मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा थकित अवस्थामा देखिए सर्लाही हरिपूर्वाका २४ वर्षीय अंगेशकुमार यादव । हातमा जाहेरीसहित भेटिएका उनी चिन्तित देखिन्थे । पित्तथैलीको शल्यक्रिया गराएकी श्रीमती पविताकुमारी यादव अचेत भएको ४ महिना बितिसक्दा पनि होस खुलेको छैन ।
थप उपचार गर्न राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको ९८ दिन बितिसकेको छ । तर, होस खुल्ने अझै टुंगो छैन । काठमाडौंको बसाइ, अस्पताल खर्च र औषधिको रकम जोहो गर्ने उपाय नभएपछि उनी तीन साताअघि घर फर्केका हुन् । श्रीमतीलाई ‘कोमा’मा पुर्याउने चिकित्सक र अस्पतालविरुद्ध जाहेरी दिन चाहन्छन् । तर प्रहरीले दर्ता गरिरहेको छैन ।
जाहेरी लिएर अंगेश र उनको परिवार धनुषा प्रहरीमा हरिपूर्वाबाट चार पटक धाइसकेको छ । हरेक पटक प्रहरीले अनुसन्धान गरिरहेको ढाडस दिएर उनीहरूलाई फर्काउने गरेको छ । त्यसकारण अंगेश यस पटक मेडिकल क्षेत्रमै काम गर्ने काका वीरेन्द्र र ससुरा
ब्रह्मदेव राय यादवसँग आएका थिए ।
मंगलबार अंगेश सबैभन्दा पहिला एसपी नरहरि रेग्मीको कार्यकक्ष अगाडि पुगे । भित्र मिटिङ चलिरहेको भन्दै ३० मिनेटपछि आउन सुरक्षा गार्डले बताए । त्यसपछि उनी डीएसपी वरुणबहादुर सिंहको कार्यकक्षमा पुगे । उनको कार्यकक्षमा बाहिरबाट ताल्चा लागेको थियो । अनि अंगेशका काका वीरेन्द्रले उनलाई मुद्दा फाँटमा लिएर गए । त्यहाँ जाहेरी
दर्ताको विषयमा बुझ्न खोजे । प्रहरी निरीक्षक सागर कार्कीले अनुसन्धान भइरहेको दोहोर्याए । उनको जवाफले वीरेन्द्र आश्वस्त भएनन्, मसिनो स्वरमा सोधे, ‘सर मुद्दा दर्ता कहिले हुन्छ ?’
उनको प्रश्नमा निरीक्षक कार्कीले अस्पतालबाट आवश्यक कागजात र उपचारमा संलग्न चिकित्सकको एनएमसी नम्बर मगाएको जवाफ फर्काए । नेपाल मेडिकल काउन्सिलमा उक्त कागजात र एनएमसी नम्बर पठाउने, काउन्सिलले अस्पताल र चिकित्सकको त्रुटि देखाए मात्र मुद्दा दर्ता हुने कार्कीको भनाइ थियो ।
दर्ताबिना नै अस्पताल सञ्चालन गरेका मुस्कान अस्पतालका सञ्चालक र पविताको उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्न प्रहरीले आलटाल गरिरहेको छ । अंगेशको ससुरा निवेदक रही तयार पारेको जाहेरी दरखास्तमा मुलुकी अपराध संहिता २०७४ को दफा २३०, २३१ र २३२ को कसुर गरेकाले क्षतिपूर्तिसहित कारबाही माग गरिएको छ । तर प्रहरीले आफ्नो अधिकार क्षेत्रमा पर्ने कि नपर्ने अन्योल रहेको भन्दै जाहेरी लिन आनाकानी गरिरहेको छ ।
मुलुकी अपराध संहिताको दफा २३० मा ‘इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने’ व्यवस्था छ भने दफा २३१ मा ‘बदनियत चिताई इलाज गर्न नहुने’ र दफा २३२ मा ‘लापरबाही वा हेल्चक्र्याइँ गरी उपचार गर्न नहुने’ व्यवस्था छ । पवितालाई इजाजतबिना सञ्चालित अस्पतालमा ‘एनेस्थेसिस्ट’ बिना नै शल्यक्रिया गरेर चिकित्सक र अस्पतालले नियतवश लापरबाही गरेको अंगेशको आरोप छ । त्यसकारण यो घटनामा तीनवटै दफा आकर्षित गरी प्रहरीले दोषीलाई कारबाही गर्न सक्ने कानुनी आधार रहेको कानुनकी जानकार रिंकुकुमारी यादव बताउँछिन् ।
घटनाका विषयमा जानकार रहेका एसपी भुवनेश्वर तिवारीको सरुवा भइसकेको छ । नयाँ आएका एसपी रेग्मीले घटनाका विषयमा बुझिरहेको र मुख्यमन्त्रीसँग छलफल गरेर दर्ता प्रक्रिया अगाडि बढाउने बताए । ‘मुख्यमन्त्रीज्यूको नोटिसमा परिसकेको विषय छ, एक पटक उहाँसँग छलफल गरेर के गर्न सकिन्छ गरौंला,’ उनले भने, ‘कारबाही त मेडिकल काउन्सिलकै क्षेत्राधिकारमा पर्छ, त्यहाँबाट कुनै निर्देशन नआएसम्म केही भन्न सकिन्नँ ।’
