काठमाडौं : राम्रो काम गर्यो भने मतदाताका नजरमा सधैं राम्रै हुन पाइन्छ भन्ने उदाहरण हेर्ने हो भने भक्तपुर नगर जानुुहोस्। यहाँ पञ्चायतकालदेखि नै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) वा त्यसका समर्थकले एकछत्र जित्दै आएका छन्। यसपालि त झन् यति ठूलो मतान्तरले सबै पद जितेको छ कि, अन्य दलका उम्मेदवारले जमानतै जोगाउन सकेनन्।
आखिर किन लोकप्रिय छ नेमकिपा भक्तपुरमा ? यहाँका नागरिकले किन नेमकिपा बाहेकका पार्टीलाई विश्वासै गर्दैनन् ? अन्य दलका नेताहरूसमेत भन्छन्, ‘शिक्षा, स्वास्थ्य र विकासमा यहाँ नेमकिपाले नमुना काम गरेको छ।’ त्यही कारण साढे चारदशकदेखि मतदाताले यसलाई पत्याएका छन् र मतदाताको मन पनि उम्मेदवारले जितेका छन्। यहाँ अन्य दललाई टाउको उठाउनै हम्मे छ। यो चुनावमा भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन्। उनीहरूको यो दोस्रो कार्यकाल हो।
मेयर पदमा पुनः उठेका उम्मेदवार प्रजापतिले २९ हजार २ सय ५२ मत पाए। उपमेयरमा जोशीले २९ हजार ७ सय ५९ मत पाइन्। अन्य दलका उम्मेदवारलाई लामो मत अन्तरले हराउन दुवै उम्मेदवार सफल बने। मेयरमा प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसले रामप्रसाद कासुलालाई उठायो। तर, उनले ३ हजार ४ सय ७ मत मात्रै पाए, जमानत गुमाए।
नेकपा एमालेका रवीन्द्र लाछिमस्युले पनि नेमकिपासँग मत अन्तर कम पार्न सकेनन्। उनले २ हजार ८ सय ४१ मत मात्रै पाए र जमानत गुमाए। उपमेयरमा पनि मत अन्तर लामै रह्यो। नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ९ सय ८८ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७ सय ७८ पाए। नेकपा एमालेबाट मेयरका उम्मेदवार रवीन्द्र लाछिमस्यु भन्छन्, ‘नेपाल मजदुर किसान पार्टी २०१९ सालदेखिको संगठित भएको हो। २०३४ सालदेखि निरन्तर जित्दै आएको छ। अहिलेसम्म अन्य कुनैले यहाँ जितेको रेकर्ड छैन।’ उनी यस क्षेत्रमा शिक्षा र स्वास्थ्यमा नेमकिपाले राम्रो काम गरेको स्विकार गर्छन्।
नेपाली कांग्रेसका उम्मेदवार राम कासुला भने नेपाल मजदुर किसान पार्टीले अघोषित बुथ कब्जा गरेको आरोप लगाउँछन्। अन्य पार्टीले खुला प्रतिस्पर्धा गर्न नपाएको उनको गुनासो छ। ‘४ दशकबाट नेपाल मजदुर किसान पार्टीले जित्दै आएको छ। यो अघोषित बुथ कब्जा हो। अरूलाई पस्न दिँदैनन्’, उनले भने।
नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईंको तर्क भने फरक छ। जनताको बीचमा निस्वार्थ भावनाले काम गर्दाको परिणाम भएको उनी बताउँछन्। ‘नेपाल मजदुर किसान पार्टीले उनीहरूको सुःख दुःखमा साथ दिँदै आएको छ। तल्लो वर्गका जनताको जीवनसँग जोडिएको किसानको पक्षमा काम गरेको छ,’ उनले भने।
उनका अनुसार यो पार्टीले सबैको भावना अनुरूप काम गरेकै कारण नागरिकले मतदान गरेका हुन्। ‘जे गर्यो इमान्दारीपूर्वक गर्यो। शिक्षा स्वाथ्य जनताको पहुँचमा छ। विकास निर्माणमा मात्र सीमित नभई जनताको हरेक भावनाअनुसार काम गरी मन मुटुमा बस्न सफल भएको छ,’ उनले भने।
‘काम गरेरै मन जितेका छौं ’
