काठमाडौं । कोरोना भाइरस (कोभिड १९ ) संक्रमणको आशंकामा आइसोलेसन र क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी एवं उपचारमा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट, पीपीई) को अभाव भएपछि स्वदेशमै निर्माण शुरु गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र, पाटन अस्पताल लगायतले पीपीईको निर्माण शुरु गरेका छन । महावीर पुनले नेतृत्व गरेको केन्द्रले बुधबार पहिलो चरणमा पीपीईको नमूना तयार पारेको थियो । काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले नमूनाको परीक्षणको अवलोकन गरेका थिए । स्वीकृति पाएपछि पुनले काठमाडौंका दुई स्थानबाट पीपीई बनाउन शुरु गरेको जनाएका छन ।
काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाको लागि लगाईने पीपीई स्वदेशमै निर्माण हुनु सुखद कार्य भएको बताए । डा. अधिकारीले भने,‘ स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनु पर्ने बेला हो । पीपीई स्वदेशमै बन्नु सामान्य नै विषय हो । पीपीइको कमी भएको बेला स्वदेशमै बन्नु स्वागतयोग्य कुरा छ । त्यसलाई धेरै हेरिरहन पर्दैन । अहिले त पीपीईको संख्या नै कमी छ । ’
त्यस्तै पाटन अस्पतालमा पनि पीपीई लगायतका सामग्री उत्पादन भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसार, सम्भावित विरामीको प्रारम्भीक उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ । राजधानीका वीर, शिक्षण, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल लगायतमा पीपीईको अभाव छ । बुधबार विहान स्वास्थ्य मन्त्रालयको टोली पाटन अस्पतालमा पीपीई उत्पादन भइरहेको बताए । अस्पतालमा चार जना व्यक्ति पीपीई बनाउन अहोरात्र खटिरहेको मन्त्री ढकालले बताए । धुम्बाराहीमा समेत पीपीई निर्माण कार्य भइरहेकोले केही आवश्यकता पूर्ति गर्न सहयोग पुगेको मन्त्री ढकालको भनाई थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार आयोजित प्रेस विफ्रिङ कार्यक्रममा बोल्दै औजारजन्य सामग्रीको अभाव हुन नदिने अभियानमा जुटेको बताए ।उनले भने,‘ पीपीई लगायतका सामग्रीहरु हामीले आफै पनि निर्माण गर्न लागेका छौं । निर्माण पनि भइरहेका छन ।’
यसका अतिरिक्त कीटजन्य सामगी, थर्मल गन र अन्य आवश्यक सामग्रीको लागि सहयोगको आव्हान गरिने मन्त्री ढकालले बताए । चीन मार्फत कतिपय सामग्री तीन दिनभित्र स्वदेश ल्याइने मन्त्री ढकालको दावी थियो । यी सामग्रीलाई पदेश, जिल्ला , प्रभावित क्षेत्रमा लैजान स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सम्बन्धित ठाउँमा लगिने छ ।
यसैबीच स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले पनि विहिबारको पत्रकार सम्मेलनमा बोल्दै पीपीई गाइडलाइन बनाइदिएको बताए । उनले भने,‘ स्वास्थ्यकर्मी तथा चिकित्सकले साधारण रुघाखोकी लागेको , ज्वरो आएको छ भने मुखमा मास्क, आँखामा चश्मा र टोपी लगाएपछि संरक्षण गर्छ । दोसो चरणमा पूर्ण पीपीईको व्यवस्था छ । ’ सरकारले फिभर क्लिनिक संचालनको लागि मुलुकभर हब अस्पताल बनाइएको र हरेकलाई दश लाख बजेट विनियोजन गरिएको बताए ।

