काठमाडौं ।सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम न्युनिकरण गर्न लक डाउन (बन्दाबन्दी) घोषणा गरेपछि अस्पताल उपचार गर्न जाने विरामीको संख्या हवात्तै घटेको छ । सेवा चालु रहेपनि विरामी उपचार गर्न नआउँदा अस्पतालको आम्दानीमा ९० प्रतिशतले कमी आएको छ ।
सरकारले कोरोना भाइरस (को भिड–१९) संक्रमणको जोखिम बढे पछि ४५ दिनदेखिको लकडाउनले यातायात बन्द हुँदा विरामीको चाप हवात्तै घटेको हो । स्वास्थ्य क्षेत्रमा नीजि अस्पतालहरुले ७० प्रतिशत हिस्सा ओगटेको निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले जनाएको छ । नीजि स्वास्थ्य संस्थाहरुमा झण्डै एक खर्ब लगानी रहेको छ । गत चैत ११ गतेदेखि घोषणा गरिएको लक डाउन अहिले सम्म निरन्तर रहेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले संक्रामक रोग ऐन, २०२० को उपदफा २ ले दिएको अधिकार प्रयोग गर्दै अत्यावश्यक बाहेक सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको थियो । सरकारको यस निर्णयसँगै सेवाग्राही नआउदा विगतको आम्दानीमा ९० प्रतिशतले गिरावट आएको अफिनले जनाएको छ । खर्चमा २० प्रतिशतले वृद्धि भएको छ ।
राहत प्याकेजको माग
अस्पतालको नाफामा कमी आएको र खर्च बढेको जनाउँदै अस्पताल संचालकहरुले अस्पताललाई विक्रि गरिने पीपीई लगायतका स्वास्थ्य सामग्री तथा सेवाको आयातमा लाग्ने कर तथा मुल्य अभिवृद्धि कर (भ्याट)छुटको माग गरेका छन । त्यस्तै नीजि अस्पताललाई प्रोत्साहन र विस्तार गर्न आगामी बजेटमा दुई वर्षसम्मका लागि स्वास्थ्य उपकरण खरिदमा कर छुट व्यवस्था गर्न पनि व्यवसायीको माग छ ।
अफिनका अध्यक्ष चौधरीले अर्थ एवं स्वास्थ्य मन्त्रालय, विद्युत प्राधिकरण, नेपाल राष्ट्र बैंक र स्थानीय निकायको ध्यानाकर्षण गराउँदै राहत उपलब्ध गराउन माग गरेका हुन । अस्पतालमा बिरामीको संख्या घटे पनि २४सै घन्टा सेवा सुचारु गरिरहनुपर्ने बाध्यतामा अस्पतालहरू रहेको अनुरोध पत्रमा उल्लेख छ । सरकारले सेवा क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिनुका साथैसहुलियत दरमा ऋण दिन सरकारसँग माग गरिएको छ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि घोषणा गरिएको लक डाउनका कारण अस्पतालको अवस्था नाजुक भएको संचालकहरु बताउँछन । हयाम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले अस्पतालको आम्दानी घटेको र खर्च बढेकोले सरकारले राहत उपलब्ध गराए सेवा संचालनमा सहज हुने बताए ।
अफिनका उपाध्यक्ष तथा अल्का अस्पतालका सञ्चालक कुमार थापाले अस्पतालको संचालन खर्च वृद्धि भएकोले सरकारसँग राहत प्याकेज माग्ने गृहकार्य भइरहेको जानकार हाल मुलुकभर ३ सय ४७ वटा नीजि स्वास्थ्य संस्था संचालनमा छन । झण्डै ६० हजारले रोजगारी पाएका छन । स्वास्थ्य संस्थामा १६ शय शैया रहेको अफिनले जनाएको छ ।

