काठमाडौं – पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउँदै शिशु घर नलगेकी हुन् । उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसूति प्रक्रियामा संलग्न चिकित्सकले आफ्नो गल्ती नभएको दाबी गर्दै गुनासो भए कानुनी उपचार खोज्न साहलाई आग्रह गरेको छ ।
साहले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते भर्ना भएर शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन् । ‘हाम्रो गल्ती, असावधानीले डाउन सिन्ड्रोम भएको शिशु जन्मिएको होइन,’ साहको प्रसूतिमा संलग्न डा. निरासिंह श्रेष्ठले भनिन्, ‘उहाँलाई गुनासो भए कानुनी प्रक्रियामा जान आग्रह गर्छौं ।’
साहको पहिलो सन्तानसमेत आफ्नै चिकित्सकीय निगरानीमा काठमाडौं मेडिकल कलेज अस्पतालमा जन्मिएको डा. साहले बताइन् । दोस्रो भ्रूणको गर्भपात भएपछि तेस्रो गर्भधारण भएको ३ महिना कटाएर चौथो महिनामा आफूसँग जचाउन साह आएको उनले दाबी गरिन् । विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सामान्य रूपमा डाउन सिन्ड्रोमको स्क्रिनिङ नगराइने उनले दाबी गरिन् । पूर्वसांसद साहले डा. श्रेष्ठको क्लिनिकमा पहिले जचाउने गरेकी थिइन् । मेडिसिटीका महाप्रबन्धक विजय रिमालले शिशुमा डाउन सिन्ड्रोम हुनमा अस्पतालको कुनै दोष नभएको दाबी गरे । यसबारे बुझ्न खोज्दा पूर्वसांसद साह र उनका श्रीमान् राजेश साहसँग सम्पक हुन सकेन ।
डाउन सिन्ड्रोम एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष रीता पियाका अनुसार विदेशतिर १ हजारमा एउटा बच्चा डाउन सिन्ड्रोम भएको जन्मिन्छन् । हामीकहाँ भने ८ सयमा १ जना डाउन सिन्ड्रोम भएको बच्चा जन्मने गरेको छ । धेरै उमेर भएका आमा वा जोखिम भएकाहरूले गर्भावस्थाको पहिलोदेखि ३ महिनाभित्र डाउन सिन्ड्रोमको विभिन्न परीक्षण गराए पहिचान गर्न सकिने उनले बताइन् । डाउन सिन्ड्रोम भएको बच्चा जन्मिहाले त्यसको उपचार प्रक्रियातर्फ जानुपर्ने जनाउँदै पियाले भनिन्, ‘बच्चैदेखि स्याहार गर्यो भने पढ्न सक्छ, कुनै एउटा क्षेत्रमा अगाडि बढ्न सक्छ ।’
डाउन सिन्ड्रोम एक आनुवांशिक विकार हो । यो मानसिक र शारीरिक लक्षणको एऊटा समूह हो, जुन एक अतिरिक्त त्रोमोजोमको उपस्थितिले हुन्छ । सामान्यतया गर्भावस्थामा शिशुले आमाबाट २३ र बुबाबाट २३ गरी जम्मा ४६ वटा क्रोमोजोम प्राप्त गर्छ । डाउन सिन्ड्रोम भएको बच्चामा एउटा क्रोमोजोम बढी हुन्छ । डाउन सिन्ड्रोम भएकामा केही शारीरिक र मानसिक विशेषता हुन्छन् । यसको लक्षण हलुकादेखि लिएर गम्भीरसम्म हुन सक्छन् । सामान्यतया सबै उमेरका महिलाद्वारा डाउन सिन्ड्रोम भएको बच्चा जन्मिन सक्छ तर महिलाको आयुमा वृद्घि भएपछि यस्तो बच्चा हुने सम्भावना बढ्छ । डाउन सिन्ड्रोम भएकाहरूमा जन्मदेखि नै मुटुको रोग हुन सक्छ । उनीहरूलाई सुनाइ, आन्द्रा, आँखा, थाइराइड तथा हाडमा समस्या हुन सक्छ । यसको उपचार गर्न सकिँदैन । यो रोगमा बौद्घिक विकलांगताको स्तर परिवर्तित हुन्छ । यो सामान्यतया न्यूनतमबाट मध्यम हुन्छ ।२०७५ चैत २६ कान्तिपुर
काठमाडौं (कास)– ललितपुर प्रहरीले आइतबार पूर्वसभासद गायत्री साह र उनका श्रीमान् राजेश महतोलाई पक्राउ गरेको छ । मेडिसिटी अस्पतालले दिएको जाहेरीको आधारमा प्रहरीले साह दम्पतीलाई पक्राउ गरेको हो ।
