काठमाडौं– गायक कुमः सागरको गायकी कस्तो ? यस विषयमा सामाजिक सञ्जालदेखि चिया पसलसम्मै भव्यतम् बहस–विमर्श चलिरहेको छ । र, विभाजित छ सहर । एकथरी उनका डाइहार्ट फ्यान छन्, मूलतः जेनजीहरू, जो उनका लागि ज्यानै दिन तयार छन् । अर्काथरी छन्, उनले गाएको गीतको लवजलाई लिएर खिसिट्युरी गरिरहेका छन् । आफ्नै लवज र अन्दाजमा गीत गाउँदा एक गायक हास्यको पात्र बन्नु हुन्छ कि हुँदैन ? सामाजिक सञ्जाल पनि यतिखेर विभाजित छ ।
आफू इतरका समुदायलाई उडाएर कस्तो आनन्द हुन्छ ? कोही किन अरूलाई खिसिट्युरी गरोस् र गिज्याओस् ? अनि खिसिट्युरी खप्न कोही समुदाय किन अभिशप्त बनोस् ? नेपाली व्यंग्यका शिखर–लेखक भैरव अर्याल सोच्थे– हास्यव्यंग्यको उद्देश्य हो, केवल सत्यको अन्वेषण । अर्यालको विचार थियो– ‘हास्यव्यंग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र
जगत्का गम्भीर, गहन अनुभूति पनि बोक्न र पोस्न सक्ने गरी उठाउनु आजका हास्य–व्यंग्यकारहरूको ध्येय हुनुपर्छ ।’ सामाजिक दायित्व भन्थे, उनी रचनाकर्मलाई ।
(‘अक्षर’, भैरव अर्याल विशेष) । अर्यालको व्यंग्य–संसारमा थियो– राजनीतिक क्षेत्रमा देखिएको विसंगतिमाथि प्रहार गर्नु अनि नेताहरू सुध्रिनुपर्छ भनेर प्रेरणाको स्वर भर्नु । तर, अहिलेको व्यंग्य र साहित्य त्यस्तै छ ? यो विमर्शकै विषय हो । भक्तपुरका बासिन्दा कुमः सागरले नेपालभाषाको लवज र अन्दाजमा गीत गाए– ‘जाने भए जाऊ, माया अब धेरै नसताऊ !…’ त्यसपछि के भयो ? कुमः को त्यो गीत गाउने शैलीलाई कमेडियन सजन श्रेष्ठ, सुजन जिम्बा, उत्सव सापकोटा र पोडकास्टर सुशान्त प्रधानले एक अन्तर्वार्तामै हँसिमजाकको विषय बनाए ।
‘कुमः सागरलाई गिज्याउनुले सम्पूर्ण नेवार समुदायमाथिको आत्मसम्मानमा गम्भीर चोट पुगेको’ निष्कर्ष नेवाः समुदायले निकाल्यो । र, उनीहरूविरुद्ध नेवाः समुदायका व्यक्तिले प्रहरीमा उजुरी दर्ता गरे । उनीहरूले कमेडियन सजन श्रेष्ठ, गायक सुजन जिम्बा, उत्सव सापकोटा र पोडकास्ट प्रस्तोता सुशान्त प्रधानविरुद्ध निवेदन दिएका थिए । उजुरीमा लेखिएको थियो– पोडकास्टमा नेवारी संस्कृति, परम्परामाथि आँच आउने भाषा प्रयोग गरियो ।
आफूविरुद्ध निवेदन दर्ता भएपछि कमेडियन सजन श्रेष्ठले पनि प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । उनको उजुरी मर्म छ– ‘आफूसहित परिवारै असुरक्षित भयो ।’ सजनका अनुसार रिदय ताम्राकार नामक फेसबुक ह्यान्डलबाट उनी र उनको परिवारको फोटो राखेर दिदीहरूलाई बलात्कारसम्मको धम्की दिइयो । सजनले प्रहरीमा दिएको निवेदनबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा–४७ अन्तर्गत कारबाही गर्नुपर्ने उनको माग छ ।
आफूले कुमः सागरलाई गिज्याएको विषयमा सजनले भिडियोमार्फत माफी मागिसकेका छन् र त्यो भिडियो पनि युट्युबबाट हटाइएको छ । कुमःलाई खिसिट्युरी गर्नेमाथि कारबाही नभएको भनेर सम्पदा संरक्षण महाअभियानले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा प्रदर्शन पनि गरेको थियो । एउटा प्रश्न छ– खासमा आदिवासी–जनजाति समुदायका व्यक्तिले खस नेपाली भाषा किन शुद्ध बोल्नुपर्ने ? अनि शुद्ध नबोल्दा तिनलाई किन हास्य–विषय बनाउने ?
