काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बिहान पौने १० बजेतिर क्याबिन नम्बर ६ सय १ बाट अपरेसन थिएटर लगिँदै थियो । साथमा शल्यक्रिया टोलीका चिकित्सक, परिवारजन र निजी सचिवालयका केही सदस्य थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न गइरहेका ओली निश्चिन्त देखिन्थे तर निकटस्थहरूको बेचैनी बढेको थियो । उनलाई शल्यक्रिया कक्षमा प्रवेश गराउँदा श्रीमती राधिका शाक्य मौन थिइन् भने अरू पनि केही बोल्न सकेका थिएनन् । उनलाई बिदाइ गर्दै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘अल द बेस्ट प्रधानमन्त्रीज्यू ।’
ओलीलाई त्यसो भनेको केहीबेरमा बाहिरिएका रिमालले कान्तिपुरसँग भने, ‘आफ्नो रोग र उपचारबारे प्रधानमन्त्रीज्यूले राम्ररी अध्ययन गर्नुभएको छ । हामी आत्तिँदा पनि उहाँ धैर्य देखिनुहुन्छ ।’ रिमालका अनुसार शल्यक्रियाका लागि अपरेसन थिएटरमा जाँदै गर्दा ओलीले मुस्कुराउँदै हात हल्लाएका थिए । थिएटरमा पुगेपछि ओलीलाई चिकित्सकहरूले सोधे, ‘हामीलाई केही भन्नु छ प्रधानमन्त्रीज्यू ?’ प्रधानमन्त्रीले जवाफ दिए, ‘मलाई तपार्इंहरूमाथि पूरै विश्वास छ ।’
त्यसपछि दिनभरिमा ओलीको मिर्गौला प्रत्यारोपण गरियो । प्रत्यारोपण सफल भयो । करिब पाँच घण्टापछि साँझपख ओली होसमा आए । त्यसपछि आईसीयूमा आराम गरिरहेका ओलीको स्वास्थ्य अहिले स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले बताएका छन् । ‘उहाँका सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा छन् । प्रत्यारोपित मिर्गौलाले पनि काम सुरु गरिसकेको छ,’ उनले भने, ‘उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ ।’ अस्पतालका अनुसार ओलीलाई अब तीन दिन कसैलाई भेट्न दिइनेछैन ।
ओलीलाई मिर्गौला दिएकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।
अपरेसन थिएटरभित्र ओलीको शरीर चिर्ने र सिलाउने काम भइरहँदा अस्पताल प्रांगणमा उनको स्वास्थ्यलाभको कामना गर्नेहरू जम्मा भइसकेका थिए । मन्त्री, सांसदलगायत क्याबिनसम्म पुगेर प्रधानमन्त्रीबारे ताजा अवस्था बुझेर आउँथे भने बाहिर बसेको समूह उनीहरूबाटै खबर थाहा पाउँथ्यो । घण्टैपिच्छे नयाँ नयाँ खबर बाहिर आइरहेका थिए । अपरेसन थिएटरमा छिराइयो, मिर्गौलाको सफल प्रत्यारोपण भयो, नयाँ मिर्गौलाले प्रधानमन्त्रीको शरीरमा काम गर्न थाल्यो, उनी होसमा आए । जसै क्याबिनबाट कोही बाहिर आउँथे, त्यहाँ जम्मा भएका शुभेच्छुकहरू घेर्न पुगिहाल्थे । तिनैमध्येकी हुन् ‘मिथिला नगरपालिका धनुषाकी उपप्रमुख तारा बस्नेत लामा । उनी प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नकै लागि अस्पताल पुगेकी थिइन् । ‘अहिले देशलाई उहाँको खाँचो छ,’ लामाले भनिन् ।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । १३ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनले गत साउन दोस्रो र भदौको पहिलो साता सिंगापुर पुगेर उपचार गराएका थिए । त्यसयता ओलीको नियमित डायलसिस हुँदै आएको थियो । नियमित डायलसिस गर्ने या दोस्रो पटक प्रत्यारोपण गर्ने भन्नेबारे लामो छलफल र अध्ययनपछि ओली प्रत्यारोपणको निष्कर्षमा पुगेका थिए ।
‘मुलुकको कार्यकारी प्रमुखले चाहेको भए विदेशको अझै सुविधासम्पन्न अस्पताल रोज्न सक्थे होलान्,’ त्यहाँ उपस्थितहरूको टिप्पणी हुन्थ्यो, ‘तर देशकै सरकारी अस्पतालमा यति ठूलो शल्यक्रिया गराएर देशको स्वास्थ्य क्षेत्रमाथि नागरिकको भरोसा थपिदिनुभयो ।’
‘गेट वेल सुन प्रधानमन्त्री’ लेखिएको प्ले कार्ड बोकेर अस्पताल परिसरमा उभिएका गुल्मीका बाबुराम कुँवरले देशको सीमा रक्षादेखि पार्टी र सरकारभित्रका थुप्रै समस्या हल गर्न प्रधानमन्त्री सम्पूर्ण रूपमा स्वस्थ हुनुपर्ने बताए ।
ओलीले आफू अस्पताल रहँदा सरकार र पार्टी दुवैतिरका काममा कुनै असर नपर्ने बताएका थिए तर उनीसँगै जोडिएका पार्टीभित्रका विवाद तत्कालका लागि स्थगित छन् । ओली अस्पतालबाट डिस्चार्ज नभएसम्म देशका कतिपय राजनीतिक ऐजन्डा पनि ‘स्थिर’ नै रहनेछन् । त्यसैले देश चलायमान हुनका लागि ओली निको भएर फर्किनुपर्ने र त्यसका लागि शुभेच्छा प्रकट गर्न आफू अस्पताल पुगेको नुवाकोटका उत्सव अधिकारीले बताए ।
सर्वसाधारणजस्तै विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे बुझ्न अस्पताल पुगेका थिए । उनीहरूलाई शल्यक्रियामा संलग्न डा. प्रेम ज्ञवालीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
दिउँसो प्रतिनिधिसभाले पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको थियो । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले दीप प्रज्वलन गरेको थियो । साँझ नेकपाका वरिष्ठ नेता माधव नेपालसहित सचिवालयका नेता र मन्त्रीहरू स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसर नेपालको जनसंख्याको १० प्रतिशत (करिब ३० लाख नागरिक) मिर्गौलाको समस्याबाट पीडित छन् । यिनै पीडितहरूको प्रतिनिधित्व गर्दै मिर्गौला रोगीहरूको एउटा समूह पनि अस्पताल पुगेको थियो । प्रधानमन्त्री ओलीलाई सन्चो भयो भने आफूहरूको पनि मर्का बुझिदिन्छन् भन्ने अपेक्षा उनीहरूको थियो । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न पुगेकी मिर्गौलापीडित सरोकार समितिकी सदस्य तुल्सीदेवी सुवेदीले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई सन्चो भयो भने हामीलाई मिर्गौला उपचारमा सहुलियत व्यवस्था गर्नुहुन्छ भन्ने आस छ ।’
प्रधानमन्त्री निश्चिन्त, शुभेच्छुक बेचैन
प्रधानमन्त्री निश्चिन्त, शुभेच्छुक बेचैन
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

