आन्दोलनको प्रभावकारिताका लागि कार्यकर्ताको मागअनुसार हामी दुई जना अन्य जिल्लामा गएका हौं
– अखण्ड भण्डारी,अमन कोइराला
सर्लाही– राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ मध्ये ३ जना सर्लाहीकै छन् । पहिलाका अलग–अलग दलका यी प्रमुखहरू यही जिल्लाबाट चुनाव लड्थे । पार्टी एकीकरणपछिको पहिलो चुनावमा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो भने जिल्ला छाडेर अन्यत्रै गएका छन् । किन ?
‘यो मधेस आन्दोलनको माग हो,’ धनुषा ३ बाट उठेका महतोले भने, ‘मधेस आन्दोलन कुनै एक जिल्लामा होइन, सिंगै मधेसमा फैलिएको छ । त्यसैले आन्दोलनको प्रभावकारिताका लागि कार्यकर्ताको मागअनुसार हामी दुई जना अन्य जिल्लामा गएका हौं । मेरो भागमा धनुषा पर्यो, ठाकुरजीको महोत्तरी ।’
जिल्लाका राजनीतिक विश्लेषकहरू भने सर्लाहीको राजनीतिक अवस्था अलि असहज भएपछि उनीहरूले जिल्ला छाड्नुपरेको टिप्पणी गर्छन् । ठाकुर २०६४ र ०७० का संविधानसभा चुनावमा सर्लाहीको तत्कालीन ६ नम्बर क्षेत्रबाट उठेर पराजित भएका थिए । पहिलोपल्ट तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपूजन रायले र दोस्रोपल्ट कांग्रेसका अमेरशकुमार सिंहले उनलाई हराएका थिए । उनलाई पालैपालो हराउने शिवपूजन र अमरेश दुवै सर्लाही ४ बाट क्रमश: माओवादी केन्द्र र कांग्रेसका उम्मेदवार छन् । सर्लाहीलाई ६ बाट ४ क्षेत्रमा खुम्च्याइएको छ । उनको क्षेत्र ४ नम्बरमा आइपुगेको छ ।
शिवपूजन फोरमबाट राजपा हुँदै माओवादीमा पुगेका छन् । मधेसी दलको पृष्ठभूमि र वाम गठबन्धनको वर्तमान मतका कारण उनी ठाकुरका लागि चुनौतीपूर्ण थिए । अर्कातिर अघिल्लोपालि जितेका अमरेश पनि कमजोर मानिँदैनन् । दुवैको चेपुवामा मधेसवादी भद्र नेता ठाकुर पर्ने डर थियो । जिल्लाका अन्य ३ क्षेत्र उनका लागि बाह्य जिल्लाजत्तिकै नयाँ मानिन्छन् । उनको बहिर्गमनको प्रमुख कारण यसैलाई मानिएको छ ।
राजपाका संयोजक, मधेस आन्दोलनका नेतृत्वकर्ता, प्रतिष्ठित राजनीतिकर्मी, स्वच्छ छविका व्यक्तित्व, राजनीतिक निष्ठावान नेता भएकाले पनि संसद्मा पुर्याउने आवश्यकता महसुस गरी सुरक्षित थलो खोजिएको विश्लेषण गर्ने पनि छन् ।
बहुदल आएपछि २०४८ को चुनावमा तत्कालीन क्षेत्र ५ बाट पहिलो चुनावमै ठाकुरले जिते । २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा पनि लगातार जितेका ठाकुर त्यस बेलासम्म कांग्रेसमा थिए ।
०६४ को पहिलो संविधानसभा चुनावअघि उनले आफ्नै अध्यक्षतामा कांग्रेस छाडेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे । सोही पार्टीबाट चौथो पटक चुनाव लडेका उनी पराजित भए । ०७० को चुनाव पनि हारे । त्यसमा कांग्रेसका सिंहले जिते भने शिवपूजन निकटतम प्रतिस्पर्धी बने । ठाकुर तेस्रो स्थानमा झरे । यसपालि ठाकुर महोत्तरी ३ मा चुनाव लड्न गएपछि राजपाले सर्लाही ४ मा राकेश मिश्रलाई टिकट दिएको छ ।
महतोले भने सर्लाही ४ बाट उठ्ने अन्तिम घडीसम्म पहल नगरेका होइनन् । कांग्रेस र राजपा–फोरम तालमेलको वार्ताका क्रममा उनले उक्त क्षेत्र आफूले पाउनुपर्ने अडान राखेका थिए । कांग्रेसका सिंहले छाड्न नमानेपछि राजपा छाडेर माओवादी गएका शिवपूजनलाई मिलाउने प्रयाससमेत गरे ।
‘महतोले आफू क्षेत्र ४ बाट प्रतिनिधिसभा उठ्ने भन्दै मलाई राजपामै फर्किएर प्रदेशमा उठ्न आग्रह गर्नुभयो । मैले मानिनँ । भर्खर माओवादी प्रवेश गरेको र सोही दलबाट प्रतिनिधिसभामा उठ्छु भनें,’ शिवपुजनले सुनाए, ‘तपाईंलाई सबैखाले सहयोग हुन्छसम्म भन्नुभएको थियो । मैले मानेको भए सायद उहाँ यहींबाट उठ्नु हुन्थ्यो ।’ दुवै अस्त्र असफल भएपछि महतो मनोनयनको अघिल्लो साँझ धनुषामा गई कांग्रेस नेता निधिसँग भिड्ने निर्णयमा पुगेका थिए । र, मनोनयन दर्ता गर्न रातारात गाडीमा जनकपुरतर्फ लागेका थिए ।
