काठमाडौं । सरकारले कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने विषयमा छलफल गरेका छन्।
गेटा मेडिकल कलेजको मोडालिटीबारे सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय–विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका हुन्।
फागुन १ गतेदेखि विकास आयोजनाको अनुगमन र निरीक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जानुअघि भएको एक छलफलमा प्रधानमन्त्री प्रचण्डले यो घोषणा गरेका हुन्।
छलफलका क्रममा प्रचण्डले विकास आयोजनाको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए।
‘मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणासमेत गरेको थिएँ,’ उनले भने, ‘गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो।’
गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायतका कामसमेत प्रचण्ड पहिलो र दोस्राेपटक प्रधानमन्त्री भएको वेला अघि बढेका थिए।
अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ । उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन् । निर्माणाधीनमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।
६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र थिए । सरकारले गेटा मेडिकल कलेजमा शिक्षण अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा ४५ करोड बजेट पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० असोज २०७९ मा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत डा. प्रमोद जोशीलाई गेटा मेडिकल कलेजको अस्पताल निर्देशकका रुपमा खटाएको छ । यद्यपि हालसम्म अस्पताल पनि सञ्चालन भएको छैन । ८ अर्ब ३३ करोडको लागतमा बनाएको गेटा मेडिकल कलेज अझै सञ्चालनमा आएको छैन ।
अत्तरिया-धनगढी जोड्ने ६ लेन सडक । छेउमै रंग रोगन गरिएका २९ वटा ठूला ठूला महल । लामो समयदेखि प्रतिक्षारत स्थानीयको मनमा प्रश्न आउँछ, अब त यहाँ मेडिकल कलेज सुरु होला कि ? कैलालीको गेटामा आर्थिक वर्ष २०७३/७४ मा ८ अर्ब ३३ करोडको लागतमा मेडिकल कलेज निर्माण गर्न थालिएको थियो । अहिलेसम्म अस्पताल, कलेज, प्रशासनिक र होस्टेल भवनको काम सकिएको छ । अन्य भौतिक निर्माण कार्य पनि लगभग अन्तिम चरणमा छ । तर सञ्चालनको कुनै सुरसार नहुँदा यो क्षेत्र गौचरन बनेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले धनगढीमै आएर मेडिकल कलेज सञ्चालनको माग गर्दै अनसन बसे । स्थानीय पनि पटकपटक आन्दोलित भए । डाक्टर केसी र स्थानीको दबावपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बेला तत्काल मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन पनि दिए । तर गत असारमा तीनजना चिकित्सकसहित निर्देशकमा डा. प्रमोद जोशीलाई नियुक्त गर्ने बाहेक कुनै काम अघि बढेन । नियुक्त गरिएका कर्मचारी पनि तलव खाएर दिन काटिरहेका छन् ।
निर्वाचनका बेला जनजीविकासँग जोडिएको मुद्दालाई चुनावी एजेन्डा बनाउने तर सत्तामा गइसकेपछि चुपचाप बस्ने नेताहरुको प्रवृत्तिले गर्दा पनि गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ भएको देखिन्छ ।

