काठमाडौं– उपत्यकामा २८ प्रतिशत यात्रुले सार्वजनिक यातायात प्रयोग गर्ने तथ्य एक अध्ययनले औंल्याएको छ । घरायसी कामले होस् वा कार्यालय, बस, मिनिबस, माइक्रोबस, टेम्पो, टयाक्सीजस्ता सार्वजनिक यातायातका साधन प्रयोग गर्नेको संख्या उल्लेख्य पाइएको हो । काठमाडौं दिगो सहरी यातायात आयोजनाका अनुसार उपत्यकामा रहेका करिब २४ लाख यात्रुले दैनिक ३४ लाखपटक सडक यात्रा गर्छन्, जसमध्ये ४२ प्रतिशतले पैदलयात्रा, २६ प्रतिशतले मोटरसाइकल र ४ प्रतिशतले कारमा यात्रा गर्छन् ।
नगर क्षेत्रका करिब ५० प्रतिशत मानिसले यातायात प्रयोग गर्ने गरेको पाइएको छ । नगरक्षेत्रभित्रका ५१ प्रतिशतभन्दा बढी मानिसले दैनिक सवारीसाधनबाट ओहोरदोहोर गर्छन् । यसरी नगरक्षेत्रभित्र अधिकांशले यातायात सेवा उपभोग गर्नेमा पर्छन् । आयोजनाले सार्वजनिक सवारीसाधनको यात्रा सहज र सुविधाजनक नभएको उल्लेख गर्दै केही मुख्य स्थानमा सवारीसाधनको चाप अत्यधिक रहेको जनाएको छ । हाल उपत्यकामा १० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । विशेष गरी सहरी क्षेत्र केन्द्रित छन् ।
राजधानी सहर र कार्यालय तथा व्यापारिक केन्द्र रहेकाले यहाँ सवारी चाप अत्यधिक छ । प्रतिवेदनका अनुसार थानकोट–कलंकी, सीतापाइला–कलंकी, बुढानीलकण्ठ–महाराजगन्ज, सिनामंगल–कोटेश्वर, भक्तपुर–कोटेश्वर, सातदोबाटो–कुपण्डोल र कीर्तिपुर–कलंकी क्षेत्रमा यात्रुको चाप अत्यधिक हुने गरेको छ । पछिल्लो समय यी क्षेत्रमा बस्ती बढ्दै गएकाले चाप पनि बढेको हो । त्यसैगरी, कोटेश्वर, कलंकी, महाराजगन्ज, भक्तपुर, बालाजु, सीतापाइला, सातदोबाटो र कीर्तिपुरदेखि मुख्य व्यापािरक केन्द्रसम्म ओहोरदोहोर गर्ने यात्रुको चाप पनि अत्यधिक छ ।
अध्ययनले उपत्यकाका सडकलाई तीनवटा रुट (सडक) मा विभाजन गरेको छ । ती रुटमा पैदलयात्री हुन् वा सवारीमा ओहोरदोहोर गर्ने यात्रुको चाप उत्तिकै छ । ८ वटा प्राइमरी, १६ वटा सेकेन्डरी र ४२ वटा ससाना (टर्सरी) रुटका रूपमा विभाजन गरिएको छ । उपत्यकामा प्राइमरी १३१ किमि, सेकेन्डरी १७८ र टर्सरी २७३ किमि सडक छन् । दिनप्रतिदिन उपत्यकामा यात्रुको चाप बढ्दै गएकाले व्यवस्थित तथा सुविधाजनक सार्वजनिक यातायातको व्यवस्था गर्नुपर्ने यातायात व्यवस्था विभागका उपनिर्देशक तुलसीराम अर्यालले बताए ।
‘अझ विस्तृत अध्ययन गर्ने हो भने बढी यात्रुले सार्वजनिक यातायात प्रयोग गरेको देखिन्छ होला,’ उनले भने, ‘सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ ।’ सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिने गरेका छन् । उपत्यकामा ४ किमिसम्मको १३ रुपैयाँ र १९ किमिसम्मको २३ रुपैयाँ भाडा छ । ‘रिङ रोड’ पूरै परिक्रमा गरेको भाडा अधिकतम २४ रुपैयाँ निर्धारण गरिएको छ ।
सार्वजनिक यातायातमा लामो अध्ययन–अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङका अतिथि प्राध्यापक सूर्यराज आचार्य उपत्यकामा दैनिक १२ लाख यात्रुले सार्वजनिक यातायातमा यात्रा गर्ने बताउँछन् । प्रत्येक यात्रु घरबाहिर निस्कँदा र फर्कंदा दिनमा न्यूनतम करिब २ पटक सार्वजनिक यातायात प्रयोग गर्छन् । ‘ठूलो जनसंख्या सार्वजनिक यातायातको भर परे पनि त्यसलाई मर्यादित बनाउन सकिएको छैन,’ उनले भने, ‘सरकारले तोकेको भाडाभन्दा बढी लिने गरिएको छ, सडक व्यवस्थित छैन ।’

