काठमाडौं । सरकारले अनुदान दिने भएकाले आयोडिनयुक्त नुन यहाँ प्रतिपोका ९ रुपैयाँमा पाइन्छ । त्यही नुन सदरमुकाम मार्तडी बजारमा ३० रुपैयाँसम्म पर्छ ।
नुन किन्नकै लागि सास्ती खेप्दै आएका बाजुरावासीले गत माघदेखि नै सहज रूपमा नुन किन्न पाएका छैनन् । असारयता नुन अभाव झनै चुलिएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसनले बाजुरामा नुन बेच्न मार्तडी, कोल्टी, कवाडी र मौरेमा चार डिपो, डोगडी, कीर्तिचौर, पाडबगुफा र धुलाचौरमा चार अस्थायी बिक्री केन्द्र राखेको छ । तर डिपो र केन्द्रमा दिनभर रुँघ्दा पनि स्थानीयले नुन पाउन सकेका छैनन् ।
बडिमालिका नगरपालिका–२ मैमातोलाकी २७ वर्षीया मनमती बिष्ट नुनका लागि आइतबार डेढ घण्टा हिँडेर मार्तडीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोमा आइपुगिन्, दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म लाइनमा बसिन् । तर, नुन किन्ने पालो नआएपछि रित्तै हात घरतिरै फर्किइन् ।
बाजुरावासीले विगत ६ महिनादेखि सहज रूपमा आयोडिनयुक्त नुन पाएका छैनन् । अनुदानको नियमित कोटा सकिएपछि वितरण केन्द्रले पटके अनुरोधका भरमा नुन ल्याएर वितरण गर्न थाले पनि माग धान्न सकेको छैन । प्रतिव्यक्ति १० किलो नुन किन्न पाउने व्यवस्था भए पनि अभावका कारण माघदेखि परिमाणमा आधा कटौती गरिएको छ र आइतबार मात्रै बिक्री वितरण गरिँदै आएको छ । साताको एक दिन कार्यालय समयमा मात्रै नुन वितरण गरिने भएकाले घण्टौं हिँडेर गाउँदेखि आउनेको भीड थामिनसक्नु हुन थालेको छ । मार्तडी डिपोका प्रमुख टेकबहादुर बोहोराले आइतबार मात्रै १२ सय जनालाई ६० क्विन्टल नुन बिक्री गरेको बताए । भने, ‘कार्यालय समयमा सबैका लागि बेच्न नसक्दा कतिपय रित्तै फर्किनुपर्यो ।’ आइतबार नै मौरे डिपोबाट पनि ४२ क्विन्टल नुन बिक्री भएको बोहोराले बताए ।साल्ट ट्रेडिङले बाजुराका लागि चालु आर्थिक वर्षमा ५ हजार ७ सय ५२ क्विन्टल नुनको कोटा विनियोजन गरेको छ । जसअन्तर्गत मार्तडीमा ८ सय ८५ क्विन्टल, मौरेमा १ हजार ५६ क्विन्टल, कोल्टीमा १ हजार १ सय ५० क्विन्टल, कवाडीमा ८ सय ८५ क्विन्टल छुट्याएको छ । त्यस्तै नुन बिक्रीका लागि प्रत्येक अस्थायी केन्द्रमा ४ सय ४२ क्विन्टल व्यवस्था गरिएको छ । बोहोराले अहिले कवाडीबाहेक बाँकी डिपो र अस्थायी केन्द्रमा नुनको अभाव रहेको बताए ।
निर्धारित कोटाको नुन अपुग भएपछि मार्तडीमा दुई पटक गरी १ हजार ६ क्विन्टल थप मागिएको थियो । तर केन्द्रबाट दुई पटक गरी ७ सय क्विन्टल मात्र नुन आयो । कोल्टी र मौरेमा पनि १ हजार ६ क्विन्टल थप माग गरिएकामा ८/८ सय क्विन्टल कोटा मात्र स्वीकृत भएपछि नुन अभाव बढेको हो । छेडेदह अस्थायी बिक्री केन्द्रहरूमा पनि नुन अभावको समस्या उस्तै छ । छेडेदह बिक्री केन्द्रमा ५ सय क्विन्टल थप माग भएकामा २ सय क्विन्टल नुन मात्र स्वीकृति भएर आयो । सोमबारसम्म कोल्टीमा ३ सय ८७ क्विन्टल, मार्तडीमा १ सय ४८ र मौरेमा ३३ क्विन्टल मात्रै नुन मौज्दात छ । ‘मार्तडी, कोल्टी र मौरेमा दुई/तीन दिन बिक्री गर्न पुग्ने परिमाणमा मात्र मौज्दात भएकाले खटाई–खटाई बिक्री गर्नुपर्ने अवस्था छ,’ बोहोराले भने, ‘सरकारले ढुवानी अनुदान दिने भएकाले केही सस्तो हुनाले यहाँका बासिन्दा लिमिटेडकै आयोडिनयुक्त नुनमा निर्भर छन् ।’

