काठमाडौं) – कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन, जनशक्ति र पूर्वाधारको अभाव बेहोरेका अस्पतालहरूलाई ओमिक्रोनको खतराको घण्टीले पुनः झस्काएको छ । गत जेठको दोस्रो लहरमा अक्सिजन संकट बढी देखिएको थियो भने आईसीयू बेड पनि अभाव थियो । पहिलो लहरमा स्वास्थ्य पूर्वाधार बनिसकेका थिएनन् । महामारी नियन्त्रणका लागि स्वास्थ्य संस्थाहरू तयारीमा नै जुटे । दोस्रो लहरमा अक्सिजन र बेडको अभाव निकै बढ्यो । अमेरिका, बेलायतलगायत छिमेकी देश भारतमा संक्रमणको केस यतिबेला ह्वात्तै बढेको छ । नेपालमा पनि ओमिक्रोन भेरिएन्ट पुष्टि भइसकेकाले केही सातामै संक्रमण बढ्न सक्ने विज्ञले आकलन गरेका छन् ।
सात महिनाबीचको तयारी अवधिमा सम्भावित अर्को लहर रोक्न अस्पतालहरूले आफूलाई कति स्तरोन्नति गरे त ?
यसअघि कोभिड उपचार गर्ने ठूला अस्पतालहरूले सम्भावित अर्को लहरका लागि ‘हाई अलर्ट’ मा रहेको र सामना गर्न तयार रहेको दाबी गरेका छन् । देशभर कोभिड उपचारका लागि सरकारले ७८ वटा सरकारी स्वास्थ्य संस्था तोकेको छ । ठूला निजी अस्पतालले पनि कोभिडको उपचार गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ८ हजार २ सय २ आइसोलेसन बेड, ३ हजार ८ सय ४६ एचडीयू बेड, २ हजार ७ सय ९७ आईसीयू बेड, १ हजार ८ भेन्टिलेटर, १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर ६ सय ९३ र अक्सिजन प्लान्ट ४७ वटा तयारी अवस्थामा छन् । काठमाडौं उपत्यकामा मात्रै २ हजार ४ सय ९४ आइसोलेसन बेड, ३ सय २४ एचडीयू बेड, ४ सय ४५ आईसीयू बेड र २ सय ५४ वटा भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबारमात्रै थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि सरकारले सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरिसकेको छ । मन्त्रालयले बिरामीको उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्रीको पर्याप्त जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।
वीर अस्पतालको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठ दोस्रो लहरमा जस्तो अक्सिजन र बेडको अभाव हुन नदिन आफूहरू तयार रहेको बताउँछन् । नयाँ भवन बन्नुअघि वीरको पुरानो भवन र ट्रमा सेन्टरमा कम्तीमा २ सय ५० बेडमा मात्र कोभिडको उपचार हुँदै आएको थियो । वीरले नयाँ सर्जिकल भवनबाट २ सय ७१ कोभिड बेड सञ्चालन गरिरहेको छ । यसको क्षमता ५ सय बेड हो । यहाँ एक सय आईसीयू बेड र त्यही हाराहारीमा भेन्टिलेटर छन् । ‘अस्पतालसँग एउटा लिक्विड अक्सिजन प्लान्ट र अर्को पीएसए अक्सिजन प्लान्ट पनि छ । बिरामीको चाप थेग्न सक्छौं भन्नेमा विश्वस्त छौं,’ डा. श्रेष्ठले भने । धेरैजसो अस्पतालले पूर्वाधारमा राम्रो तयारी गरे पनि जनशक्ति अभावका बारेमा बेलैमा सोच्नुपर्ने उनी बताउँछन् ।
त्रिवि शिक्षण अस्पतालमा ३ वटा अक्सिजन प्लान्ट कोभिड आउनुअघि नै थियो । दुईवटा दोस्रो लहरपछि जडान भएका हुन् । अस्पतालले कोरोना उत्कर्षमा पुगेका बेला दैनिक चार सय संक्रमितको उपचार गरेको थियो । दोस्रो लहरमा सबैभन्दा बढी अक्सिजनको अभाव खड्किएकाले हाल अस्पतालमा ५ वटा अक्सिजन प्लान्ट तयारी अवस्थामा राखिएको कोभिड इन्चार्ज डा. सन्तकुमार दासले बताए । ‘४ सय २५ सम्म बिरामी लिने हाम्रो क्षमता थियो,’ उनले भने, ‘अब त्योभन्दा बढी हामी धान्न सक्छौं । हामीसँग लगभग ५ सय क्षमता छ, वीरको नयाँ भवनमा पनि त्यति नै क्षमता छ । हालको अध्ययनले ओमिक्रोनले फोक्सोमा धेरै असर नपर्ने देखाएकाले अक्सिजनको त्यति आवश्यकता नहोला कि ।’ दोस्रो लहरपछि बेड, मोनिटर र भेन्टिलेटर पनि थप गरेको उनले जानकारी दिए । दोस्रो लहरअघि ८८ वटासम्म आईसीयू सञ्चालन भएकामा अहिले लगभग १ सय ५० वटा तयार छन् । त्यसैगरी भेन्टिलेटरको संख्या ८० पुर्याइएको छ । यसअघि अस्पतालमा ५८ वटा भेन्टिलेटर थिए ।
