काठमाडौं । बाँके जिल्लाको विकट मानिने नरैनापुर गाउँपालिका—६का युवाको कोरोना भाइरसको संक्रमणबाट जेठ ४ गते आइतबार मृत्यु भएको छ । २५ वर्षिय उनीसँगै नेपालमा दुईजनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नरैनापुर—५,नयाँवस्ती घरभई सोही वडाको दीपेन्द्र प्रविको क्वारेन्टाइनमा बसेका थिए । भारतको मुम्बईबाट उनी ३० बैशाखमा फर्केर क्वारेन्टाइनमा बसेका थिए । एक साता लामो यात्रा गरेर आएका उनको खुटटा सुन्निएको थियो । ३१ बैशाखमा उनीसँगै नरैनापुरका तीन सय ३३ जनालाई एकैदिन विभिन्न क्वारेन्टाइनमा राखिएको थियो । तिनै मध्येका ४५ जनाको जेठ २गते कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टी भएको थियो । पुष्टी भएका मध्ये ६ जना दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका थिए ।
ज्यान गुमाउनु अघि बाँकेका संक्रमितलाई वान्ता भएको थियो । झाडापखाला भएको थियो । ज्वरो समेत आएको थियो । पहिलो संक्रमित सिन्धुपाल्चोक,बाह्रबिसे—९,राम्चेकी २९ वर्षिया महिलाको कोरोना भाइरसका कारण जेठ १ गते राती निधन भएको थियो । महिलामा भने सुख्खा खोकी र ज्वरो आउने लक्षणहरु देखिएका थिए । महिलाको धुलिखेल अस्पतालमा गरिएको एक्सरे रिपोर्ट फोक्सोमा निमोनिया देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए ।
सयौंको स्वाब लिंदै
कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको उपचार गराउने क्रममा बसेको टोखा नगरपालिका गोंगबुस्थित डेरामा जेठ ३ गते सिल गरिएको छ । सम्पर्कमा आएका नातेदार,स्वास्थ्यकर्मी लगायत सयौं व्यक्तिको स्वाब संकलन कार्यलाई तीब्रता दिइएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यकर्मी र सम्पर्कमा भएका अन्य व्यक्तिको स्वाब संकलन गरि क्वारेन्टाइनमा राखिएको बताए । उनी अस्थायी रुपमा बसेको टोखा नगरपालिका क्षेत्रमा रहेका आफन्तको स्वाव संकलन गर्नुका साथै घर माइती गाउँमा पनि सिल गरिएको छ । टोखा नगरपालिका —९ मा डेरा लिएर बसेको पाइएपछि कन्ट्याक्ट टे«सिङको कार्य तीब्र ढंगले अघि बढाइएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, ती महिला गत बैशाख २३ गते महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी थिइन । बैशाख २४ गते नर्मल डेलिवरि भएको थियो । २५ गते डिस्चार्ज भएकी थिइन । त्यसपछि उनी सिन्धुपाल्चोकस्थित घर गएकी थिइन ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको कार्य अघि बढाईएको डा. देवकोटाले बताए । त्रिवि शिक्षण अस्पतालको कम्युनिटि मेडिसिन युनिट र सिन्धुपाल्चोक एवं धुलिखेल अस्पतालको लागि धुलिखेल अस्पतालको कम्युनिटि मेडिसिन युनिट अग्रसरतामा ट्रेसिङ लगायत कार्य गरिने छ । ‘आइतबारदेखि नमुना संकलन कार्य समेत शुरु भइसकेको छ ।’ उनले भने । आइतबार गोंगबु, माछापोखरी लगायतका क्षेत्रका झण्डै चार शय व्यक्तिको परीक्षण गर्ने जनाइएको छ । एक सय ५० जनाको पीसीआर र दुई सय ५० जनाको आरडीटीबाट परीक्षण गर्ने योजना रहेको डा. देवकोटाले बताए ।
विभागका महानिर्देशक श्रेष्ठका अनुसार, मृतकको धेरै ठाउँमा सम्पर्क रहेकोले अन्यलाई पनि कोरोना संक्रमणको आंशका गरिएको छ । विभागबाट विज्ञ सहितको चिकित्सककीय टोली सिन्धुपाल्चोक पठाइएको छ । ‘धेरै ठाउँमा गएको पाइएकोले सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण गर्नुपर्ने देखिएको छ । सयौं व्यक्तिको स्वाव संकलन गर्नुपर्ने हुन्छ । ’ महानिर्देशक श्रेष्ठले भने ।
