काठमाडौँ — प्रदूषण बढेसँगै राजधानीमा दम र निमोनियाका बिरामीको संख्या बढ्न थालेको छ । थानकोटकी ६० वर्षीया जानुका ढुंगाना छातीमा समस्या भएर उपचारका लागि आइतबार वीर अस्पतालको इमर्जेन्सीमा पुगिन् । उनका छोरा भीमप्रसादका अनुसार जानुका दमको बिरामी हुन् ।
‘एक्कासि छाती दुख्यो र अक्सिजन कम भयो, त्यसैले उपचारका लागि आएका हौं,’ उनले भने, ‘चिकित्सकले धूवाँधूलोका कारण भएको हुन सक्ने भनेका छन् ।’
दम र निमोनिया बिग्रिनुमा प्रदूषण प्रमुख कारण भएको वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाको भनाइ छ । ‘प्रदूषणले सुगर र प्रेसर बढाउन मद्दत गर्छ,’ उनले भने, ‘मास्कले धूलोका कणबाट बचाए पनि रसायनयुक्त ग्यासबाट बचाउन सक्दैन । प्रदूषण नै कम गर्ने उपाय अपनाउनुपर्छ, यसका लागि नीति निर्माण तहमा बसेकाले ध्यान दिन जरुरी छ ।’
वीरमा दैनिक सरदर २३ सय बिरामी उपचारका लागि आउने गर्छन् । पछिल्लो समय बिरामी बढेर २५ सयसम्म पुगेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रले प्रदूषणकै कारणले बिरामी बढ्न थालेको हो वा अन्य कारणले भनेर अध्ययन भइरहेको बताए । ‘यसबारेमा सम्बन्धित विभागका चिकित्सकहरूले अध्ययन गरिरहनुभएको छ,’ उनले भने ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दैनिक ओपीडीमा सरदर २५ सय र इमर्जेन्सीमा ३ सय जना बिरामी आउने गरेका छन् । उपचारमा आउनेमध्ये धूवाँधूलोका कारण छाती र घाँटीको संक्रमण भएका बिरामी भेटिन थालेको त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा.सुवास आचार्यले बताए । त्यस्तै, कान्ति बाल अस्पतालमा दैनिक ४ सय ५० जनासम्म ओपीडीमा जँचाउन पुग्छन् । तीमध्ये करिब ६० प्रतिशत बालबालिका प्रदूषणसँग सम्बन्धित हुने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.अजित रायमाझीले बताए । ‘प्रदूषणकै कारण बालबालिकामा दम र निमोनिया हुन सक्छ,’ उनले भने, ‘बालबालिका बिरामी हुँदा सिंगो परिवारले समेत सास्ती भोग्ने गरेको छ ।’
उनका अनुसार बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । ‘प्रदूषणकै कारण बालबालिकाको स्मरण शक्तिमा समेत ह्रास आउन सक्छ,’ उनले भने, ‘खाना नरुच्ने जस्ता समस्या हुन्छ ।’ उनले प्रदूषणले गर्भमा रहेको शिशुलाई समेत असर पार्ने बताए । ‘प्रदूषणकै कारण कम तौल भएका बच्चा जन्मन सक्ने खतरा छ,’ उनले भने, ‘प्रदूषणबाट जोगिन मुस्किल छ । सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्छ ।’
प्रदूषणले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन दुई किसिमले असर गर्छ । वायु प्रदूषण बढेसँगै स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भन्दै सावधानी अपनाउन उनीहरूको आग्रह छ । प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई बढी प्रभावित पार्न सक्ने भएकाले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे पनि मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने उनीहरूको सुझाव छ । डा. ढुंगानाले प्रदूषणले एलर्जी, नाक, कान, घाँटीको संक्रमण, खोकी लाग्ने, थकान महसुस हुने, आँखालाई सुक्खा बनाउने, पोल्ने, रातो हुने जस्ता समस्या बढेको बताए । ‘लामो समयसम्म प्रदूषणमा बस्ने मानिसलाई ५० वर्ष नपुग्दै दम, श्वासप्रश्वाससम्बन्धी समस्या, बिर्सिनेजस्ता दीर्घकालीन रोग लाग्न सक्छ,’ उनले भने, ‘मुटुको रक्तधमनी ब्लक, फोक्सोको क्यान्सर, पक्षघात र मस्तिष्कघात हुने खतरा छ ।’
विज्ञहरूले प्रदूषणबाट बच्न सम्भव भएसम्म घरमै बस्न, प्रशस्त पानी पिउन, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या भएमा तत्काल चिकित्सकसँग सम्पर्क गर्न सुझाएका छन् । स्वास्थ्य मन्त्रालयले प्रदूषण कम गर्न फोहोर पदार्थ नजलाउन, वृक्षरोपण गर्न, डिजेल गाडीको कम, विद्युतीय गाडीको प्रयोग बढाउन र घरमा सुधारिएको चुलोको प्रयोग गर्न सकिने जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता समीर अधिकारीले मन्त्रालयले प्रदूषण कम गर्न अन्य मन्त्रालयसँग समन्वय गरिरहेको बताए । ‘यसबारेमा स्वास्थ्य मन्त्रालयले नीति निर्माण गर्न सक्दैन, हामीले प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रभावका बारेमा अध्ययन गरेर प्रतिवेदन मात्र तयार पार्ने हो,’ उनले भने ।

