काठमाडौं : ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा डेंगु संक्रमणको जोखिम बढ्न थालेको छ । पानी परेको र गर्मी बढेका कारण लामखुट्टेका लार्भाको संख्या बढेकाले डेंगु संक्रमणको जोखिम उच्च भएको चितिक्सकहरु बताउँछन् ।
सरकारी तथ्याङक अनुसार पछिल्लो ६ महिनाको अवधिमा डेंगुका ९ सयभन्दा बढी मानिसहरु बिरामी परेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल ४७ वटा जिल्लामा देखा परेको छ । जिल्लागत रुपमा डेंगु सबैभन्दा धेरै दार्चुलामा देखिएको छ । जहाँ डेंगुका १ सय ८७ जना बिरामी रहेका छन् । धादिङमा ९७, कास्कीमा ६६, सुनसरीमा ४९, म्याग्दीमा ३८, काठमाडौँमा ४३, भक्तपुरमा ३३ र ललितपुरमा १२ जना बिरामी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सूचना निकालेर डेंगुको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न भनेको छ । लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन सुझाव दिइएको छ ।

