काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकको समथल भू भागको रुपमा परिचित तराई क्षेत्रमा औलो (मलेरिया) फैलाउने लामखुट्टे मार्न अमेरिकाले विषादी डिडिटी छर्के पछि सखाप भएको र बस्न योग्य हुन पुगेको बताएका छन् ।
शनिवारदेखि शुरु भएको कान्तिपुर कनक्लेभ-२०२२ मा बोल्दै डा. वाग्लेले नेपालको लामखुट्टे विशेष खालको भएको बताए । ‘अमेरिकाले आएर डीडीटि छर्दियो । नेपालको लामखुट्टे फेरि विशेष खालको रहेछ । पूर्वी एशियाको लामखुट्टे बाहिर बस्दो रहेछ । छरेर मार्न पनि गाह्रो,’ उनले भने, ‘नेपाल लगायत दक्षिण एशियाको लामखुट्टे भित्र खाने र भित्र भित्तामा गएर टाँसिने रहेछ । यो खालको विशेष चरित्र भएकोले छरेर सखाप भएको हो ।’
लामखुट्टेको चरित्रले डीडीटी छर्नु परेको उनले बताए । ‘लामखुट्टेको चरित्रले गर्दा डीडीटि छरियो । सखाप पारियो । मलेरिया आउट भयो । मास माइग्रेशन भयो,’ डा. वाग्लेले थपे,‘ आज झण्डै ५२ ÷५३ प्रतिशत जनसंख्या समथरमा झरिसकेको छ । यसले भू बनोट नै परिवर्तन भएको छ । मान्छे अवसरको खोजिमा छन्,’गोरखाका बासिन्दाहरु चितवन झरेको उदाहरण दिंदै उनले भने,‘कठिनाई (हार्डसिप)बाट भागेका हौं, हामी ।’

