व्युरोका प्रहरी उपरिक्षक (एसपी) एवं प्रवक्ता गोविन्द थपलियाका अनुसार, अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न रहेको उजुरीका आधारमा चिकित्सकहरुलाई पक्राउ गरिएको हो ।प्रहरीले आफ्नै सहकर्मीहरुलाई पनि पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक (असई) भिमप्रसाद खनाल पनि पक्राउ परेका छन । गुल्मी , रेसुंगा –५ घर भई हाल टोखा नगरपालिका वडा नं ३मा बस्दै आएका खनाल प्रहरी हिरासतमा पुगेका छन । त्यस्तै निलम्बित प्रहरी नायब निरिक्षक (सई) योगेन्द्रराज थपलिया पनि पक्राउ परेका छन । उनी झापा, कन्काई –२, घर भई हाल काठमाडौं –३, रानीवारिमा बस्दै आएका थिए ।
सरकारी कर्मचारी पनि तानिए
यस प्रकरणमा सरकारी कर्मचारी पनि तानिएका छन । प्रहरीले जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई पनि पक्राउ गरि हिरासतमा राखेको छ । भरतपुर निवासी ५४ वर्षिय ढकाललाई पनि चितवनबाटै पक्राउ गरिएको ह ो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय , ललितपुरका तत्कालीन खरिदार (हाल अवकाश प्राप्त) नवराज केसी पनि बुढेसकालमा प्रहरी हिरासतमा पुगेका छन । उनी ५८ वर्षका छन । जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी पनि थुनिन पुगेका छन । ४९ वर्षिय केसी हिरासतमा छन ।
जनप्रतिनिधिको पनि संलग्नता
नक्कलि कागजात खडा गर्नमा सघाउने जनप्रतिनिधि पनि मिर्गौला प्रत्यारोपण काण्डमा फसेका छन ।
ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष गोपाल महर्जनलाई पनि पक्राउ गरिएको छ । त्यस्तै भक्तपुर जगाति बस्ने रेश्मा राई र भक्तपुर –६ की जमुना राजभण्डारी पनि पक्राउ परेकी छिन ।
किन गरियो पक्राउ ?
मानव अनुसन्धान व्युरोका प्रहरी उपरिक्षक (एसपी) एवं प्रवक्ता गोविन्द थपलियाका अनुसार, नक्कलि व्यक्ति खडा गरि मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा १२ जनालाई पक्राउ गरिएको हो ।
नक्कली कागजात खडा गरि विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरेर मिर्गौला प्रत्यारोपण गरेको पाइएको छ । तेस्रो व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरेको बेनामे उजुरी मानव अनुसन्धान व्युरोमा परेको थियो । सोहि आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण )ऐन,२०६४को दफा ४ को उपदफा १ (ग) कसुर गरेको देखिएको प्रहरीले जनाएको छ । प्रचलित कानून बमोजिम बाहेक अन्य मानिसको मिर्गौला झिकेको अभियोग लगाइएको छ ।
कलेजको कथा
झण्डै २४ वर्ष अघि चितवनमा स्थापना भएको कलेज हो, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)। यसले वि.स. २०६९ सालमा पहिलो पटक काठमाडौं बाहिर मिर्गौला प्रत्यारोपण सम्बन्धि स्वीकृति पाएको थियो ।
हालसम्म चार जना मिर्गौला पीडित बिरामीको सफल मिर्गौला प्रत्यारोपण गरिसकेको कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले जनाएका छन । २०७२ बैशाख ११ र १२ गते दुई जनाको र २०७६ जेठ २७ गते र माघ ६ गते थप दुई जना गरि हालसम्म जम्मा चार जना मिर्गौला पीडित बिरामीलाई नयाँ जीवन दिन कलेज सफल भएको डा. प्रधानले विज्ञप्ति मार्फत जानकारी गराएका छन ।
कसरी फसे डाक्टर ?
