काठमाडौं । हामी मध्य पुसमा छौँ । चिसो बढ्दो छ । पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने र चिसोको उतारचढाव हुने पनि भई नै रहेको छ । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव पनि दिएका छन् ।
उनीहरू भन्छन्, ‘पश्चिमी वायुको प्रभावका कारण तराई र पहाडका केही क्षेत्रमा मौसम प्रतिकुल देखिएको छ ।’ यिनै दिनमा सितलहरको सम्भावना बढी देखिएकाले आवश्यक सावधानी अपनाउन उनीहरू आग्रहसमेत गरेका छन् । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार पश्चिमी वायुका कारण चिसो बढिरहेको छ । उनले आइतबारदेखि तीन दिनसम्म देशका अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
उप्रेती भन्छन्, ‘अबका केही दिनमा चिसो अत्यधिक बढ्ने देखिन्छ । त्यस कारण बालबालिका, वृद्ध वृद्धा, दिर्घरोगी तथा मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर निस्किनु उचित हुँदैन ।’ उप्रेतीले चिसोको बेलामा सकेसम्म मर्निङ वाकमासमेत नजान सुझाव दिएका छन् । त्यसको साटो कोठामै शारीरिक अभ्यास गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढ्ने सम्भावना हुन्छ । तापक्रम र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने र नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने विज्ञको सुझाव छ ।

