बाँके — नेपालगन्जमा अस्पताल र चिकित्सकको कुनै कमी छैन । विशेषज्ञसहितको उपचार सेवा दिन सक्ने क्षमताका सरकारी र निजी अस्पताल यहाँ प्रशस्तै छन् । तर, दादुराको संक्रमणले शिशुहरूको ज्यानै जान थाल्दासमेत अभिभावकले संक्रमित बालबालिकालाई अस्पताल पुर्याएका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने शिशुको पुस १३ मा मृत्यु भयो । मृत्यु हुने शिशुको घर–छिमेकमा अरू पनि संक्रमित छन् । तर, कसैलाई पनि अहिलेसम्म अस्पताल पुर्याइएको छैन । स्वास्थ्य कार्यालय बाँके र उपमहानगरको स्वास्थ्य महाशाखाले शनिबारसम्म उपमहानगरमा दादुराका ३६ जना संक्रमित फेला पारेको जनाएको छ । तीमध्ये कसैलाई पनि उपचार गर्न अस्पताल नलगिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । ‘अस्पताल ल्याएर उपचार गराउन धेरै आग्रह गरियो । अभिभावकलाई धेरैपटक सम्झाइबुझाइ गरियो,’ उनले भने, ‘बजारमा ठूला अस्पताल छन् । तर, बिरामी घरघरै छन् । अस्पताल ल्याऊ भन्दा मान्दैनन् ।’ स्वयंसेविका परिचालन गरी घरघरै पुगेर स्वास्थ्यप्रति हेलचेक्र्याइँ नगर्न अनुरोध गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
स्वास्थ्य निकायहरूले टोलटोलमा माइकिङ गर्दै बिरामीलाई अस्पताल पुर्याउन र चिकित्सको सम्पर्कमा रही दादुराको खोप लगाउन अपिल गर्न थालेका छन् । ‘यसको औषधि हुँदैन । आफैं सन्चो हुन्छ भन्दै स्थानीयले बिरामीलाई घरमै राखेका छन्,’ सामाजिक अभियन्ता मैमुना सिद्धिकीले भनिन्, ‘यस्तो सोचका कारण दादुरा हुँदा कपूर लगाउने र फुकाउने चलन छ । यस्तो सोचाइमा परिवर्तन ल्याउन आवश्यक छ ।’ स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई तीन दिनदेखि दादुराको खोप लगाउन थालेका छन् । शुक्रबारसम्म ८ सय ७५ जनाले खोप लगाएका छन् । तीमध्ये ४ सय ४१ बालिका र ४ सय ३४ बालकले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयको १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य छ । शनिबार नेपालगन्जदेखि ८ किलोमिटर पश्चिम खजुरा गाउँपालिकाका एक बालकमा दादुराको संक्रमण देखिएको स्वास्थ्यकर्मी बताएका छन् ।
दादुराको प्रकोप सहरबाट गाउँबस्तीसम्म पुगेको छ । अवस्था जटिल देखिएपछि मुस्लिम समुदायका सामाजिक अभियन्ता प्रवेज अलीले जनचेतनाका लागि इस्लामिक धर्मगुरुको भेला बोलाउने र मस्जिदहरूमा स्वास्थ्य चेतनाबारे जानकारी दिंदै रोगविरुद्धको खोप लगाउन तकरिर (मन्तव्य) दिन लगाउने तयारीमा रहेको बताए ।
के हो दादुरा ?