‘कुमः सागरको यस विषयमा चाहिँ दुवै पक्षबाट राम्रो भइरहेको लाग्दैन । विभेदको विषय त आइरहेको छ, तर अर्कातर्फ हिंसात्मक पनि छ । गल्ती गर्नेले माफी माग्दा पनि माफी माग्नेप्रति नै भीड असहिष्णु देखिन्छ,’ फिल्म निर्देशक दीपकराज गिरी भन्छन्, ‘व्यक्ति र समुदायलाई तोकेर व्यंग्य लक्षित हुनु हुँदैन । तर क्यारिकेचरमाथि नै बन्देज गर्न खोज्नु अतिवाद हो । व्यंग्यमार्फत समुदायको, व्यक्तिको मनोबल गिराउने काम गर्नु हुँदैन । कुमः सागरकै कुरा गरौं, कुनै नेवार समुदायले कसरी नेपाली भाषा बोल्ला भनेर क्यारिकेचर गर्नुचाहिँ कलामाथिकै बन्देज हो ।’
सामाजिक सञ्जालमा कसैलाई उडाउनु नयाँ हो, तर यो सामाजिक ‘ट्रोल’ को कथा पुरानै हो । टेलिभिजनका पर्दाजस्ता सशक्त माध्यम, साहित्य वा मञ्च, स्ट्यान्ड–अप कमेडीबाट सधैं किन जातजाति, समुदायको चरित्र, भाषा, थेगो, गरिबी, लवज, भूगोल, भेषभूषा, शारीरिक अवस्थाजस्ता विषयमाथि व्यंग्य गरिन्छ ? यति गम्भीर विषय पनि व्यंग्यको खास ‘कन्टेन्ट’ बन्न थालेपछि प्रश्न उठेको छ– के व्यंग्य यति सस्तो विषय हो ? र, यसले व्यंग्य भन्ने विषयमाथि नै व्यंग्य भएको छ ।
नेपाली समाजमा कुनै समुदायमाथिको खिसिट्युरी सामाजिक सञ्जाल, खेलमैदान, पोडकास्ट, अन्तर्वार्ता वा कुनै गाउँ–टोल, जहाँ पनि हुन सक्छ । टेलिभिजन–सिरियल–फिल्म वा साहित्यमा कुनै विषेश समुदायमाथि खिसी गर्नुलाई ‘अति सामान्य’ कर्म मानिन्छ । गएको मंसिर–पुसमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौं, कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरू भएका थिए ।
सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमिरहँदा मधेशी समुदायमाथि लक्षित विभेदकारी र अपमानजनक शब्दहरू प्रहार गर्यो– एक समूहले । उनीहरूले जनकपुर बोल्ट्स समर्थकमाथि नश्लीय, साम्प्रदायिक र रङका आधारमा व्यवहार गरेका थिए । त्यसको विरोध गरेको थियो– मधेशी आयोगले । सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्ट्सका समर्थकमाथि अपमान गर्नेलाई कारबाहीको माग गरेको थियो ।
