वासिङ्टन डीसी (एपी)– अमेरिकामा एक्लोपनाको समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । अमेरिकाको सर्जन जर्नलमा प्रकाशित प्रतिवेदनअनुसार यो समस्या देशभर फैलिरहेको छ, जुन नयाँ स्वास्थ्य महामारीको स्वरूप लिँदै छ ।
एक्लोपनाले पार्ने स्वास्थ्य समस्या दैनिक एक दर्जन चुरोट सेवन गरे बराबर हुने प्रतिवेदनले जनाएको छ, जसका कारण स्वास्थ्य उद्योगले वार्षिक अर्बौं रकम गुमाउनु परिरहेको छ । डा. विवेक मूर्तिको समूहले प्रतिवेदन तयार पारेको हो । उनले अमेरिकाका आधा वयस्क नागरिकले एक्लोपना महसुस गरिरहेको पाइएको बताएका छन् ।
‘एक्लोपनाको समस्या धेरै व्यक्तिले भोगिरहेका छन् । यसलाई एक प्रकारले भोक र तिर्खा बराबर मान्न सकिन्छ । यस्तो समस्या हुँदा हामीलाई बाँच्नका लागि केही कुरा छुटिरहेको महसुस हुन्छ,’ उनले भने, ‘अमेरिकामा लाखौं व्यक्ति यो समस्याबाट गुज्रिरहेका छन् ।’ प्रतिवेदनमा एक्लोपनालाई महामारीका रूपमा घोषित गर्नुको कारण यसबारे जनचेतना वृद्धि गर्नु हो । तर, संघ सरकारले यससम्बन्धी समस्या न्यूनीकरणका लागि हालसम्म कुनै योजना सार्वजनिक गरेको भने छैन ।
जो व्यक्ति धार्मिक स्थल, सामाजिक संघसंगठन र आफ्नो परिवारका सदस्यसँग कम सम्पर्कमा छन्, उनीहरूमा यस्तो समस्या देखिएको अनुसन्धानले देखाएको छ । पछिल्लो ६० वर्षमा अमेरिकामा एकल परिवारको संख्या पनि दोब्बर भएको प्रतिवेदनमा उल्लेख छ । एक्लोपनाको समस्या कोभिड–१९ को समयमा अझ फैलियो । कोभिडकालमा विद्यालय, कार्यालय बन्द भए भने लाखौं अमेरिकीहरू परिवार र साथीसँग टाढिएर आफ्नै घरमा आइसोलेसनमा बस्नुपर्यो । कोभिड महामारीका क्रममा मानिसहरूले आफ्नो साथीको समूह कम गरे भने उनीहरूसँग बिताउने समय पनि कटौती गरे । सन् २०२० मा अमेरिकीले आफ्नो साथीसँग बिताउने समय दैनिक २० मिनेट रहेको अनुसन्धानमा देखिएको छ, जब कि दुई दशकअघिसम्म यस्तो समय प्रतिदिन करिब १ घण्टा थियो ।
एक्लोपनाको महामारी विशेषगरी १५–२४ उमेर समूहमा देखिएको छ । यो समूहले आफ्नो साथीसँग बिताउने समय ७० प्रतिशतले कम भएको प्रतिवेदनमा उल्लेख छ । एक्लोपनाले अकालमै मृत्यु हुने जोखिम ३० प्रतिशतले बढेको अनुसन्धान टोलीको दाबी छ । जसको सामाजिक सम्बन्ध निकै कमजोर छ, उसलाई हृदयाघात र मुटुसम्बन्धी रोगहरू लाग्ने जोखिम पनि छ । समूह घुलमिल नगर्ने र एक्लै बस्ने व्यक्तिमा डिप्रेसनलगायत समस्या पनि देखिन सक्ने प्रतिवेदनले जनाएको छ । जर्नलले कार्यालय, विद्यालय, प्राविधिक कम्पनी, सामाजिक संगठन, अभिभावक र अन्य सर्वसाधारणलाई यो स्थिति परिवर्तनका लागि आग्रह गरेको छ । अनुसन्धानकर्ता मूर्तिले सर्वसाधारणलाई सामाजिक समूहमा संलग्न हुन र साथीसंगीसँगको भेटघाटमा मोबाइल प्रयोग नगर्न आग्रह
गरे । यो समस्यालाई बढ्न नदिन चिकित्सकलाई पनि एक्लोपनाको जोखिमबारे प्रशिक्षण दिन आवश्यक रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने व्यक्तिमा पनि एक्लोपनाको समस्या देखिएको अनुसन्धानको निचोड छ । जो व्यक्ति दैनिक २ घण्टा वा बढी समय सामाजिक सञ्जालमा बिताउँछन्, उनीहरूमा सामाजिक सञ्जालमा दैनिक ३० मिनेटभन्दा कम समय बिताउनेको तुलनामा एक्लोपनाको समस्या बढी देखिने जोखिम छ । सामाजिक सञ्जालले एक्लोपना बढाउन मद्दत गरिरहेको मूर्तिको भनाइ छ । बालबालिकाले सामाजिक सञ्जालमा गर्ने गतिविधिको निगरानी गर्न पनि प्रतिवेदनले सुझाएको छ । ‘व्यक्ति–व्यक्तिबीचको अन्तर्क्रियाको विकल्प छैन,’ मूर्तिले भने, ‘तर एकअर्कासँग सञ्चारका लागि हामी जतिधेरै प्रविधिमा भर पर्छौं त्यति नै हामी प्रत्यक्ष अन्तर्क्रिया गुमाउँदै जान्छौं ।’
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन पियरले उक्त प्रतिवेदन मानसिक स्वास्थ्यको पहिचानको लागि राष्ट्रपति जो बाइडेन प्रशासनको एक हिस्सा भएको बताए । प्रतिवेदनमा एक्लोपनाको समस्या हटाउन सामाजिक संगठनको विस्तार, स्वयंसेवा र धार्मिक समूहलाई बढावा, पुस्तकालय, हरियाली क्षेत्रको वृद्धि गर्न सुझाव दिइएको छ । हरेक क्षेत्रलाई सामाजिक रूपमा जोड्न र व्यक्तिको सहभागितालाई बढाउन सरकार र विभिन्न निकायले ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा सुधार, प्राविधिक वातावरणको पुनःसंरचना, दया, सम्मान, सेवा र समर्पणको संस्कृतिको विस्तारमा पनि काम गर्नुपर्ने प्रतिवेदनले जनाएको छ ।
एक्लोपनाको सिकार हुँदै अमेरिकी
एक्लोपनाको सिकार हुँदै अमेरिकी
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