दोस्रो लहरमा अस्पताल परिसरमै राखेर बिरामीलाई सेवा दिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसँग एक सय बेड क्षमता छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमले दोस्रो लहरसम्म ७० बेड सञ्चालन गर्दै आएकामा त्यसपछि बढाउँदै लगेको बताए । ‘हामीसँग पहिले लिक्विड अक्सिजन प्लान्ट मात्र थियो, दोस्रो लहरपश्चात् दैनिक १ सय सिलिन्डर उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट पनि जोडिसकेका छौं,’ उनले भने, ‘भेन्टिलेटर र जनशक्ति पनि थपेका छौं । ५ वटा क्याबिन रहेकामा दोस्रो लहरपछि १० वटा बनाइयो । ३० वटा बेडबाट ४० बनाइयो र इमर्जेन्सी पनि १० बेडबाट २५ बेडसम्म बढाइएको छ ।’ उनका अनुसार कोभिडका लागि २४ वटा आईसीयू र भेन्टिलेटर छन् । एचडीयू बेड ४० वटा छन् । २४ वटा आईसीयूलाई २८ वटासम्म बढाउन सकिने क्षमता रहेको गौतमले बताए ।
कोभिड बिरामीको उपचारमा खटिएको अर्को ठूलो अस्पताल हो पाटन । अस्पतालका निर्देशक डा. रवि शाक्यले स्वास्थ्य पूर्वाधारमा आफूहरू तयारी अवस्थामा रहेको बताए । अस्पतालले कोभिड उत्कर्षमा पुगेका बेला ३ सय बेडसम्म सञ्चालन गरेको थियो । ‘अहिले नन–कोभिडका धेरै बिरामी छन् । कोभिडका लागि १ सय १० बेड छन्, संक्रमण बढ्यो भने क्षमता पनि बढाउँछौं,’ उनले भने । पाटन अस्पतालसँग कुल ६ सय ५० बेड क्षमता छ । अस्पतालले कोभिडका लागि २१ वटा आईसीयू र १० वटा पेडियाट्रिक आईसीयू छुट्याएको छ । अस्पतालले ३ महिनाअघि मात्र अक्सिजन प्लान्ट जोडेको छ, जसले २ सय ७० वटा सिलिन्डर दैनिक उत्पादन गर्न सक्ने डा. शाक्यले बताए । पूर्वाधारसँगै जनशक्ति पनि तयार गर्दै लगेको उनको भनाइ छ ।
सिभिल अस्पतालका कोभिड युनिट फोकल पर्सन डा. विदेश विष्टका अनुसार नयाँ भवनमा ५० बेड तयारी अवस्थामा छ । पहिलाको ५० बेड गरी अस्पतालले १ सय बेड कोभिडका लागि छुट्याएको छ । ‘कोभिडको दोस्रो लहरपछि नै अक्सिजन प्लान्ट जोडिएको छ । प्लान्टले ३ सय ५० वटा अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्छ,’ डा. विष्ट भन्छन्, ‘बेड पनि थपेका छौं । हामीसँग कोभिडका लागि ७ वटा भेन्टिलेटर र १४ वटा आईसीयू बेड तयार छन् ।’
कोभिडको उपचार गर्दै आएको मेडिसिटी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले दोस्रो लहरपछि अस्पतालको सबै क्रिटिकल क्षेत्र आइसोलेटेड बनाएको बताए । ‘पहिला कोभिड वार्ड तथा आईसीयूहरूमा ‘नेगेटिभ प्रेसर रुम’ बनेको थियो भने अहिले अरू वार्डमा पनि संक्रमण फैलिन नपाओस् भनेर निर्माण गर्यौं,’ उनले भने, ‘१ सय ५० बेडसम्म कोभिडका लागि सञ्चालनमा ल्याएका थियौं, अब १ सय २० बेड थप्दै छौं ।’ पहिल्यै एउटा अक्सिजन प्लान्ट रहेको अस्पतालमा दोस्रो लहरपछि अर्को एउटा प्लान्ट जोडिएको छ ।