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले यस घटनामा आन्तरिक समस्या देखिएको बताए । सुरुवातमा अस्पताल सञ्चालक पीडितको सम्पर्कमा रहे पनि अहिले कसैको सम्पर्कमा नरहेकाले समस्या देखिएको उनको भनाइ छ । तर आफूहरू पीडितको पक्षमा रहेको र पीडितले जुन बाटो अपनाए पनि साथ दिने आश्वासन मुख्यमन्त्री सिंहले दिए । ‘मैले बुझेअनुसार अस्पताल सञ्चालक एकमुष्ट पैसा तिरेर मुद्दाबाट मुक्ति पाउन खोजेको छ, त्यहीअनुसार सुरुवातमा एक/दुई लाख रुपैयाँ पनि दिएको थियो,’ उनी भन्छन्, ‘अहिले मुक्ति पाउने नदेखेपछि सम्पर्कविहीन भएको होला । म पनि प्रहरीसँग समन्वय गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन पहल गर्छु ।’
पविताको उपचारमा हालसम्म ३० लाख रुपैयाँ खर्च भइसकेको उनका बुबा ब्रह्मदेव राय बताउँछन् । पैसा अभावमा र केएमसी अस्पतालको ताकेताका कारण तीन सातायता अस्पतालमा बिरामी कुरुवा पनि कोही नरहेको उनले जनाए । ‘अस्पतालले नियमित पैसा बुझाउन ताकेता गरिरहेको छ, भएको पैसा हामीले उपचार खर्चमा बुझाइसक्यौं,’ उनी भन्छन्, ‘अब पूरै सम्पत्ति बेचे पनि अस्पतालको पैसा तिर्न सक्ने क्षमता छैन ।’ पैसा अभावमा पविताको औषधि उपचारमा समेत समस्या भएको उनको भनाइ छ ।
केएमसी अस्पतालकी मेडिकल निर्देशक डा. मीना थापाका अनुसार ९८ दिनदेखि आईसीयूको भेन्टिलेटरमा राखिएकी पविताको नाममा हालसम्म अस्पतालमा हजार रुपैयाँ मात्र डिपोजिट भएको देखिन्छ । ‘९८ दिन आईसीयूभित्र भेन्टिलेटरमा रहँदा हजार रुपैयाँ डिपोजिट छ, अस्पतालले उपचारजारी राखेको छ, योभन्दा बढी कति हेर्ने हो ?’ उनले भनिन्, ‘अहिले तीन सातादेखि बिरामी कुरुवा पनि नभएकाले नर्सहरूले आफैंले जोहो गरेर बिरामीलाई खानेकुरा खुवाइरहेछन् । भोलि बिरामीलाई केही भए हामीलाई नै दोष आउँछ ।’
उनले अब प्रहरीलाई औपचारिक रूपमा जिम्मा लगाउनुको विकल्प अस्पतालसँग नभएको बताइन् । डा. थापाका अनुसार पविता अहिले पनि अचेत अवस्थामा भेन्टिलेटरमै छिन् र उनलाई पाइपको माध्यमबाट खानेकुरा दिने गरिएको छ । त्यससँगै आवश्यक औषधि पनि अस्पतालले नै दिइरहेको छ ।
शल्यक्रिया गरेर पित्तथैली झिक्न ३ माघमा उनलाई जनकपुरस्थित मुस्कान अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन शल्यक्रिया कक्षभित्र लगेर बेहोस पारिएको थियो, त्यसपछि उनको होस फर्केको छैन । पविताको शल्यक्रिया मुस्कान अस्पतालमा कार्यरत डा. ज्ञानकुमार साहले गरेका हुन् । शल्यक्रिया गर्दा एनेस्थेसिया (बेहोस पार्ने औषधि) दिने विशेषज्ञ चिकित्सक अनिवार्य हुनुपर्छ । तर पवितालाई बेहोस पार्ने औषधि कुन चिकित्सकले चलाएका हुन् भन्ने अस्पतालले स्पष्ट पार्न सकेको छैन ।
पविताको उपचारको अभिलेख हेरेका एक चिकित्सकका अनुसार उनलाई बेहोस बनाउने औषधि दिँदा नै गडबड भएका कारण ‘हाइपोक्सिक ब्रेन इन्जुरी’ भएको अनुमान छ । ‘हामीले यत्तिकै भन्न मिलेन तर दिमागमा अक्सिजन नपुगेर ब्रेन इन्जुरी भएको छ, त्यसको कारण एनेस्थेसिया दिँदा तलमाथि भयो भन्ने नै हो,’ ती चिकित्सक भन्छन्, ‘बेहोस बनाउन कुन औषधि दिइएको थियो ? शल्यक्रिया अवधिभर बिरामीको शरीरमा अक्सिजनको मात्रा के थियो ? यो सबै मनिटर गर्नुपर्ने हुन्छ, जसको विस्तृत जानकारी छैन । खासमा शल्यक्रिया गर्दा एनेस्थेसिस्ट नै थिए कि थिएनन् भन्नेसमेत यकिन छैन ।’
शल्यक्रियापछि होस फर्काउन पवितालाई तीन दिनसम्म मुस्कान अस्पतालले नै राखेको थियो । त्यसपछि ६ माघमा जानकी हेल्थ केयरमा सारिएको थियो । जानकीमा २७ दिनसम्म राख्दा पनि अवस्था सुधार नभएपछि भेन्टिलेटर भएको एम्बुलेन्समा राखेर पवितालाई सुरुमा काठमाडौं ल्याएर वीर अस्पताल पुर्याइएको थियो । वीरमा भेन्टिलेटरयुक्त आईसीयू बेड खाली नभएको भन्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) रेफर गरिएको थियो ।साभार : कान्तिपुर

