राष्टिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न नर्सिङ पेशाको महत्व बुझेर नर्सिङ क्षेत्रका यी चुनौतिहरुको यथाशीघ्र सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेकी छिन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद डा. कार्कीले मुलुकमा हाल १५ सय ७ जना विशेषज्ञ नर्स सहित करिब १ लाख साढे २३ हजार नर्स रहेको जानकारी दिइन । उनले भनिन,‘ नर्सिङ सेवा स्वास्थ्य सेवाको मेरुदण्ड हो । जसको सुधार विना हाम्रो स्वास्थ्य प्रणाली सुदृढ र गुणस्तरीय बन्नै सक्दैन । मुस्कानकासाथ जनसेवा गर्ने यी नर्सहरुको मुस्कानभित्र आज दुःख र पीडा झल्किएको देखिन्छ । उनीहरुका दरवन्दी, पारिश्रमिक र सुबिधा न्युन छन् । कार्यस्थल असुरक्षित छ । योग्यता अनुसार दरवन्दी र जिम्मेवारी पाएका छैनन । उच्च शिक्षा र तालिमको अवसर छैन । हाम्रा ४० प्रतिशत भन्दा बढी नर्सहरु बेरोजगार छन् । र, साढे ४० हजार नर्सहरु विदेशिएका छन् । सम्माननीय प्रधानमन्त्रीज्यूले नर्सहरुको सेवा सुधार गर्न सार्वजनिकरुपमा त वाचा त गर्नु भयो । तर, सो अनुसार यस वर्षको बजेटमा कुनै योजना प्रस्तुत गरेको देखिएन । सभामुखज्यू, नर्सिङ सेवाको चुनौति केवल नर्सहरुको मात्र होइन । देश,समाज र प्रणालीको पनि हो । गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न नर्सिङ पेशाको महत्व बुझेर नर्सिङ क्षेत्रका यी चुनौतिहरुको यथाशीघ्र सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।’