सानेपास्थित स्टार अस्पतालले पनि दोस्रो लहरपछि दैनिक सय अक्सिजन सिलिन्डर उत्पादन गर्ने प्लान्ट जोडिसकेको छ । अस्पतालका निर्देशक डा. शैल रूपाखेतीले दोस्रो लहरमा २० वटामात्र बेड कोभिडका लागि छुट्याएकामा ६० देखि ७० जनासम्मको उपचार गरेको बताए । ‘बिरामी बढे भने क्षमता पनि बढ्छ, अहिले नन–कोभिडका बिरामी पनि छन् । २० बेड भने कोभिडका लागि नै छुट्याएका छौं,’ उनले भने ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी दोस्रो लहरभन्दा तुलनात्मक रूपमा धेरै स्रोतसाधन भए पनि संक्रमणको गति रोक्न नसकिए त्यो चाप फेरि स्वास्थ्य संस्थामा नै पर्ने बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म रोकथाम असम्भव हुने उनको भनाइ छ । खोपको कभरेज, निगरानी तथा जनस्वास्थ्यका मापदण्ड पालना गराउनमै मन्त्रालयले केन्द्रित रहेको उनले बताए । ‘अक्सिजन प्लान्ट,
ट्यांकहरू थपिएका छन् तर संक्रमणको समाधान अस्पतालमा होइन समुदायमा खोज्नुपर्छ । स्वास्थ्यका पूर्वाधार जति थपे पनि संक्रमण रोक्न सकिएन भने भएको स्रोतसाधनले कहिले पुग्दैन,’ उनले भने, ‘समुदायमा पहिला संक्रमण कम हुनुपर्छ । त्यसको उपाय जनस्वास्थ्यका मापदण्डको पालना र खोप नै हो ।’
शनिबारसम्म कुल जनसंख्याको ४९.५ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने पूर्ण डोज लगाउने ३६.६ प्रतिशत छन् । सरकारले दैनिक ५ लाखलाई खोप लगाउने लक्ष्य राखे पनि यो पूरा हुन सकेको छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन संक्रमण बढे पनि अस्पताल भर्ना हुने दर कम हुन सक्ने बताउँछन् । ‘ओमिक्रोन बिजुली गतिमा दौडिने भए पनि यसले जटिल लक्षण नदेखाउने भएकाले अघिल्लो भेरिएन्टको तुलनामा अलि कमजोर जस्तै देखिन्छ,’ उनले भने, ‘जसले अहिलेसम्म खोप लगाएका छैनन्, उनीहरूलाई जोखिम नै छ । उनीहरूलाई जतिसक्दो चाँडो खोपको दायरामा ल्याउनुपर्छ ।’ संक्रमितको संख्याभन्दा पनि अस्पताल भर्ना हुने ट्रेन्डका आधारमा थप योजना बनाउन सकिने डा. पुनले बताए ।
माघ पहिलो सातादेखि ॅअतिरिक्त खोप’
सरकारले माघ पहिलो सातादेखि कोभिड–१९ विरुद्घको खोपको ‘अतिरिक्त मात्रा’ दिने निर्णय गरेको छ । पूर्ण डोज लगाइसकेकालाई पहिले लगाएकै खोपको अतिरिक्त मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
‘फ्रन्ट लाइनरलाई पहिलो सातादेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो सातादेखि अतिरिक्त मात्रा दिइनेछ,’ मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भने । मन्त्रालयका अनुसार हाल ९ लाखभन्दा बढी फ्रन्टलाइनर र २६ लाख २५ हजार ज्येष्ठ नागरिक छन् । मन्त्रालयले गत वर्ष तयार पारेको कोभिडविरुद्घको कार्ययोजनामा स्वास्थ्यकर्मीका अतिरिक्त कूटनीतिक नियोगका पदाधिकारी, दूतावास र संयुक्त राष्ट्रसंघका कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई फ्रन्टलाइनरमा सूचीकृत गरेको थियो । त्यतिबेला उनीहरूलाई भारतमा निर्मित कोभिसिल्ड र ज्येष्ठ नागरिकलाई भेरोसेल र कोभिसिल्ड/अक्सफोर्ड अस्ट्राजेनेका दिइएको थियो ।
मन्त्रालयका सहप्रक्ता डा. समीरकुमार अधिकारीका अनुसार थप मात्राका रूपमा पहिले लगाइएकै खोपलाई निरन्तरता दिएर कोभिसिल्ड/अक्सफोर्ड अस्ट्राजेनेका वा भेरोसेल खोप लगाइनेछ । बालबालिकाको खोप अभियान सक्नुपर्ने र खोपको दायरामा आउन बाँकीलाई समेट्नुपर्ने चुनौती बाँकी नै रहेको उनले बताए । सरकारले पुस मसान्तसम्म १२ वर्षमाथि ६६ प्रतिशत जनसंख्यालाई पूर्ण डोज लगाउने लक्ष्य राखेको छ । शनिबारसम्म कुल जनसंख्याको झन्डै आधा (४९.५ प्रतिशत) अर्थात् १ करोड ५० लाख ३७ हजार ६ सय ५५ जनाले एक डोज र ३६.६ प्रतिशत अर्थात् १ करोड ११ लाख ११ हजार ४ सय ६८ जनाले पूर्ण खोप लिएका छन् ।