यस्तै, ‘होस्टल रिटर्न्स’ फिल्ममा इन्जिनियरिङ पढ्न सहर आएको विद्यार्थी होस्टल बस्छ । देशका अन्यत्र ठाउँबाट आएका विद्यार्थीको ‘भलाद्मी’ गेटअप छ । तर, जनकपुरको धरमपुरबाट सहर पसेको रामेश्वर यादव (नाजिर हुसेन) को हातमा छ– शिव मूर्ति, झोलामा घण्टी अनि निधारमा रातो टीका । ‘यो इतर समुदाय र संस्कृतिलाई उडाउने उद्देश्य हो,’ फिल्म निर्देशक नवीन सुब्बाले एक अन्तर्वार्तामा भनेका थिए । अर्को फिल्म छ– ‘रेशम फिलिली’ । त्यसभित्र छ– एक मधेशी पात्र, उसको नाम हो– हरिनारायण मण्डल उर्फ ‘हरिया’ (कामेश्वर चौरसिया) । त्यस फिल्मको हरिया कस्तो छ भने ऊ रिसाएको बेला बाख्रासँग सम्भोग गर्न उद्यत रहन्छ । केटीलाई साइड हान्ने पनि उही, उसको मित्र रेशम (विनय श्रेष्ठ) चाहिँ उभिई–उभिई पिसाब फेर्छ, ऊचाहिँ पिसाब फेर्दा टुसुक्क भुइँमा बस्छ ।
लेखक तुलानारायण साहका विचारमा यस्ता कन्टेन्टको प्रस्तुतिले कमजोरलाई झन् कमजोर बनाउँछ । भन्छन्, ‘असहाय, गरिब र कमजोर मानिसलाई जति उडाए पनि हुन्छ भन्ने सोचाइको उपज हो यस्तो व्यंग्य ।’ ‘हरिबहादुर–मदनबहादुर’ मा थिए– मदनबहादुर (मदनकृष्ण श्रेष्ठ), जो मुहारमा मासुको डल्लो बोकेर हिँड्थे । र, मान्छेलाई हँसाउने उद्देश्यले डल्लो चलाइरहन्थे । अनुहारमा मासु पलाएका मानिसको आत्मसम्मानमा त्यसले व्यंग्य गर्छ कि गर्दैन होला ? समाजमा बहस भएकै छैन । हरिबहादुर (हरिवंश आचार्य) ले पनि आवाज बिगारेर, मुख बंग्याएर त्यस्ता मानिसलाई व्यंग्य गरेकै थिए ।
हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को हास्यव्यंग्य टेलिसिरियल ‘मेरी बास्सै’ हेरौं न, उनी थिए– खड्काजीको भूमिकामा, ती खड्काजी थिए– तालु फाटेका । त्यो भूमिकाले खड्का र तालु फाटेकाहरूको मानहानि भयो भनेर खड्काहरू विरोधमा सडकमा आए । तिनले कार्यक्रम उत्पादक संस्था मिडिया हबको कार्यालयमै पुगेर विरोध प्रदर्शन गरे ।
सन् २०१० मा रिलिज भएको फिल्म ‘सुन्दर मेरो नाम’ मा दीपकराज गिरीले ढाड बंग्याएर, अनुहार बिगारेर फरक क्षमता भएका व्यक्तिमाथि मजाक गरे । फिल्म र टेलिसिरियलमा हँसाउने बहानामा होचा कद भएका र लैंगिक अल्पसंख्यकको आत्मसम्मानमा ठेस पुर्याइन्छ । र, दर्शक त्यो कन्टेन्ट दशकौंदेखि हेरेको हेर्यै छन् ।
हास्यकलाकार मनोज गजुरेलका विचारमा कमजोर, सीमान्तकृतलाई कहिल्यै हाँसोको विषय बनाउनु हुँदैन । भन्छन्, ‘पहिले–पहिले जे गरियो गरियो, अब हास्यव्यंग्य जिम्मेवार भइसक्यो । जनता र गरिबमाथि होइन, सत्ता र बलियामाथि व्यंग्य गर्नुपर्छ । कमजोरलाई व्यंग्य गरिरहँदा ती पात्र र त्यो वर्गप्रति अन्याय हुन्छ । अब व्यंग्यले कसैलाई अन्याय गर्नु हुँदैन ।’