०४८ मा गजेन्द्रनारायण सिंहसँग प्रभावित भई महतो मधेसको राजनीतिमा आएका थिए । ०५६ को चुनावमा तत्कालीन क्षेत्र २ बाट चुनाव जितेपछि उनको राजनीतिक उचाइ सुरु भयो । त्यसयता उनी राष्ट्रिय राजनीतिमा चर्चित छन् । पार्टी फुटाएर सद्भावना पार्टी गठन गरी आफैं अध्यक्ष बने ।
पहिलो संविधानसभा चुनावमा तत्कालीन क्षेत्र ४ बाट चुनाव जितेका महतो मधेसको पक्षमा कडा रूपमा प्रस्तुत हुने नेताका रूपमा चिनिए । संयुक्त सरकारमा आपूर्ति तथा वाणिज्य र स्वास्थ्यमन्त्री बनिसकेका उनी ०७० को चुनावमा भने हाल राजपा अध्यक्ष मण्डलकै अर्का नेता महेन्द्रराय यादवसँग चुनाव हारे । यसपालि राय सर्लाही २ मा राजपाबाट उम्मेदवार छन् ।
महतोको घर हालको क्षेत्र १ मा पर्छ । बाक्लै पहाडी मतदाता भएको उक्त क्षेत्रको प्रदेश (क) बाट उनका भतिजा उपेन्द्र उम्मेदवार छन् । उनका दाजु महेन्द्र पनि सोही क्षेत्रमा पर्ने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष छन् । एकै परिवारका धेरै सदस्य एकै ठाउँबाट अलग पदमा अघि सर्दा नकारात्मक प्रभाव पर्न सक्छ भन्ने डर थियो । क्षेत्र २ राजपा अध्यक्ष मण्डलका यादवको भागमा पर्छ । क्षेत्र ३ गठबन्धनमा फोरमको भागमा पर्यो । क्षेत्र ४ मा राजनीतिक गणित मिलाउन सकेनन् । त्यही भएर जिल्लै छाडेको पार्टीकै नेताहरू बताउँछन् ।
महतोले भने तीन जना अध्यक्ष सर्लाहीमा मात्र लडदा कार्यकर्तामा गलत सन्देश जाने र मधेस आन्दोलनको मर्म खुम्चिने डर हुने भएकाले पार्टीले दुई नेताको जिल्ला सारेको सुनाए । ‘तीन अध्यक्ष लस्करै उम्मेदवार हुँदा पक्कै सन्देश राम्रो जाँदैन,’ उनले भने, ‘मधेसको रक्षा, सुरक्षा, विकास, शासन, प्रशासन सबै अब मधेसी दलको हातमा आउनेवाला छ । त्यसका लागि यो एउटा रणनीतिक फड्कोसमेत हो ।’
आफू धनुषा जानुको कारण भने त्यति मात्र नरहेको उनले बताए । ‘मधेस प्रदेशको राजधानी जनकपुर हुँदैछ । मधेस आन्दोलनको केन्द्र पनि यही हो । त्यसैले यसलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं,’ उनको भनाइ छ, ‘राजधानी मधेसवादी दलले नै जित्नुपर्छ भनेर म यता आएको हुँ ।’
उनले संविधान संशोधनसम्म कांग्रेस आइपुगे पनि उसकै गल्तीले मधेसी जनताले नरुचाउने संविधान बनेको आरोप लगाए । ‘कांग्रेसका मधेसका नेता (विमलेन्द्र निधि, जसको महतोसँग प्रतिस्पर्धा छ) कै कारण गलत संविधान बनेको हो,’ उनले टिप्पणी गरे, ‘संशोधन गर्न तयार हुनु नै रहेछ, पहिल्यै यत्तिको बनाएको भए भइहाल्थ्यो नि ।’ उनले निधिलाई हराउनसमेत आफू धनुषा जानु परेको आशय व्यक्त गरे । राजपा सर्लाहीका संयोजक कौशलकिशोर यादवले पनि अध्यक्ष मण्डलका केन्द्रीय नेता एउटै जिल्लाबाट उठदा राम्रो सन्देश नजाने भएकाले दुई जना अन्यत्र गएको बताए । ‘महोत्तरी र धनुषाका जनताले माग गरेर ठाकुर र महतो जानुभएको हो,’ उनले भने, ‘चुनाव नजित्ने अवस्था आएपछि अन्यत्र गएको भन्ने कुरा झूटा हो ।’
सर्लाहीका नागरिक अगुवा उग्रकान्त झाको अनुमानमा ठाकुरको घर महोत्तरी भएकाले उनी गृहजिल्ला फर्किएका हुन सक्छन् । ठाकुरकै क्षेत्रमा कांग्रेसका अमरेश सिंह उठेका र दुवैले चुनाव जित्नुपर्ने भएकाले ठाकुर महोत्तरी गएको उनको ठम्याइ छ । ‘महतो आफूलाई मधेसको नेता ठान्छन्, जहाँ गएर पनि चुनाव लड्न सक्छु भनेर धनुषा गए । स्थानीय चुनावमा धनुषामा ल्याएको मतले पनि चुनाव जित्ने सम्भावना देखेर गएका हुन सक्छन्,’ उनले भने, ‘विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गर्नुचाहिँ उनको गल्ती हो । निधि र महतो दुवै जित्नुपर्ने व्यक्ति हुन् ।’ 26 07-2074

