यादव आचार्य
गुलरिया, १५ माघ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ वगलामुखी मंदिर टोल निवासी सुरज खड्का क्यान्सर भएर वावुको निधन भएपछि वैदिक सनातन पद्धती अनुसार दशगात्रादी क्रियाकर्ममा छन् । परिवारको मियो अकस्मात घातक रोगको शिकार भई ब्रम्हलिन भएपछि धर्म परम्परासँगै सामाजिक संस्कार थेग्दै आफूसँगै आश्रित परिवार सम्हाल्न तल्लिन छन् ।
पुष ११ गते मात्र वुवालाई क्यान्सर लागेको थाहा पायौं । माघ ९ गते वुवाको स्वार्गारोहण भयो । फोक्सोमा चौथो स्टेजको क्यान्सर भैसकेको रहेछ । सुरजले भने वुवाले कहिले काँही हात खुट्टा दुख्यो, कोखा दुख्यो भन्नुहुन्थ्यो, मेडीकलमा सामान्य उपचार पछि ठिकै हुन्थ्यो । शुरुमै वुवाले हल्का रुपमा लिनुभयो धेरै कठिनाई सुनाउनु भएन । हेलचक्राई भयो । मलिन भावमा उनले अगाडी भने स्थानिय मेडीकल, बर्दिया अस्पताल लगायत नेपालगञ्जमा उपचार गर्यौ तर अन्तिम समयमा औषधीले काम गरेन । सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा वायोस्पी गरेपछि मात्र क्यान्सर लागेको पक्का थाहा भयो ।
खड्काले थपे, क्यान्सर त साह्ै पीडादायक रोग रहेछ । विरामी र हेरचाहा गर्ने सबैलाई दुःख दिदो रहेछ । थोरै समयमा पनि धेरै पैसा खर्च भयो । गुलरिया नगरपालिकाबाट उपचारको लागि १ लाख रुपैयाको सिफारिश पाएका थियौं । त्यो विरामीको उपचारमा मात्र खर्च गर्न पाईने रहेछ । क्यान्सर लागेपछि त धेरै खर्च बढ्छ । उपचारमा त खर्च लाग्ने नै भयो कुरुवाहरुलाई पनि उत्तिकै खर्च हुने रैछ । अस्पताल बाहिरबाट औषधी किन्दा सरकारी खर्च काम लाग्दैन । बाँकेको खजुरामा क्यान्सर अस्पताल भएर उपचारको लागि टाढा जानु परेन । यो अस्पताल त पश्चिमको लागि धेरै राम्रो भएको छ ।
खजुरा क्यान्सर अस्पतालमा सेकाई मेसीन भएपनि चिकित्सक अभावमा सेकाई गर्न पाएनौं साह्ै दुःख लाग्यो । सरकारले क्यान्सर अस्पतालमा ठूलो लगानी गरेपनि आवस्यक दरवन्दी नदिंदा सेवा उपयोग गर्नबाट बञ्चित भएको खड्काले दुःखेसो पोखे । पछिल्लो समय क्यान्सरका विरामीको संख्या बढेको छ । खड्काकै टोल साँधमा तिन घरका परिवार क्यान्सरका कारण ज्यान गुमाई सकेका छन् । एउटै परिवारमा ३ जनालाई क्यान्सर ब्यहोर्नु परेको पीडादायी अवस्था छ । वंशाणुगत रोग भएका कारण पनि परिवारमा एकजनामा क्यान्सर भएपछि अन्य सदस्यमा पनि क्यान्सर रोग देखा पर्ने गरेको छ । सोही निवासी शान्तादेवी सिंहले क्यान्सरकै कारण सासु, पति र छोरी गुमाउनु परेको पीडा सुनाईन् ।
सासुको फोक्सोमा, श्रीमानको ठूलो आन्द्रामा र छोरीको स्तनमा क्यान्सर भयो धेरै पैसा खर्च गर्यौ बचाउन सकिएन । आँशुका भेल पुछ्दै उनले भनिन्, क्यान्सर लागेपछि धेरै ठाउँमा लगेर उपचार गर्यौ तर निको भएन् । उपचारमा धनदौलत पनि गयो आफ्नो मान्छेपनि बचेनन् यस्तो रोग त शत्रुलाई पनि नलागोस् । उनले सुझाईन्, बेला बेलामा स्वास्थ्य जाँच गर्नुपर्दो रहेछ । खेलवाड गर्नुहुँदैन रैछ । महिलाले त पाठेघर तथा स्तन बेलाबेलामा जचाई राख्नुपर्छ । क्यान्सर त एक्कै चोटी अन्तिममा थाहाहुन्छ । जतिवेला उपचार गरेपनि केही उपाय लाग्दो रहेनछ । सासु र छोरीको पालामा त राज्यबाट पनि सहयोग पाएनौं । क्षेत्रीले थपिन्, अस्पतालमा पनि पैसा नभए उपचारै नहुँदो रैछ ।
क्यान्सर लागेका विरामीको अगाडी रोगको बारेमा भन्ने अनि कठै अव निको हुँदैन भन्दै विरामीको मनोवल घटाउने समाजमा भेटन आउनेहरुको प्रबृत्ति त्याग्नुपर्ने उनको अनुभुती छ । परिवारमा क्यान्सर लागेपछि त परिवारको वेहाल हुन्छ । त्यस्ता परिवारलाई राज्यले पनि केही गर्न सके राम्रो हुने उनको सुझाव छ । सोही निवासी राकेश वस्याल क्यान्सरका कारण वुवा, आमा, ठूलो दिदी गुमानउनु परेको बताउँछन् । माईली दिदी क्यान्सरसँग जुझ्दै हुनुहुन्छ । उनले भने दीदीको मनोवल उच्च भएका कारण अहिले सम्म केही भएको छैन । क्यान्सर धेरै पीडादायी रोग भएको उनले सुनाए । जैविक खाद्यान्नहरुको प्रयोग, वायुमण्डलीय प्रदुषण लगायत आहार विहारको तारतम्य नमिल्दा क्यान्सर लगायतका घातक रोगको सामना गर्नुपर्ने उनको वुझाई छ । बर्दियामा क्यान्सरका विरामीहरुको संख्या बढ्दो छ । एउटै घरमा धेरै जना क्यान्सर पीडित भएको अवस्थामा घरघर र टोलटोलमा रोगीको संख्या तिब्र रुपमा बढ्दै छ ।
क्यान्सरबाट वुवाको मृत्युभएपछि क्रियाकर्ममा बसेका छोरा तस्विर ः यादव आचार्य

