धनगढी, मालाफेदीका ३० वर्षीय यज्ञराज भट्ट मिर्गौला प्रत्यारोपण गर्न साढे आठ महिना अघि त्यहाँ भर्ना भएका हुन् । भर्ना भएको तीन महिनापछि मात्र उनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो भने त्यसपछि ६ महिनासम्म प्रत्येक हप्ता गर्नुपर्ने स्वास्थ्य परीक्षणका लागि त्यहाँ बस्न उनी बाध्य भएका छन् ।
भारतको भेलोरमा अवस्थित ‘क्रिश्चियन मेडिकल कलेज एण्ड हस्पिटल’ (सी.एम.सी.) मा यज्ञराजका अतिरिक्त एकातिर आफ्नो ३० वर्षीय छोरा जयनारायणलाई आफ्नो मिर्गौला दिन ६ महिना अघि आएकी पाँचथर, फिदिमकी ५६ वर्षीया मनमाया विश्वकर्मा भेटिन्छिन् भने अर्कातिर ललितपुर, पाटनका रमेश शाक्य र लगनखेलका तेञ्जिङ तामाङलगायत दश–बाह्र जना जति नेपालीहरू मिर्गौला उपचारकै सिलसिलामा महिनौँदेखि अल्झ्रिहेका पाइन्छन् ।
सन् १९७१ सम्म भारतमा मिर्गौला प्रत्यारोपण शुरु भएको थिएन । सोही वर्ष सी.एम.सी. हस्पिटलले पहिलो पटक त्यो काम ग¥यो । त्यसपछि त्यहाँ मिर्गौलाको उपचार र प्रत्यारोपण गर्न जानेहरुको घुइँचो लाग्न शुरु भयो, जसमा नेपालीहरू पनि सामेल भए । आठ, दश वर्षयतादेखि मद्रास, लखनऊ र ब्याङ्गलोरमा पनि मिर्गौला प्रत्यारोपण हुनथालेको छ, तर त्यसले भेलोर जाने नेपालीहरुको संख्यालाई खासै घटाउन सकेको छैन । सी.एम.सी. हस्पिटलका एशोसिएट डाइरेक्टर एवं मिर्गौला रोग विशेषज्ञ डा. चाक्को कोरुला ज्याकोब भन्छन्, “यहाँ महिनामा चार–पाँच जना नेपाली बिरामीहरू मिर्गौला प्रत्यारोपण गर्न आउँछन् ।”
मिर्गौला प्रत्यारोपणका लागि आएका ललितपुरका प्रकाश शाक्य, तेन्जिङ तामाङ र धनगढीका यज्ञराज भट्ट
तर नेपाली बिरामीहरूलाई भेलोर जान भने त्यति सजिलो छैन । गोरखपुर, लखनऊ वा सिलिगुडीतिरबाट रेलमा जाँदा पूरा तीन दिन र ८०० रुपैयाँ भाडा लाग्छ । काठमाडौँबाट हवाइजहाज चढेर दिल्ली हुँदै मद्रास पुग्न अवश्य छिटो हुन्छ तर त्यसका लागि प्रतिव्यक्ति एकतर्फी भाडा मात्र १६ हजार रुपैयाँ पर्छ । मद्रासबाट पनि चार घण्टाको बस–यात्रापछि वरिपरि नाङ्गो डाँडाको बीचमा रहेको भेलोर शहरमा पुगिन्छ ।
भेलोर पुगेर अस्पतालमा विरामी भर्ना भएपछि पनि तुरुन्तै मिर्गौला प्रत्यारोपण हुँदैन । साधारणतया दुई–तीन महिना कुर्नुपर्ने हुन्छ । त्यसबीच हप्ताको दुई या तीन दिनका दरले नियमित ‘डाएलिसिस’ (विशेष यन्त्रबाट रगतलाई अक्सिजनद्वारा सफा पार्ने प्रक्रिया) गर्नुका साथै बिरामीको सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गरिन्छ । बिरामीलाई मिर्गौला दिने व्यक्ति (डोनर) पनि विरामीसरह भर्ना हुनुपर्छ र उसको पनि स्वास्थ्य जाँच गरिन्छ । यसरी महिनौँ बितेपछि बल्ल अपरेशन गरेर डोनरको मिर्गौला झ्कििन्छ र त्यसलाई विरामीमा प्रत्यारोपण गरिन्छ ।