फिल्म, टेलिसिरियल कति असंवेदनशील छन् भने पात्रता निभाउनेहरू नेवाः समुदायलाई अपमान गर्न उनीहरूको शैली टिपेर ‘ट’ लाई ‘त’, र ‘त’ लाई ‘ट’ सम्बोधन गर्छन् ।तपाईंहरूलाईं ‘मेरी बास्सै’ को ‘मुस्कान पासा’ सम्झना छ ? कानमा गुलाफको फूल सिउरेका, कानमा कुण्डल लगाएका उनी ‘कटि हाँस्ने होला, म ट हाँसेरै मर्ने भयो’ भन्दै अरूलाई हँसाउन नेवाः समुदायका पात्र भएर नेवाःलाई नै उडाइरहेका छन् ।
कवि उज्ज्वला महर्जनले एक कवितामा भनेकी छन्– मेरो जिब्रोले ‘ट’ र ‘त’ को फरक जान्दैनथ्यो ‘ड’ र ‘द’, ‘ध’ र ‘ढ’, ‘ठ’ र ‘थ’ बीचको दूरी मान्दैनथ्यो… ढोका सधैं धोका थियो… । साहित्यको एउटा विधा हो– व्यंग्य । राजा–महाराजादेखि सबै जनालाई व्यंग्य गर्न पाइन्थ्यो । त्यसैले सायद गाईजात्रा प्रदर्शन गर्न र कार्टुन लेख्न सुरु भयो । सशक्त व्यंग्य गर्ने मानिसको साहित्य र स्क्रिप्ट बलियो हुन जरुरी छ । भैरव अर्यालजत्तिको व्यंग्यशिल्पी अरू जन्मिएनन् भन्छन् लेखक विमल निभा । घडीको सुइँसँगै हतारमा दौडिरहेको समयमा अब व्यंग्य–शैली फेरियो, फेरिए पात्र । प्रस्तुतीकरणको प्लाटफर्ममा आइपुग्दा व्यंग्यको स्वरूप पनि फेरियो । अब साहित्यले मात्रै काम गर्न छोड्यो, मान्छेले अभिनय, ब्याकग्राउन्ड संगीत, मुख बिगारेर, जीउ बक्र पारेर व्यंग्य गर्न थाले । सबैको व्यंग्य–शैली उस्तै भएपछि ती सबै स्टाइल ‘सस्ता’ हुँदै गए ।
समाज, संस्कृति, साहित्य, इतिहास थाहा हुनुपर्छ व्यंग्य गर्नेलाई । व्यंग्य गर्नेसँग बहुविध समाज र संस्कृतिको अध्ययन हुनु जरुरी हुन्छ, जुन अभाव हाम्रा व्यंग्यकर्मीमा खट्किन्छ । व्यंग्यका विषयवस्तुको खानी हुनुपर्ने व्यंग्यकारहरू अति सीमित ज्ञान र कमजोर कलाका भरमा लाखौं बौद्धिक दर्शकअघि उभिन्छन् र प्रस्तुति दिन्छन् । व्यक्ति, समुदाय, जात र वर्गमाथि लक्षित नगरीकन तिनीहरूका कुरामाथि व्यंग्य गर्नु व्यंग्यकारको धर्म हो ।
मंगलबार मात्रै ‘एउटा सानो घर होस्, एउटा दुहुनो गाई’ सद्य व्यंग्य–संग्रह प्रकाशित भएको छ कवि, व्यंग्य–लेखक, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको । उनको विचार छ– जातजाति, समुदायको चरित्र, भाषा, थेगो, गरिबी, लवज, भूगोल, भेषभूषा, शारीरिक अवस्थामाथि व्यंग्य गर्नुले सामाजिक असन्तुलनलाई बढावा दिन्छ । ‘व्यंग्यको