काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गर्नुभएको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका हुन्। उनले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै आफू अगाडि बढ्ने बताए।
निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरुबाट ७० थरी बाड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाड्न थालिएको मन्त्रीले खतिवडाले बताए। उनले स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिए।
उनले भने, ‘स्वास्थ्य बीमामा कम्पनी लेखि सकिएको भन्ने कुराहरु आयो। त्यसको जिम्मा कसले लिन्छ भनेर त्यसमा मंसिरसम्म यही हुन्छौं होला? अर्थमन्त्रीको नियतमा भोली संसदमा उभिनुहुन्छ सोध्नु होला। म लागू गर्दिनँ। अहिले स्वास्थ्य ऐनले जे भनेको छ। त्यो उदेश्यले गरिएको हो। त्यही अन्तर्गत जान्छु। अर्थमन्त्रीले होइन भनिसक्नु भयो। यो मैले भनेको कुरा झुटो प्रमाणित भयो भने मंसिरसम्म हामी यहि हुन्छौं। त्यो बेलामा फेरि सोध्नु होला। निःशुल्क औषधि स्वास्थ्य केन्द्रहरुबाट ७० थरी बाड्ने गरिएको थियो। अहिले ९८ थरिका औषधि बाड्न थालिएको छ। स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको छ।’