मृतक महिलाको घर, माइतिका साथै धुलिखेल अस्पताल र सुत्केरी भएको शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी स्वाब संकलन कार्य भइरहेको उनले बताए । आइतबार ४७ जना भन्दा बढीको स्वाब संकलन गरिएको छ । सुत्केरी अवस्थामा डेरालाई सिलगरि सम्पर्कमा आएका सबैको पहिचान गर्ने क्रम जारी रहेको छ ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीका अनुसार, पाण्डे थरका व्यक्तिको घरमा डेरा लिएर बसेकोले घरधनिको पनि थ्रोट स्वाब संकलन गरिएको छ । त्यस्तै तरकारी खरिद गर्न गएको तरकारी पसलेको पनि स्वाब संकलन गरिसकिएको छ । लक डाउनको बेला राहत लिन उनी टोखा नगरपालिका —९ नं वडाका जनप्रतिनिधिसँग भेटघाट भएको पनि समेत मेयर अधिकारीले बताए ।
वडा महिला सदस्य जगतमाया महर्जनले स्वयंसेवक सहित मृतक बस्ने डेरामा पुगेर राहत फर्म भराएको पाईएको छ । भौतिक दुरी कायम गर्दै फर्म भराइएको थियो । शिक्षण अस्पतालमा सुत्केरी भएपछि भिनाजु नाता पर्ने बोधराज पराजुली लगायतका व्यक्तिले सहयोग गरेको पाइएको छ । ‘ सुत्केरी भएपछि खाना पुराउने लगायतका कार्यमा सहयोग गर्ने भिनाजु लगायतका व्यक्ति र जनप्रतिनिधिको स्वाब संकलन भइसकेको छ । ’मेयर अधिकारीले भने । संकलित स्वाबलाई पीसीआर विधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको छ ।
निजी र सामुदायिकले पनि परीक्षण गर्न पाउने
सरकारले निजी र सामुदायिक अस्पताललाई कोरोना भाइरस परीक्षणको अनुमति दिने भएको छ। आइतबार निर्देशिका जारी गर्दै मन्त्रालयले परीक्षण गर्न चाहने अस्पताललाई अनुमति दिने तयारी गरेको हो । आइतबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.देवकोटाले भने, ‘ निजी तथा सामुदायिक अस्पतालमा आरडीटी विधिबाट परीक्षणका लागि निर्देशिका जारी गरिएको छ ।सामुदायिक र निजी अस्पतालले कोराना सम्बन्धी आरडीटी विधिबाट गरिने परीक्षणको अनुमति लिन सक्नु हुनेछ।’ परीक्षणको अनुमति पाउने अस्पताल दर्ता भएको हुनुपर्नेछ । आरडीटी विधिबाट परीक्षणकालागि उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभाग र उपत्यका बाहिरका अस्पतालले सम्बन्धित प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति पाउनेछन् । परीक्षण सुरु गरेका अस्पतालले परीक्षणको विवरण अनिवार्य रुपमा राख्नु पर्नेछ । आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आए पीसीआरका लागि रिफर गर्नुपर्ने मन्त्रालयले जनाएको छ। आरडीटीबाट आएको रिपोर्ट अभिलेखिकरण राखेर दैनिक प्रतिवेदन राष्ट्रिय प्रयोगशालामा अनिवार्य रुपमा पठाउनु पर्ने व्यवस्था मन्त्रालयले जारी गरेको निर्देशिकामा छ । प्रवक्ता देवकोटाले भने,‘आरडीटी विधिबाट परीक्षण गरिएको शुल्क निजी र सामुदायिक अस्पतालले लिन सक्नेछन । यस्तो शुल्क उहाँहरुले खरिद गरेको मूल्यको भन्दा बढीमा २० प्रतिशतमात्र लिन सक्ने व्यवस्था गरेको छ । ’
हालसम्म २ सय ९५ जना संक्रमित रहेका छन । जसमध्ये पुरुष २ सय ३७ जना रहेका छन । महिला ५८ जना रहेका छन । हालसम्म निको भएर घर फर्केकाको संख्या ३६ रहेको छ । हालसम्म २८ जिल्लामा संक्रमण भेटिएको छ ।