आफ्नै मर्यादा हुन्छ । व्यंग्य कुनै अराजक चिन्तन होइन, व्यंग्यले जहिले पनि सन्तुलित आलोचनात्मक चेत बोकेको हुन्छ । त्यो चेत भनेको समग्रतामा सधैं सकारात्मक हुन्छ । र, त्यसले रचनात्मक भावभूमि बोकेको हुन्छ । व्यंग्य संकुचित मनस्थिति, नकारात्मक भावभंगिमा र विकृत मनस्थिति हो भन्ने आम बुझाइ छ, त्यो सरासर मिथ्या हो । श्रीमती, नोकर, गरिबमाथि व्यंग्य गर्थे पहिलेका व्यंग्यकार,’ विमल निभाले भने, ‘त्यो विकृत चिन्तन हो, विकृत मस्तिष्कको पहिचान हो । व्यंग्य भनेको उत्तरदायित्वपूर्ण शब्द बोक्ने एक सजग मस्तिष्क हो ।’
कुनै समुदायको पहिचानमाथि व्यंग्य गर्नु कसैको ‘पेसा’ बन्नु डरलाग्दो सामाजिक ऐँजेरु हो । भाषा आयोगका सदस्य, कवि, व्यंग्यकार एवं भाषिक अभियन्ता सुरेश किरणका विचारमा कुनै मान्छे वा समुदायको कमजोर पक्षमाथि व्यंग्य गर्न पाइँदैन । ‘त्यस्तो व्यंग्य गर्दा सम्बन्धित समुदायलाई नकारात्मक असर पार्छ भने त्यो कानुनतः दण्डनीय हो । पहिले–पहिलेजस्तो विषयमा पनि व्यंग्य गर्थ्यौं, जस्तो अपांगता भएका व्यक्तिलाई अपांगताकै विषयमा व्यंग्य गरिन्थ्यो । यो मानवअधिकारका दृष्टिले पनि गलत हो भन्ने बुझ्दै आएपछि त्यस्तो व्यंग्य कम हुन थालेको छ,’ सुरेशले भने, ‘तर कुमः सागरको विषय हेर्दा समुदाय र लवजलाई लिएर गरिने खिसिट्युरी अझै बाँकी रहेछ भन्ने देखिन्छ । व्यंग्य गर्ने, क्षमा माग्ने प्रथा अब बन्द गरेर तिनलाई कानुनतः दण्डित गरिनुपर्छ ।’
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ३०५ को उपदफा २ मा ‘कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ’ भन्ने व्यवस्था छ । त्यस व्यवस्थालाई प्रस्ट पार्दै गाली मात्रै नभई दफा ३०६ को उपदफा २ को खण्ड ‘क’ र ‘ग’ ले ‘बेइज्जत गरेको मानिने’ भन्ने व्याख्या गर्छ ।
फिल्म–सिरियलले समाजसँग संवाद गर्छन् र सुन्दर समाजको कल्पना पनि । तर कमेडी फिल्म वा टेलिसिरियलमा समाजको पिँधमा रहेका गरिब–दलितलाई नै ठग वा बद्मासको भूमिकामा देखाइन्छ, किन ? तीमाथिको व्यंग्यले के समाजलाई स्वस्थ राख्छ ? कि हो त्यो केवल आफ्नो सर्वोच्चतालाई महान् बनाउने समान्ती सोचको उपज ? देश बहुरंग, बहुभाषा र बहुसंस्कृति मिलेर बनेको हुन्छ । तिनैलाई हास्य–कन्टेट बनाएर, तिनैलाई खिसिट्युरी गरेर कस्तो देशको परिकल्पना गर्ने ? साभार : कान्तिपुर

