काठमाडौं । सरकारले कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न घोषित लकडाउनको अवधिमा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।
गत वर्ष दुई सय ५० वटा आत्महत्याका घटना भएका थिए । जसमा यही समयमा ४४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । चैत ११ गतेदेखि ३०वैशाखसम्म १५ जना र वैशाखमा २५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लोकनाथ तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार चैतभन्दा अघि फागुनमा सातजना विष र १५ जनाले झुन्डिएर आत्महत्या गरेका थिए । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १७, जुम्लामा एक, डोल्पामा एक, दैलेखमा सात, रुकुम पश्चिममा चार र सल्यानमा १० जनाले आत्महत्या गरेका छन् । यी मध्ये आठजनाले विष सेवन गरेका थिए भने ३२ जनाले झुन्डिएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णालीमा अरु घटनाका उजुरीमा भने कमी आएको छ । हाल कर्णालीका १० जिल्लामा ७७ आत्महत्याबाहेक ७७ वटा घटना दर्ताका छन् । सबैभन्दा बढी सार्वजनिक हितसम्बन्धी कसुरमा १४ वटा घटना दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घरेलु हिंसा १३, भवितव्य, १२, कर्तव्य ज्यान तीन, ज्यानमार्ने उद्योग पाँच र फुटकरका ६ वटा घटना दर्ता भएका छन् ।
त्यस्तै आत्महत्या प्रोत्साहन दुई, चोरी दुई, जुवा एक, लागू औषध चार, हातहतियार तथा खरखजना एक, सार्वजनिक शान्तिविरुद्धको कसुर एक, सरुवा रोगसम्बन्धी कानुन उल्लंघन एक, धर्मसम्बन्धी कसुरमा एक, बहुविवाहका तीनवटा उजुरी प्रहरीमा दर्ता भएका छन् । साथै बालविवाह एक, जबरजस्ती करणी उद्योग दुई, बाल दुराचार एक, सवारी ज्यान तीन र ठगीमा एक जनाको उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

