काठमाडौं । साबुन, कस्मेटिक र दाना उत्पादक उद्योगले कच्चा पदार्थका रुपमा प्रयोग गर्न पशुको बोसो आयात गर्छन् । सबैभन्दा बढी बोसो साबुन उद्योगले आयात गर्ने गरेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ ।
एक किलोमा मासुमा ३ सय ग्रामसम्म बोसो हुन्छ । पशुको बोसो नेपालमै जति पनि उत्पादन हुनसक्छ । तर, नेपालमा व्यवस्थित बधशाला छैन । जसका कारण विदेशबाट अर्बौंको बोसो आयात गर्नु पर्छ ।
मासुबाट बोसो छुट्याउने प्रविधियुक्त बधशाला छैन । त्यसैले एकातिर उपभोक्ता स्वास्थ्यका लागि हानिकारक मानिने बोसोका लागि पैसा तिर्न बाध्य छन् । अर्कातिर त्यही बोसो खरिदका लागि ठूलो पैसा बिदेसिइरहेको छ ।
मासु काट्दा बोसो छुट्ट्याउन सके बाइप्रोडक्टका रुपमा प्रयोग गर्न सकिन्छ । बोसो र विभिन्न केमिकल प्रयोग गरेर साबुन बनाइन्छ ।
नेपालमा ५ वर्षमा ७ अर्ब ८० करोड रुपैयाँभन्दा बढी मूल्यको बोसो आयात भएको छ । आर्थिक वर्ष २०७५र७६ देखि चालू आव २०७९र८० को जेठसम्ममा ७ अर्ब ७९ करोड २८ लाख रुपैयाँभन्दा बढी मूल्यको बोसो भित्रिएको हो ।
आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब १४ करोड, २०७६\७७ मा ७४ करोड ८० लाख, २०७७र७८ मा २ अर्ब २० करोड, २०७८र७९ मा २ अर्ब १६ करोड र चालू आवको ११ महिनामा १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी मूल्यको बोसो आयात भएको हो ।
नेपालमा भारतबाट सबैभन्दा बढी बोसो आयात हुन्छ । त्यसबाहेक लेबनान, न्युजिल्यान्ड, थाइल्यान्ड र साउदीबाट पनि बोसो आयात भएको छ ।