यस क्रममा बिरामीको कुरै छाडौँ, डोनरको स्वास्थ्य परीक्षणमा मात्रै करीब असी हजार रुपैयाँ खर्च हुन्छ । बिरामी, डोनर र बिरामीसँग गएका परिवारका सदस्यहरुको यात्रा खाना र बस्ने खर्च पनि लाखले मान्दैन । अपरेशन, औषधि र अस्पतालको बिल त झ्न् सबैभन्दा मुख्य खर्च भैगयो । यो सबै हिसाब गर्दा भेलोर गई मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा आठदेखि दश लाख रुपैयाँ खर्च हुन्छ । मनमाया भन्छिन्, “अब घर फर्केपछि, उपचार गर्न लिएको ऋण तिर्न घरजग्गा बेच्नुपर्ला ।”
अस्पतालमा नेपालीहरू मिर्गौला प्रत्यारोपणका लागि मात्र नभएर अन्य रोगको उपचारका लागि पनि आउँछन् । अस्पतालका मेडिकल रेकर्ड सेक्सन प्रमुख डा. विजय अरुल दासका अनुसार मुटु र क्यान्सरको उपचारका लागि पनि नेपालीहरु यहाँ पुगेका हुन्छन् । तर जुनसुकै कारणले पुगे पनि, त्यहाँ पुगेका नेपालीहरुले सहनुपर्ने कठिनाई चाहिँ प्रायः समान हुन्छ । सोही मेडिकल कलेजमा एम.बि.बि.एस. तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी दीपक महर्जन भन्छन्, “यहाँ आउने बिरामीले भोग्नुपर्ने एउटा समस्या भनेको भाषा हो । यहाँ हिन्दी भाषा बुझदैनन्, अङ्ग्रेजीमा बोल्नुपर्छ, तर सबै नेपाली अङ्ग्रेजी बोल्न सक्दैनन् । फेरि, बिरामीलाई रगत चाहियो भने अस्पतालले उपलब्ध गराउँदैन, यसका लागि रगत दिने आफ्नो मान्छे हुनुपर्छ ।” भूटान र बाङ्लादेशमा सरकारले मिर्गौलाका विरामीहरूको उपचारका लागि कोष खडा गरेको छ । भारतमा पनि यसका लागि राष्ट्रपति र प्रधानमन्त्री कोषहरू खडा गरिएका छन् । तर नेपालमा सरकारको तर्फबाट त्यस्तो केही सुविधा उपलब्ध छैन । खर्च गर्न सक्नेहरू भेलोर, मद्रास पुग्छन्, नसक्नेहरू बिना उपचार घरमै बसेर काल पर्खन्छन् ।
उता नेपालमा
भोजपुरका जगत श्रेष्ठ मिर्गौला प्रत्यारोपण गरेर फर्कंदै । र छोराको मिर्गौला फेर्न पाँचथरबाट आएकी मनमाया विश्वकर्मा ।
नेपालमा मिर्गौला रोगका बिरामी कति छन् भन्ने तथ्याङ्क नभएको तर रोगीहरूको सङ्ख्या कम चाहिँ नभएको कुरा चिकित्सक एवं विशेषज्ञहरू बताउँछन् । काठमाडौँ, नक्साल स्थित नेशनल किड्नी सेन्टरका मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ, “नेपालमा प्रत्येक वर्ष मिर्गौलाका करीब दुई हजार नयाँ बिरामी थपिन्छन् । हाम्रै सेन्टरमा पनि प्रत्येक महिना करीब दश जना जति नयाँ बिरामी आउँछन् ।” उता, वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. राजेन्द्र अग्रवालको भनाइ छ, “मिर्गौलाका सबै बिरामीहरू काठमाडौँमा जँचाउन आउँदैनन् । अधिकांश त यस रोगको शङ्का लाग्नासाथ सीधै भेलोर जान्छन् ।” प्रतिवर्ष मिर्गौलाका करीब तीन सय बिरामी वीर अस्पताल आइपुग्छन् ।
गत पाँच वर्षभित्र सी.एम.सी. अस्पतालमा भर्ना भएका नेपाली विरामीहरूः
सन् सङ्ख्या
१९९४ – ३१५
१९९५ – २४१
१९९६ – २६४
१९९७ – २८१
१९९८ – २२३
सन् १९९८ मा सी.एम.सी. अस्पतालमा पुगेका सार्क राष्ट्रका विरामीहरूः
देश सङ्ख्या
भारत – ५०६००
बाङ्लादेश – ६४९
नेपाल – २२३
भूटान – १८९
श्रीलङ्का – २०
मालदिभ्स – १५
