काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः फैलन थालेपछि चीनका अधिकांश सहरमा प्रतिबन्धहरू जारी गरिएको छ । राजधानी बेइजिङका स्थानीयले अब सार्वजनिक स्थानमा प्रवेश पाउनका लागि संक्रमण नरहेको प्रमाण देखाउनुपर्ने भएको छ ।
अधिकारीहरूले बेइजिङका अधिकांश बासिन्दालाई कोभिड परीक्षण गर्न आदेश जारी गरेका छन् । पुनः लकडाउन हुने त्रास फैलिएपछि मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन् । यसअघि कोरोना भाइरसको संक्रमण नियन्त्रणका चीनले विश्वमै कडा नियम लागू गरेको थियो ।
पछिल्लो अवस्थासँगै सरकारले अझै कडा नीति लागू गर्न सक्ने भन्दै स्थानीयमा त्रास फैलिएको छ । हाल दसौं लाख मानिसहरू
आंशिक वा पूर्ण लकडाउनको अवस्थामा बाँचिरहेका बीबीसीले जनाएको छ । हाल चीनका ४६ सहर पूर्ण वा आंशिक लकडाउनको अवस्थामा छन् ।
बेइजिङको सबैभन्दा धेरै जनसंख्या भएको चाओयाङ क्षेत्रमा सोमबारदेखि नै व्यापक रूपमा परीक्षण सुरु गरिएको छ । परीक्षण अभियान हाल कम्तीमा १२ वटा क्षेत्रमा विस्तार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बेइजिङको जनसंख्या २ करोड १० लाख छ । अप्रिल २२ यता बेइजिङमा कम्तीमा २ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १ सय २३ जना संक्रमित भेटिएको चाओयाङमा तीन चरणमा परीक्षण गरिने जनाइएको छ ।
अधिकारीहरूले बेइजिङको संक्रमणको अवस्था नियन्त्रणमै रहेको र सहरमा लकडाउनको तयारी नभएको बताएका छन् । संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिएको र नयाँ संक्रमण नियन्त्रणमा ल्याइएको उनीहरूको दाबी छ । त्यस्तै, २ करोड ५० लाख जनसंख्या रहेको सांघाई सहर एक महिनादेखि नै लकडाउनमा छ । त्यहाँ अत्यावश्यक सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको जनाइएको छ । मानिसहरू घरभित्रै सीमित भएका र पानीको अभाव देखिएको बीबीसीले जनाएको छ । सरकारले उपलब्ध गराउने तरकारी, मासु र अण्डाका लागि निकै लामो समय पर्खनुपरेको स्थानीयको गुनासो छ ।
सांघाईमा मार्च महिनामा संक्रमण फैलन थालेको हो । त्यसयता ५ लाख जनामा कोरोना पुष्टि भइसकेको छ । तीमध्येका १० हजार वृद्धवृद्धा निकै समस्यामा परेका जनाइएको छ । खाद्यान्न किनमेल गर्ने क्रममा कतिपय स्थानमा लुटपाट भएका जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा खानेकुरा लिन स्थानीयले सुरक्षाकर्मीसँग संघर्ष गरिरहेका देखिन्छन् ।
पछिल्लो समय सांघाईमा दैनिक संक्रमण दर घटे पनि समग्र अवस्था निरन्तर उच्च छ । सांघाईमा मंगलबार संक्रमणका कारण ५२ जनाको मृत्यु भएको थियो । १६ हजार नयाँ संक्रमित थपिएको जनाइएको छ । चीनले ‘शून्य कोभिड’ नीति अवलम्बन गर्दै आएको छ । यसका लागि चीनले परीक्षण, पहिचान, आइसोलेसन, लकडाउन र खोपको उपया अवलम्बन गरिरहेको हो । महामारीको सुरुवाती चरणमा यो नीतिले प्रभावकारी रूपमा काम गरेको भए पनि पछिल्लो समय देखिएका डेल्टाजस्ता संक्रामक भेरिएन्टका कारण अवस्था बिग्रेको ठानिएको छ ।
चीनमा फैलँदै कोरोना
चीनमा फैलँदै कोरोना
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

