झापा– नेपाली र अंग्रेजी व्याकरणका विद्वान् थिए– चूडामणि गौतम, जो भनिरहन्थे, ‘म सधैं शुद्ध र सही वर्णविन्यासको पक्षधर हुँ ।’ वर्णविन्यास अध्ययनमै उनले जीवनका स्वर्णिम दिन बिताए । उनै गौतमको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
नेपाली भाषा र व्याकरणलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदानको जस दिइन्छ गौतमलाई, जो ‘ग्रामर गुरु’ का रूपमा चिनिन्छन् ।
कलेजोमा समस्या देखिएपछि गौतम दुई साताअघिदेखि मेडिसिटी अस्पतालमा भर्ना गरिएका थिए । अस्पतालका अनुसार मधुमेहका कारण उनको कलेजोमा गम्भीर समस्या देखिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
२००० असोज १ मा तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतमको परिवार पछि झापाको चारआली बसाइँ सरेको थियो । जेठा छोरा निधिरमण गौतम अहिले पनि त्यहीँ बस्दै आएका छन् ।
गौतमले नेपाली र अंग्रेजी व्याकरणका पुस्तक लेखनमार्फत भाषा शिक्षामा अतुलनीय योगदान गरेका छन् । उनको ‘हायर लेभल इंग्लिस ग्रामर’, ‘कम्पोजिसन एन्ड प्रोनाउन्सेसन’ अंग्रेजी व्याकरण पुस्तक २०३७ सालमा प्रकाशित भएको थियो । करिब ५ सय पटक पुनः मुद्रण भएको यो पुस्तक ३० लाखभन्दा बढी प्रति बिक्री भएको बताइन्छ । अहिले पनि यो पुस्तक अंग्रेजी भाषा सिक्न चाहनेको सर्वाधिक खोजीमा पर्छ ।
‘गौतम ग्रामर’ बाट व्याकरण लेखन यात्रा सुरु गरेका गौतमले त्यसै क्षेत्रबाट झन्डै २० करोड रुपैयाँ आम्दानी गरेको उनका आफन्त बताउँछन् । अंग्रेजी व्याकरण लेखेरै आर्थिक सफलता हासिल गरे पनि ६० को दशकपछि उनी नेपाली भाषाको उन्नयनमा सक्रिय बनेका थिए ।
गौतम नेपालका गुरुहरूको पढाउने शैलीमा सन्तुष्ट थिएनन् । ‘विद्यालय/विश्वविद्यालयका गुरु सही अर्थमा भाषाका प्रयोगकर्ता होइनन्, उनीहरू सुँगाजस्तै पुस्तकमा रटिएको विषय–घेराबाट बाहिर जानै सक्दैनन्,’ गौतमले केही वर्षअघि कान्तिपुरसँग भनेका थिए, ‘शिक्षक वा प्राध्यापक भएकै भरमा भाषाविद् भन्न पनि मिल्दैन ।’ उनको भनाइमा थाहा नपाइकनै नेपाली भाषा बोल्ने, साधारण बोलचाल गर्ने र जनसाधारण मात्रै भाषाका सही प्रयोक्ता हुन् ।’
उनका विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, राम्रो अंग्रेजी बोलचाल अभ्यासलगायतका पुस्तक लोकप्रिय छन् । नेपाली भाषाको शुद्ध लेखन, व्याकरण तथा उच्चारण सुधारका लागि उनले दर्जनौं पुस्तक प्रकाशन गरेका थिए ।
गौतमको निधनले नेपाली भाषा र शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार पुण्यप्रसाद खरेलले बताए । साभार : कान्तिपुर

