काठमाडौँ, स्वास्थ्य विज्ञहरूले मुलुकमा डेंगी संक्रमण अझै एक महिनासम्म देखिन सक्ने बताएका छन् । विभिन्न भागमा भएको वर्षाले गर्दा संक्रमणको अवस्था लम्बिन सक्ने उनीहरूको अनुमान छ । छिमेकी भारतको बिहारमा डेंगीको केस बढेकाले सीमावर्ती मधेसका जिल्लामा संक्रमण वृद्धि हुन सक्ने विज्ञ बताउँछन्
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले पछिल्लो पटक भएको वर्षाले केस बढ्न सक्ने बताए । ‘पहाडी जिल्लामा संक्रमण घटेको देखिए पनि मधेसमा ठ्याक्कै दसैं सकिएलगत्तै बढेको छ,’ उनले भने, ‘यो अवस्था एक महिनासम्म लम्बिन सक्छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि मुलुकमा डेंगी संक्रमण अझै ५ सातासम्म देखिन सक्ने बताए ।
‘उपत्यकासहित देशका विभिन्न भागमा पानी परेकाले लामखुट्टेको लार्भा, प्युपा, फुल एक महिनासम्म बाँच्न सक्ने अवस्था बनेको छ,’ उनले भने, ‘पाँच सातासम्म विभिन्न स्थानको दैनिक औसत तापक्रम १६ डिग्रीभन्दा माथि नै रहन्छ, त्यसैले कात्तिक मसान्तसम्म केस देखिने सम्भावना छ ।’ हालसम्म ७७ वटै जिल्लामा देखिएको डेंगीबाट ४४ जनाको ज्यान गइसकेको छ भने ३३ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको सरकारी तथ्यांक छ । वास्तविक संक्रमितको संख्या योभन्दा ४/५ गुणा बढी हुन सक्ने ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुर बताउँछन् । जाडोमा डेंगी संक्रमण हट्ने सरकारी बुझाइका कारण पनि ‘इन्डेमिक’ (खास क्षेत्रमा देखा पर्ने रोग) को जोखिम हुन सक्ने उनको भनाइ छ । डा. दाहाल पनि सामान्य समस्या देखिएका जाँच गराउन नआउने भएकाले वास्तविक संक्रमितको संख्या झन् बढी हुन सक्ने बताउँछन् ।
कुल संक्रमितको करिब ८५.८० प्रतिशत केस ७ जिल्लामा देखिएको छ । यी जिल्लामा मात्रै २९ हजार १ सय ५२ जना संक्रमित छन् । सबैभन्दा धेरै काठमाडौंमा ११ हजार १ सय ६३, ललितपुरमा ८ हजार १५, मकवानपुरमा ३ हजार २ सय ८७, दाङमा १ हजार ७ सय ८४, भक्तपुरमा १ हजार ४ सय, चितवनमा १ हजार १ सय ५५, रूपन्देहीमा ८ सय ४३, धादिङमा ६ सय ३०, सुर्खेतमा ४ सय ५९ र कैलालीमा ४ सय १६ जनामा संक्रमण देखिएको छ । मुलुकभर देखिएको संक्रमणमध्ये ७७.७० प्रतिशत वाग्मती प्रदेशमा देखिएको हो । यस्तै, उपत्यकामा मात्रै यो प्रतिशत ६०.५६ छ । काठमाडौंमा ३२.८५ र ललितपुरमा २३.५९ प्रतिशत संक्रमित छन् ।
मनाङमा ८, मुगुमा ८, ताप्लेजुङमा ७, रसुवामा ६ र मुस्ताङ, डोल्पा र हुम्लामा दुई/दुई जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक सबैभन्दा बढी संक्रमण सन् २०१९ मा देखिएको थियो । त्यसबेला १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिनुका साथै ६ जनाको मृत्यु भएको थियो ।

