काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका- ७ गुराँसेका १८ वर्षिय युवकले आत्महत्या गरे। प्रेम विवाह गरेर काठमाडौँ पुगेका ती युवक लकडाउनको समय घर फर्किएका थिए । उनी वैशाख ११ गतेबाट क्वारेन्टाइनमा बसेका थिए । सोहि बेला आत्महत्या गर्न पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
युवकले श्रीमती सुतिरहेको समय श्रीमतीको सलको पासो लगाएर झ्यालमा झुण्डिएर आत्माहत्या गरेका हुन ।
गत चैत ११ गते सरकारले मुलुकभर लक डाउन घोषणा गरेपछि क्वारेन्टाइनमा आत्महत्या गर्ने उनी पहिलो व्यक्ति हुन । आत्महत्या गर्ने क्रम त्यसपछि पनि रोकिएन । गुल्मीको छत्रकोट गाउँपालिका- ४ का ५६ वर्षिय पुरुषले जेठ १७ गते साँझ क्वारेन्टाइनमा आत्महत्या गरे । भारतबाट स्वदेश फर्के लगत्तै उनी स्थानीय गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसिरहेको अवस्थामा साँझपख शौचालय गएका उनी आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
उनले आत्महत्या गरेको दुई साता नबित्दै जेठ ३० गते बाजुरा बडीमालिका नगरपालिका-२ माझिगाउँका ४५ वर्षिय पुरुषले क्वारेन्टिनमै डोरीको पासोले झुण्डिएर आत्महत्या गरे । उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए। २४ वर्षदेखि भारत बस्दै आएका थिए । उनीसँगै श्रीमती र ४ छोराछोरी नेपाल फर्किएका थिए । उनलाई असार ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिनमा बसेर घर फर्किएकी सुर्खेत सिम्ता गाउँपालिका- ८ की २५ वर्षिया युवतीले असार १ गते आत्महत्या गरिन ।
उनी भारतबाट श्रीमानसहित जेठ १२ गते फर्किएका थिए । त्यसलगतै १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि आरडीटी नगेटिभ आएपछि घर गएकी थिइन् । आत्महत्या गरेको केही दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको थियो। अर्घाखाँचीको शितगंगा नगरपालिका- ५ का ४५ वर्षिय पुरुषले
असार ३ गते क्वारेन्टाइनमा नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेका थिए। क्वारेन्टिन बसेका उनको आरडिटी पोजिटिभ देखिएपछि क्वारेन्टिनमै आत्महत्या गरेका थिए। उनी जेठ १० गते भारतबाट घर फर्किएका थिए। असार ७ गते बझाङको पाथिभेरा गाउँपालिका- ७ का ३० वर्षिय युवकले क्वारेन्टिनमा झुण्डिएर आत्महत्या गरे । भारतबाट आएका युवक असार ५ गतेदेखि क्वारेन्टिनमा बसिरहेका थिए।
यसैगरि असार ९ गते तनहुँको घिरिङ गाउँपालिकाका ४९ वर्षिय पुरुषले क्वारेन्टिनमा सिलिङमा सुरुवालको पासो लगाएर आत्महत्या गरे । रोजगारीका लागि भारत गएका उनी असार ४ गते घर नेपाल फर्किएका थिए । असार १७ गते क्वारेन्टिनमा बसेका रोल्पाको गंगादेव गाउँपालिका ५ का ३१ वर्षिय पुरुषले आत्महत्या गरे। दुबईबाट आएर क्वारेन्टिनमा बसेका उनले झुण्डिएर आत्महत्या गरेका थिए।

