काठमाडौं, प्रेमप्रसाद आचार्यको आत्मदाह र उनले उठाएका प्रश्नको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बिहीबार समिति गठन गरिएको छ । सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य छन् ।
आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस सम्बन्धमा सरकारले के–के गर्नुपर्ने हो भन्ने सुझाव दिन समितिलाई कार्यादेश दिइएको छ । आचार्यले उठाएका प्रश्नको विषयमा छानबिन गरी यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्को बुधबारको बैठकले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।
यसैबीच आचार्यकी श्रीमती नानुका अधिकारीले १२ व्यक्ति र संस्थाविरुद्ध दुरुसाहनमा किटानी जाहेरी दिएकी छन् । आचार्यले आत्महत्या नोटमा विभिन्न कम्पनी तथा व्यक्तिले उधारो नतिरेको तथा सामानको उचित मूल्य नदिएर सताएको भन्दै नाम किटान गरेका थिए । उनीहरूमाथि अनुसन्धान गरी कारबाही गर्न श्रीमती अधिकारीको माग छ ।
जिल्ला प्रहरी परिसर टेकुमा दिएको जाहेरीमा भनिएको छ, ‘मृतक मेरो श्रीमान्ले आत्महत्या गर्नुअघि फेसबुकमा पोस्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरीवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शंकाका आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेस गरेकी छु ।’ काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार शरीरमा आगो लगाएका आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो ।
आचार्यले आत्मदाह गर्दा छेउमा देखिएका एक व्यक्तिमाथि अनुसन्धान गर्न पनि परिवारले माग गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्ति केही इसारा गरिरहेको देखिन्छन् र लगत्तै आचार्यले शरीरमा आगो लगाउँछन् । त्यही बेला प्रधानमन्त्रीको गाडी संसद् भवनबाट बाहिरिएकाले बाटो खाली गराउन सवारीसाधनहरूलाई इसारा गरेका हुन् कि आचार्यलाई नै निर्देशित गरेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको दिन मंगलबार रेकर्ड भएका सीसीटीभी फुटेज संकलन गरिएको एक प्रहरी अधिकृतले बताएका छन् । ‘सीसीटीभी फुटेज र अन्य प्राविधिक कुराको गम्भीर अनुसन्धान भइरहेको छ,’ ती अधिकृतले भने ।
आत्मदाह छानबिन गर्न समिति
आत्मदाह छानबिन गर्न समिति
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