मिर्गौलाले काम गर्न छोडेपछि बिरामी रोगको अन्तिम अवस्थामा आइपुग्छ, जसको अस्थायी उपचार हप्तामा दुई वा तीनपल्ट गर्नुपर्ने डाएलिसिस हो । वीर अस्पतालमा आजभन्दा दश वर्ष पहिले डाएलिसिसको सेवा उपलब्ध गराउन थालिएको हो भने केही वर्ष यतादेखि शिक्षण अस्पताल (महाराजगञ्ज), वीरेन्द्र सैनिक अस्पताल (छाउनी), राष्ट्रिय मिर्गौला केन्द्र (नक्साल) र दान्स केयर नर्सिङ होम (कोपुण्डोल) मा पनि यो सुविधा अब उपलब्ध छ । डाएलिसिसको खर्च प्रतिमहिना वीर अस्पतालमा बाह्र हजारदेखि सोह्र हजार रुपैयाँसम्म पर्न आउँछ भने नर्सिङ होमहरूमा पच्चीस हजारदेखि तीस हजार रुपैयाँसम्म पर्दछ । डा. काफ्ले भन्नुहुन्छ, “नेशनल किड्नी सेन्टरमा आउने विरामी सबैले डाएलिसिस गर्दैनन् । यसको खर्च धान्न नसक्ने बुझ्ेपछि उनीहरु सीधै घर फर्कन्छन् ।”
पैसा नभएपछि कष्ट
क्लोज हर्ट सर्जरी गरेर रेलबाट फर्कदै चितवनकी विद्या घिमिरे आफ्नो श्रीमानसँग ।
भोजपुर दिङ्ला बजारका २८ वर्षीय जगत श्रेष्ठ ब्याङ्गलोरको ‘मणिपाल कलेज एण्ड हस्पिटल’मा किड्नीको उपचार गराएर असार १४ गते रेलबाट घर फर्किँदै थिए । उनकी श्रीमती साथै थिइन्, जसको मिर्गौला उनलाई प्रत्यारोपण गरिएको थियो । अपरेशन गरेको घाउ निको भइ नसकेको कारण उनीहरु दुबै पीडाले छटपटाइरहेका थिए । जगत श्रेष्ठले बताए, “पैसा भइदिएको भए यस्तो अवस्थामा तीन–तीन दिन लगाएर ट्रेनबाट आइँदैनथ्यो । घाउ निको नहुञ्जेल उतै बस्न पनि सकिएन ।”
तर मिर्गौला प्रत्यारोपण सधैँ सफल हुन्छ भन्न चाहिँ सकिँदैन नै । धनगढीका यज्ञराज भट्टले भेलोरमा पहिलो पटक २०५० सालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसको चारवर्षपछि उनी फेरि विरामी भए र लखनऊको सञ्जय गान्धी अस्पतालमा भर्ना भए । त्यहाँ डाक्टरले पहिलो मिर्गौला प्रत्यारोपण असफल भएको बताएर फेरि अर्को पटक प्रत्यारोपण गर्ने सल्लाह दिए । त्यसपछि उनले फेरि भेलोर गएर दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुप¥यो । पहिलो पटक उनलाई बाबुले मिर्गौला दिएका थिए भने दोस्रो पटक सहोदर दाजुले ।
मिर्गौला प्रत्यारोपण गरेका विरामीहरूलाई ‘इम्युनो सप्रोसिभ’ (शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई दबाउने) औषधिहरू खुवाउनुपर्छ, जुन एकदमै महँगा छन् । डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ, “अरूले दिएको मिर्गौलालाई विरामीको शरीरले रिजेक्ट नगरोस् भनेर यस किसिमका औषधि दिइन्छ ।” तर यस्ता औषधिहरूको सेवनले विरामीहरूको रोग प्रतिरोधात्मक शक्ति कम हुँदैजान्छ । अनि उनीहरुलाई सामान्य रुघा, खोकी र ज्वरोबाट पनि ‘इन्फेक्सन’ हुने डर धेरै हुन्छ ।
जे होस्, नेपालमै डाएलिसिस मात्र नभएर मिर्गौला प्रत्यारोपण गर्ने प्रविधि समेत, त्यो पनि सस्तोमा उपलब्ध नभएसम्म अनेक कष्ट सहेर कैयौँ दिनको रेलयात्रा गर्दै भेलोर जाने रोगग्रस्त नेपालीहरुको लाम घट्ने सम्भावना छैन । यस परिस्थितिमा, देशको अरू जनस्वास्थ्य सम्बन्धी परिस्थिति सपार्ने क्रममा मिर्गौला रोगीहरुलाई पनि सरकार र समाजले विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

