काठमाडौं । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको जेठ ४ गते हत्या भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार निवासी ३३ वर्षीय दुलालको श्रीमतिको योजनामा हत्या भएको खुलेको छ ।
हत्या अभियोगमा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी २१ वर्षीय ब्रह्मदेव साहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले औषधि व्यवसायीको हत्या नै भएको पुष्टि गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको बताए । सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ ।सिरहाको लाहान नगरपालिका–११ घर भएका साह चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे। मीनासँग उनको हिमचिम बढेको चाल पाएर श्रीमान दुलालले पाँच महिनाअघि कामबाट निकालिदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई कामबाट निकालेको विषयमा मीनाले श्रीमानसँग विवाद समेत गरेकी थिइन् । ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।
दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए। अनुसन्धानबाट घटना हत्या नै हो भन्ने पुष्टि भएको जानकारी उनले दिए । व्यवसायी दुलालको शव नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा थियो । ओछ्यानमा रगत लतपतिएको थियो । प्रेमीसँग मिलेर श्रीमतीले राति ११ बजे दुलालको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेको प्रहरी स्रोतको भनाइ छ ।‘कामबाट निकालिदिएपछि पनि मीना र ब्रह्मदेवबीच फोन र सामाजिक सञ्जालमा निरन्तर सम्पर्क भइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यो कुरा पनि श्रीमानले थाहा पाएर त्यसो नगर्न श्रीमतीलाई सम्झाई–बुझाई गरिरहेको समयमा हत्या गर्ने योजना बनेको पाइयो।’प्रहरीका अनुसार प्रेममा बाधक बनेको भन्दै मीनाले शुक्रबार प्रेमीसँग सल्लाह गरेर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुका ८ वर्षका छोरा छन् ।
प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीमा फेला पारेको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो ।

