काठमाडौँ, कान्तिपुर पब्लिकेशन्स् लिमिटेड व्यवस्थापन र आन्दोलनरत मजदुर पक्षबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ । व्यवस्थापनले वार्ता र सहमतिको प्रयास जारी राख्दै ग्राहकका प्रति पुर्याउन आग्रह गरेको छ भने आन्दोलनरत पक्षले सहमति नभएसम्म पत्रिका वितरण गर्न नसक्ने अडान लिएका छन् । यद्यपि आन्दोलनरत चारमध्ये दुई समूहले बुधबार र बिहीबार पत्रिका वितरण गरेका छन् ।
बिहीबार भएको वार्तामा ‘कान्तिपुर संघर्ष समिति’ ले ४० जना वितरकको करार अवधि थप्न माग राखेको थियो । ‘कुनै पनि कर्मचारीलाई गैरकानुनी रूपमा हटाइएको छैन । यद्यपि करार अवधि सकिएपछि स्वतः बिदा भएका वितरकलगायतका विषयमा पनि सहमति गर्न सकिन्छ तर सहमतिको प्रयास जारी रहँदा पत्रिका वितरणमा अवरोध नगर्न व्यवस्थापनले आग्रह गरेको थियो । तर, उहाँहरूले आफ्ना माग पूरा नभएसम्म पत्रिका वितरण बन्द गरिराख्ने अडान लिनुभयो, यसले वार्ता निष्कर्षविहीन भयो,’ मानव संसाधन विभागका प्रमुख परमानन्द खनालले भने ।
वार्तामा सहभागी अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ मूल इकाईका अध्यक्ष श्रीराम वाग्लेले आफ्ना माग पूरा गर्ने पक्षमा व्यवस्थापन नदेखिएकाले वार्ता निष्कर्षमा पुग्न नसकेको बताए । ‘हामीले वार्ताका क्रममा ४० जना साथीहरूलाई पुनर्बहाली गर्नुपर्यो, आन्दोलनका क्रममा जे जति संख्यामा स्पष्टीकरण सोधिएको छ, त्यो पनि खारेज हुनुपर्यो भन्ने सर्त राख्यौं,’ उनले भने, ‘एक सातामा पूरा गर्छौं तर पहिले पत्रिका वितरण सुरु गर्नुस् भनेर व्यवस्थापन पक्षले भन्यो । हामीले पुनर्बहाली र स्पष्टीकरणको पत्र खारेज गरेपछि मात्रै पत्रिका वितरण सुरु गर्छौं भन्ने अडान राख्यौं, उहाँहरूले यसलाई स्वीकार गर्नुभएन ।’
अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ कान्तिपुर पब्लिकेशन्स् मूल इकाई कमिटीका उपाध्यक्ष रुद्र पौडेलले पनि व्यवस्थापनले आफ्ना माग नमानेकाले वार्ता सफल हुन नसकेको बताए ।
मानव संसाधन विभागका प्रमुख खनाल भने धेरैजसो श्रमिक काम गर्ने पक्षमा रहेको तर असम्बन्धित पक्षले पत्रिका वितरण गर्न नदिएको र काम गर्न खोज्नेलाई पनि करकापमा पारेको सूचना र प्रमाण आफूहरूसँग रहेको बताए । ‘हामी हाम्रा श्रमिकले कानुनतः पाउने सबै माग पूरा गर्न तयार छौं । तर, उहाँहरूले विगतदेखि गर्दै आएको र भोलिका दिनमापनि गर्नुपर्ने व्यावसायिक काममा अवरोध नगर्नोस्, सञ्चारकोहक र उपभोक्ताका अधिकारलाई कुण्ठित नगर्नोस् भन्दा मान्नुभएन,’ उनले भने ।
वार्ताको पहल सुरु भएपछि कान्तिपुर पब्लिकेशन्स् कर्मचारी मजदुर संघ र अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघनिकट मजदुरले बुधबार र बिहीबार पत्रिका वितरण गरेका छन् । ‘अरू संगठनमा आबद्ध मजदुर पनि आफ्नो काममा फर्कन तयार छन् । किनकि समस्याको समाधान अवरोधबाट होइन, संवादबाट हुन्छ भन्नेमा धेरै जना स्पष्ट हुनुहुन्छ । तर, केही व्यक्तिले त्यो वातावरणलाई बिथोलिरहेका छन्,’ खनालले भने ।
कान्तिपुर पब्लिकेशन्स्ले मंगलबार आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्दै पत्र पठाएको थियो । पब्लिकेशन्स्ले पठाएको पत्रमा वितरकहरूले आफ्ना जायज माग राखे पनि नागरिकको सुसूचित हुने हक, सञ्चारको हक र ग्राहक–उपभोक्ताको हकलाई पनि सम्मान गर्दै पत्रिकाहरू पूर्ववत् वितरण गर्न, वितरण गर्ने मजदुरलाई अवरोध नगर्न तथा प्रकाशित पत्रिका थुपारेर पब्लिकेशन्स्को सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको थियो । कानुनले तोकेका अधिकार दिन आफू तयार भएको व्यवस्थापनको भनाइ छ ।
कान्तिपुर व्यवस्थापनले मंगलबार वार्ताका लागि आह्वान गरेपछि ‘कान्तिपुर संघर्ष समिति’ ले १७ सदस्यीय वार्ता समिति गठन गरेको थियो । व्यवस्थापनसँगको वार्तामा अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ, कान्तिपुर पब्लिकेशन्स् कर्मचारी युनियन, कान्तिपुर पब्लिकेशन्स् कर्मचारी मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका प्रतिनिधि सहभागी थिए ।