नेपाललगायत दक्षिण–पूर्वी एसियामा अझै बालबालिकाको मृत्युको एउटा कारक हो– दादुरा । यस्तो गम्भीर रोगबाट छुटकारा पाउने उपाय भने गाह्रो छैन । बालबालिकालाई समयमा जम्मा दुई मात्रा खोप लगाउन सके उनीहरूलाई अकाल मृत्युबाट बचाउन सकिन्छ ।
नेपाललगायत दक्षिण–पूर्वी एसियामा अझै बालबालिकाको मृत्युको एउटा कारक हो– दादुरा । यस्तो गम्भीर रोगबाट छुटकारा पाउने उपाय भने गाह्रो छैन । बालबालिकालाई समयमा जम्मा दुई मात्रा खोप लगाउन सके उनीहरूलाई अकाल मृत्युबाट बचाउन सकिन्छ ।
दादुराका कारण वर्षेनी विश्वव्यापी रूपमा अझै १ लाख ३४ हजार २ सय बालबालिकाको मृत्यु हुने अनुमान छ । यीमध्ये ५४ हजार ५ सय बालबालिका दक्षिण–पूर्वी एसियाका हुने गरेका छन् ।
‘दादुराको खोप दुई मात्रा लगाए पनि यसको प्रभावकारिता लगभग शतप्रतिशत हुन्छ,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), दक्षिण–पूर्वी एसिया कार्यालय, फयामिली हेल्थ, जेन्डर एन्ड लाइफ कोर्सका निर्देशक डा. पेम नामग्याल भन्छन् ।
यसबाट बच्नका लागि दादुरा, रुबेला (मिजिल्स रुबेला/एमआर) खोप वा दादुरा, रुबेला मम्प्स (मिजिल्स, रुबेला मम्प्स/एमएमआर) खोप दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा खोप लगाउँदा दादुरा संक्रमणविरुद्घको क्षमता ८५ प्रतिशत र दोस्रो मात्रा लगाउँदा १०० प्रतिशतसम्म पुग्ने डा. नामग्याल बताउँछन् ।
हालै दक्षिण–पूर्वी एसियाका ११ मुलुकमध्ये भुटान र माल्दिभ्सले दादुरा रोगलाई आफ्नो देशबाट उन्मूलन गरेको बताएका छन् । नेपालले पनि सन् २०१९ सम्म यो रोगबाट छुटकारा पाउने रणनीति
लिएको छ ।
डब्लूएचओ, दक्षिण–पूर्वी एसियाकी निर्देशक डा. पुनम खेत्रपाल सिंहका अनुसार, सन् २०२० सम्म यो क्षेत्रबाट दादुरा उन्मूलनका लागि सबै राष्ट्रले बालबालिकामा दादुरा खोप लगाउने कामलाई तीव्रता दिनुपर्छ । यो क्षेत्रमा वार्षिक रूपले ४७ लाख बालबालिका दादुराविरुद्घको खोपबाट वञ्चित रहने गरेको उनी बताउँछिन् ।
बालरोग विशेषज्ञ डा. चन्द्रेश्वर महासेठ दादुराको पहिलो खोप ९ महिनामा र त्यसपछि एमआर/एमएमआर खोप १५ देखि १८ महिनामा लगाउँदा धेरै फाइदा पुग्ने बताउँछन् ।
खोप नलगाएका बालबालिकाहरू जीवनभर दादुराबाट ग्रस्त हुने सम्भावना हुन्छ । पछि रोग जटिल भई मृत्युसम्म हुन सक्छ र खोप नलगाइएका बालबालिका सधैं यसको जोखिममा हुन्छन् । खोप नलिएका गर्भवती महिलासमेत यो संक्रमणको जोखिममा हुन्छन् । यति मात्र नभई, कुनै पनि कारण वा रोग आदिले गर्दा शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकाहरू, दादुरा खोपले शरीरमा काम नगरेकाहरू
समेत सधैं यो संक्रमणको जोखिममा हुन्छन् ।
ज्वरो आउनुभन्दा एक दिन अघिदेखि नै संक्रमित व्यक्तिले रोग सार्न सक्छ । शरीरमा बिमिरा आएको पाँच दिनसम्म रोग सर्ने सम्भावना बढी हुन्छ ।
दादुराको संक्रमण भएर निको भएका व्यक्तिहरुलाई बाँकी जीवनभर यो संक्रमणले दोहोर्याएर छुँदैन ।
दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरुलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ ।
भिटामिन ए को खुराकले दादुराबाट हुने मृत्युलाई ५० प्रतिशतसम्म घटाउने देखिएको छ ।
के हो दादुरा ?
यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो रोगले सामान्यत: बालबालिकालाई बढी प्रभावित गर्छ । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो ।
डब्लूएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकालाई बढी हुने गर्छ ।
उच्च कुपोषण र पर्याप्त स्वास्थ्य स्याहारको कमी भएको जनसंख्यामा दादुरा मृत्युको १० प्रतिशतसम्म कारक हुन सक्छ ।
गर्भावस्थामा दादुराबाट संक्रमित भएका महिलाहरू यसका कारण समयपूर्व प्रसूति, गर्भपतनजस्ता जोखिममा हुन्छन् । दादुराको संक्रमण भएर निको भएका व्यक्तिहरूलाई बाँकी जीवनभर यो संक्रमणले दोहोर्याएर छुँदैन । अर्थात्, उनीहरू दादुराप्रतिरोधी हुन्छन् ।
कसरी फैलिन्छ ?
दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कण (ड्रपलेट) ले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्छन् ।
दादुरा रोगीसँगको प्रत्यक्ष सम्पर्क वा हावाका माध्यमले फैलिन्छ । रोग प्रभावित व्यक्तिको नजिक भइरहने वा खकार/थुक/सिँगानको प्रत्यक्ष सम्पर्कमा आउनेहरूलाई यो संक्रमण हुन सक्छ । दादुराको भाइरसले सास नलीलाई संक्रमित गर्छ । यसपछि सम्पूर्ण शरीरमा फैलिन्छ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माका अनुसार, ज्वरो आउनुभन्दा एक दिनअघिदेखि नै संक्रमित व्यक्तिले रोग सार्न सक्छ । शरीरमा बिमिरा आएको पाँच दिनसम्म रोग सर्ने सम्भावना सबैभन्दा बढी हुन्छ ।
लक्षण
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो । यो ज्वरोको सुरुआत दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।
दादुराले छोएपछि थकान, रुघा–खोकी हुने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यत: अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात खुट्टामा समेत देखिन थाल्छ । यस्तो बिमिरा पाँच–छ दिनपछि आफैं फोस्रिँदै जान्छ ।
दादुराले निकै सताउँदै गए फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या हुन थाल्छ । उपचार नभए अन्तत: रोगीको मृत्युसम्म हुन सक्छ ।
डब्लूएचओका अनुसार, यो संक्रमणले हुने जटिलता पाँच वर्षमुनिका बालबालिका र २० वर्ष माथिकाहरूमा देखिन्छ । अन्धोपन, इन्सेफलाइटिस (मस्तिष्क ज्वर), कडा झाडापखाला, कानको संक्रमण, निमोनिया, सास नली र फोक्सोको नलीमा संक्रमण दादुराको सबैभन्दा गम्भीर जटिलता हो । एक लाख बिरामीमध्ये करिब चार जनालाई यो रोग निको भइसके पनि केही समयपछि इन्सेफलाइटिस हुने सम्भावना रहने डा. शर्मा बताउँछन ।
उपचार
डब्लूएचओका अनुसार, दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरूलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ । राम्रो पोषण, पर्याप्त तरल पदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल (ओरल रिहाइड्रेसन साल्ट) का माध्यमले उपचार गरिन्छ । जीवनजलले पखाला र वान्ताका कारण शरीरबाट निस्किएको तरल पदार्थको परिपूर्ति गर्छ । आँखाको संक्रमण र निमोनियाको उपचार गर्न एन्टिबायोटिकसमेत दिइन्छ ।
विकासशील मुलुकमा दादुरा पहिचान गरिएका सबै बालबालिकालाई भिटामिन ‘ए’ को दुई मात्रा २४ घण्टाको फरकमा खुवाउनुपर्छ । भिटामिन ‘ए’ को खुराकले दादुराबाट हुने मृत्युलाई ५० प्रतिशतसम्म घटाउने देखिएको छ ।

