काठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगन्जको इमर्जेन्सीमा करिब ४० देखि ५० प्रतिशत बिरामी सवारीलगायत दुर्घटनाले मस्तिष्कमा चोटपटक लागेर उपचारमा आउने गरेको चिकित्सकले बताएका छन् । ‘वर्ल्ड हेड इन्जुरी अवारनेस डे’ को अवसरमा अस्पतालले आइतबार आयोजना गरेको अन्तर्क्रियामा चिकित्सकले त्यस्तो बताएका हुन् ।
अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्रा.डा.मोहनराज शर्माका अनुसार मस्तिष्कमा चोटपटक लागेका बिरामी अन्य बिरामीको तुलनामा बाँच्ने सम्भावना कम हुने गर्छ । ‘दुर्घटना घटाउन सम्बन्धित सरोकारवाला निकायलाई जनचेतना जगाउन जरुरी छ,’ उनले भने, ‘यस्तो अन्तर्क्रियालाई निरन्तरता दिन्छौं ।’ अस्पतालका क्रिटिकल केयर चिफ डा.सुवास आचार्यका अनुसार आईसीयूमा पनि करिब ४० देखि ५० प्रतिशत बिरामी मस्तिष्कमा चोटपटक लागेका आउने गर्छन् । ‘मस्तिष्कमा चोट लाग्ने बिरामी उपचारमा बढी आउने कारणले आईसीयू बेड अपुग हुने गरेको छ,’ उनले भने, ‘यस्ता खालका बिरामी लामो समयसम्म थला पर्छन् । अपांगता भएमा राज्यलाई समेत भार पर्छ ।’ कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले दुर्घटनाका बिरामीलाई धरौटी नराखी उपचार नगर्ने अस्पतालहरूको नियम परिवर्तन गर्नुपर्ने बताए ।