सुनिल प्रजापति नवनिर्वाचित मेयर,भक्तपुर नगरपालिका
नेपाल मजदुर किसान पार्टीले यहाँका जनताको मर्म बुझेको छ। हामीले जनताका लागि काम गर्ने हो र अहिलेसम्म काम गरेरै उहाँहरूको मन जितेका छौं। घोषणापत्र हेरेर जनताले मत दिएका छन्। हामीले पनि सबै प्रतिबद्धता पूरा गरेका छौं। जतिसुकै दुःख, कष्ट सहेर पनि इमान्दार र पारदर्शी काम गरेका छौं। धेरै काम भएका छन् र अब समयअनुकूल त्यसलाई अझै परिमार्जित गर्दै लैजाने पक्षमा छौं। शिक्षा र स्वाथ्य सर्वसाधारण जनताको पहुँचमा पुर्याएका छौं। गरिबलाई शैक्षिक ऋण दिएका छौं। यहाँ ७ हजार विद्यार्थी उच्च शिक्षा पढ्छन्। उच्च शिक्षा हासिल गर्न नगरपालिकाले पैसा तिरेको छ।
नगरपालिकाको कलेजमा ३ करोड छात्रवृत्ति दिइएको छ। अस्पताल बनाएका छौं। सस्तोमा सेवा दिएका छौं। अस्पतालमा ५० रुपैयाँमा सेवा दिएका छांै। सबै वडामै आयुर्वेदिक निःशुल्क उपचार उपलब्ध छ। श्वास–प्रश्वास केन्द्रमा सय रुपैयाँ तिरेपछि सम्पूर्ण रोग सस्तोमा उपचार भएको छ। विकास निर्माणका काममा हामी सचेत छौं।
सांस्कृतिक र पर्यटकीय ऐतिहासिक जिल्लाको रूपमा हामीले नगरलाई चिनाएका छौं। पोखरीहरूको संरक्षण गर्ने मात्रै होइन, अतिक्रमण भएकालाई फर्काउने काम पनि गरेका छौं। हामीले कला, साहित्य, संकार र संस्कृतिको राजधानी नै बनाएका छौं। त्यसैले नागरिकले अन्य पार्टीलाई किन छान्ने र ?
के भन्छन्,भक्तपुर नगरका मतदाता ?
ठूला भनिएका राजनीतिक दलको पकड धेरै स्थानीय तहमा छ। जित हार पनि उनीहरू जता ढल्कियो प्रायः त्यतै हुन्छ। तर, भक्तपुर नगरपालिकाको अवस्था त्योभन्दा फरक छ। यहाँ नागरिकले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेकका पार्टीलाई विश्वास गर्दैनन्। लामो समयदेखि यहाँ नेमकिपाकै वर्चश्व छ।
शिक्षा, स्वास्थ्य र विकासमा स्थानीयको चाहना नेमकिपाकै उम्मेदवारले बुझ्ने भएकाले उनीहरूलाई नै जिताउनु राम्रो हुने तर्क मतदाताको छ। भक्तपुरका केही मतदाताको विचार।
रत्नप्रसाद प्रजापति मतदाता, वडा नम्बर ९
अन्य राजनीतिक पार्टीलाई ठूला पार्टीका नेताले मागी खाने भाँडो बनाए। उनीहरूमा पैसा कमाउने सोच मात्रै छ। तर, मजदुर किसान पार्टीले भने जनताको सेवा गरेको छ। मतदाता यो पार्टीको पक्षमा छन् त्यसैले अत्याधिक बहुमतले जितेको हो। यो पार्टीको कामबाट हामी खुसी छौं ।
दीपेन्द्र प्रजापति मतदाता, बालविकास केन्द्र शाखा प्रमुख
यसअघि पनि जितेपछि राम्रो काम भएको थियो। शिक्षा, स्वाथ्य र सम्पदा संरक्षणमा धेरै काम भए। कोभिडको समयमा पनि नागरिकलाई जनप्रतिनिधिको साथ भयो। घर–घरमा पुगेर सहयोग गरे। विकास निर्माणका काममा ठेक्कापट्टा कहिल्यै गर्दैनन्। जनताको सहभागितामा काम हुन्छ। त्यसैले नागरिकको भोट पाउँछन्।
चन्द्रेश्वरी याकामी मतदाता ,वडा नम्बर ६
जनताको चाहनाअनुसार उनीहरूको मर्म बुझेर काम राम्रो गरेको भएरै भोट दिएका छांै। यहाँका बालबालिकालाई सस्तोमा पढाएको छ। स्वाथ्य क्षेत्रमा राम्रो काम भएको छ। अन्य राजनीतिक दलका नेता त राम्रोसँग बोल्दैनन् पनि अनि के काम गर्छन् ?