गायत्रीले फागुन २८ गते मेडिसिटी अस्पतालमा भर्ना भई छोरा जन्माएर छाडेकी थिइन् । जन्मिएको शिशुमा डाउन सिन्ड्रोम रहेको थाहा पाएपछि अस्पतालले पूर्वसूचना नदिएको र उपचारमा लापरबाही गरेका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनुपरेको आरोप उनीहरूले लगाएका थिए ।
अस्पतालले भने त्यस्तो शिशु जन्मनुमा चिकित्सकीय लापरबाही नरहेको भन्दै चैत २१ मा बच्चालाई डिस्चार्ज गरेको थियो । डिस्चार्जपछि पनि साह दम्पतीले बच्चा लिन मानेनन् । उनीहरूले बच्चा लैजान नमानेपछि मेडिसिटी अस्पतालले ललितपुर प्रहरी परिसरमा उजुरी दिएको थियो । प्रहरीले आइतबार ४ बजेतिर साह दम्पतीलाई अस्पताल परिसरबाटै पक्रेको हो ।
डीएसपी नारायण चिमोरियाका अनुसार मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १८४ (१) अनुसार साह र महतोलाई पक्राउ गरिएको बताए । संहिताको उक्त दफामा आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने उल्लेख छ । डीएसपी चिमोरियाले उनीहरूविरुद्ध अस्पतालले उजुरी दर्ता गरेको र नाबालकको संरक्षकत्व लिन अस्वीकार गरेका कारण पक्राउ गर्नुपरेको बताए ।
३४ वर्षीया गायत्रीले यसअघि पनि गर्भमा रहेको बच्चामा डाउन सिन्ड्रोम रहेको भन्दै गर्भपतन गराएकी थिइन् । गायत्रीले बारम्बार जाँच गर्दा पनि अस्पतालले गर्भमा रहेको बच्चाको अवस्थाबारे जानकारी नदिएकाले यस्तो बच्चा जन्मिएको आरोप लगाएकी छन् ।
अस्पतालको संरक्षणमा शिशु
– कान्तिपुर संवाददाता
काठमाडौं (कास)– शिशुलाई अस्पतालमा बेवारिसे छोडेको आरोपमा पूर्व सभासद् गायत्री साह र उनका श्रीमान् राजेश महतो पक्राउ परेपछि शिशु अस्पतालको संरक्षणमा राखिएको छ । जिम्मा लिने कोही नभएपछि शिशुलाई ललितपुरको मेडिसीटी अस्पतालले आफ्नै संरक्षणमा राखेको हो । अस्पतालका महाप्रबन्धक विजय रिमालका अनुसार शिशु स्याहारका लागि चार नर्स छ्ट्युाएको छ । उनले भने, ‘बच्चालाई दुध खुवाउने,सुताउने सबै जिम्मा उनीहरूलाई दिएका छौं ।’
शिशुको अवस्था सामान्य भएकाले घर लैजान सकिने बताउँदै उनले भने, ‘हामीले पहिले नै डिस्चार्ज पेपर बनाएर परिवारलाई दिएका थियौं, दम्पतीले भने बच्चा लिन मानेनन् र छोडेर हिँडे ।’ दम्पतीले शिशु छोडेर गएपछि अस्पताल जिल्ला प्रशासन कार्यालय, केन्द्रीय बालकल्याण समितिजस्ता निकायमा उजुरी दिएका थिए । सञ्चारमाध्यममा शिशु छोडेर भागेका समाचार आउन थालेपछि भने सभासद् शाह केही दिन अस्पताल आएर शिशु हेर्न थालेकी उनले बताए । रिमालले भने, ‘बच्चा डाउन सिन्ड्रोम अवस्थाको जन्मिनुमा अस्पताललाई दोषी देखाएर क्षतिपूर्तिबापत् मोटो रकम मागेका थिए, हामीले पैसा दिन नमानेपछि उनीहरू बच्चा लिन आएनन् ।’ आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरी थुनामा राखेको छ । दम्पतीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दम्पतीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १८४ को व्यवस्था अनुसार मुद्दा दायर गरेको छ । अदालतको निर्णय नआएसम्म शिशुलाई अस्पतालकै संरक्षणमा राखिने रिमालले बताए ।