ललितपुर झम्सिखेलका ५५ वर्षिय पुरुष मिर्गौला फेल भएको थियो । परिवारले मिर्गौला दान दिने व्यक्तिको खोजी गरिरहेको थियो । पीडित पुरुषकी दिदी जमुना राजभण्डारीले भक्तपुर , जगातिकी रेश्मा राई फेला पारिन । उनै राई बिचौलियाका रुपमा एजेन्टको काम गरिन ।
राईले नेपाल प्रहरीको सहयोग लिइन । त्यसै क्रममा प्रहरी सहायक निरीक्षक (असई) भिमप्रसाद खनाललाई भेटिन । गुल्मी घर भएपनि उनी टोखा नगरपालिका वडा नं ३मा बस्दै आएका थिए । असई खनालले नक्कलि डकुमेन्ट बनाउन सहयोग गर्नेमा राई ढुक्क थिइन ।त्यस्तै उनले निलम्बित प्रहरी नायब निरिक्षक (सई) योगेन्द्रराज थपलिया पनि भेटिन । थपलिया यस अघि पनि मिर्गौला तस्करीको अभियोगमा मुद्दा खेपेका व्यक्ति हुन । उनी झापा, कन्काई घर भएपनि हाल काठमाडौं –३, रानीवारिमा बस्दै आएका थिए ।
यो समूहले पैसाको लोभ देखाएर मिर्गौला दिने दाता खोजी कार्यमा जुट्यो । गरीबिको मार खेपिरहेका ओखलढुंगाका एक युवक फेला परे ।तर, मिर्गौला दान दिने व्यक्ति आफन्त हुनुपर्ने कानूनी व्यवस्था छ । तर, दातासँग कुनै नाता थिएन । अर्को समस्या आइलाग्यो । त्यसका लागि अर्को उपाय रचियो । तीन वर्ष अघि अस्टेलिया गएका ती मिर्गौला पीडितका भान्जा स्वदेश फर्केका थिएनन । ओखलढुंगाका ती व्यक्तिलाई उनै अस्टे«लियामा रहेको भान्जाको नाममा नाता कायम गर्ने योजना बुनियो । २०७५ मा मिर्गौला पीडित व्यक्ति ललितपुर महानगरपालिका –३ वडा कार्यालयमा पुगे । ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष गोपाल महर्जनलाई भेट गरे । वडाले नाता प्रमाणितको कागजात बनाइदियो । त्यसपछि मिर्गौला प्रत्यारोपणको लागि उनै एजेन्ट बनेकी राई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत डा. राकेशकुमार बर्मालाई भेट गर्न पुगिन । डा. बर्माले कलेज अफ मेडिकल साइन्सेसमा प्रत्यारोपण गर्न सुझाव दिए ।
कहाँ चुके डाक्टर ?
अंग खरिद बिक्री गर्ने वा यस्तै प्रकारका अन्य कामको प्रयोजनको लागि अंग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गर्नु हुँदैन ।
मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध )ऐन, २०५५ अनुसार, यो कानूनी व्यवस्था रहेको छ । यस ऐनमा अंग दान दिनको लागि बिरामीको नजिकको नातेदार हुनु पर्ने उल्लेख छ । अंग दाताले बिरामीलाई सहमति सहित स्वेच्छाले अंग दान गर्न लिखित मन्जुरी दिएको हुनु पर्छ । चिकित्सकले पनि अंग झिक्दा तथा अंग प्रत्यारोपण गर्दा दाता र अंग ग्रहण गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यसबाट उनीहरुको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असर तथा खतराप्रति दुवै पक्षलाई जानकारी गराउनु पर्छ । यसबेला चिकित्सकहरुले अलि बढी सचेतता अपनाउने र सोधखोज गर्ने हो भने फस्ने सम्भावना हुँदैन ।
मिर्गौला दाताको नागरिकता,नाता प्रमाणितको सिफारिस पत्र लगायतका कागजातको सक्कल पत्र र फोटो पनि गहिरिएर हेर्ने एवं सोधखोज गर्ने हो भने फस्ने संभावना हुँदैन । मिर्गौला प्रत्यारोपणमा संलग्न एक चिकित्सक भन्छन,‘ सबै कुरा विश्वासमा गरिएको हुन्छ । चिकित्सकले प्रत्यारोपण गर्ने की कागजात झुटा हो की होइन भनेर हेर्ने ? यस्तै अवस्था दोहोरिने हो भने प्रत्यारोपण गर्नुपूर्व सोंच्नु पर्ने भएको छ ।’
प्रचलित कानून बमोजिम बाहेक मानिसको अंग झिक्ने कार्य मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण )ऐन,२०६४ को विपरित मानिन्छ । यस ऐनको दफा ४ को उपदफा १ (ग) कसुर गरेको अभियोग चिकित्सक लगायत १२ जनामाथि लगाइएको छ । देखिएको प्रहरीले जनाएको छ । प्रचलित कानून बमोजिम बाहेक अन्य मानिसको मिर्गौला झिकेको अभियोग लगाइएको छ ।
२०७६ जेठ २३ गते अस्पतालले सम्पूर्ण डकुमेन्ट रुजु गर्न सम्बन्धित वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो ।दुवै निकायले सहि भएको ठहर गर्दै अस्पताललाई डकुमेन्ट पठाइदिए । अस्पतालका कानूनी सल्लाहकार रमेश काफ्ले (४० वर्षिय)ले पनि सकारात्मक राय दिए । अचम्म लाग्दो प्रत्यारोपण गर्ने बिरामीपक्ष भने जेठ २० गते उनीहरु भरतपुरमा पुगि कलेज अफ मेडिकल साइन्सेसमा भर्ना भए । डा. बर्माको नेतृत्वमा चिकित्सकीय टोलीले सफल प्रत्यारोपण गरयो । यसका लागि झण्डै ३० लाख खर्च भएको बिरामी पक्षले प्रहरी समक्ष बयान दिएका छन । जसमध्ये १४ लाख अस्पताललाई बुझाइएको थियो । बाँकी रकम भने गिरोहले लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानको लागि जिल्ला अदालत ललितपुरबाट म्याद लिएको छ ।

