काठमाडौँ ,निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि संक्रमणदर पनि बढिरहेको बताए । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट संक्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।
‘खुकुलो भएसँगै संक्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ,’ उनले भने, ‘संक्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।’
सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।
मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लंघन भइरहेको जनाएको छ । उहाँका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको संक्रमणदर भने १९.३ प्रतिशत रहेको छ ।
संक्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा संक्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् ।
यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते नौ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा तीन हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको संक्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी संक्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना संक्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।
जनस्वास्थ्यविद् डा. सागरराज भण्डारी निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउँछन् । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा संक्रमणको जोखिममा अझै रहेको बताए । ‘मानिस घरमै बसेर संक्रमणलाई लुकाइरहेका छन् । संक्रमण भए पनि आइसोलेशनमा बसेका छैनन्,’ उनले भने, ‘जसले गर्दा घरपिच्छै सबै मानिसमा संक्रमण हुने डर छ ।’
खोप लगाएका मानिसबाट पनि संक्रमण सर्ने जोखिम उत्तिकै रहेको उनी बताउँछन् । ‘खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन,’ उनले भने, ‘खोपले संक्रमणलाई नै रोक्ने होइन । संक्रमणको लक्षणलाई मात्र कमी गराउने हो ।’ नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि संक्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । संक्रमणको दोस्रो लहरले फोक्सोमा असर पुर्याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए । जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा संक्रमणको दर बढिरहेकाले नेपालमा जोखिम बढेको छ । खुला सीमाका कारण भारतबाट संक्रमण फैलने डर पनि छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा जोखिम रहेको बताउँछन् । ‘खोपले लगाएको चारदेखि छ हप्तासम्म काम गर्दछ,’ उनले भने, ‘खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ ।’
१० जिल्लामा ५०० भन्दा बढी
अहिले ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही रहेका छन् । यही साउन ६ गते मात्र नवलपरासी (पूर्व), रुपन्देही र कास्की प्रत्येकमा ५०० भन्दा बढी संक्रमित थपिएका हुन् । यसैगरी २०० भन्दा बढी संक्रमित हुने जिल्ला २६ पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी संक्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।
उपत्यकामा पनि बढ्यो संक्रमण
काठमाडौं उपत्यकामा पनि संक्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै संक्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा संक्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा संक्रमण देखिएको थियो । साउन ७ गते काठमाडौंमा ५३६, ललितपुर १३० र भक्तपुर ८५ जनामा संक्रमण देखिएको छ ।
काठमाडौंमा अहिलेसम्म दुई लाख १२ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ । अहिले काठमाडौंमा पाँच हजार ९१६ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी ललितपुरमा कुल संक्रमित ३९ हजार ५९६ र एक हजार ६१ सक्रिय संक्रमित तथा भक्तपुरमा २३ हजार ४४२ संक्रमित र ९३५ सक्रिय संक्रमित रहेका छन् ।
निको हुने पनि स्थिर
संक्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो । साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।
खोप अभियान जारी
नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ । कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन् । अहिलेम्म नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट ल्याउने भएको छ ।
पहिलो मात्रा लगाउने ३३ लाख आठ हजार ७३० र दोस्रो मात्रा लगाउने १२ लाख ८१ हजार २४० जना पुगेका छन् । नेपालमा अहिलेसम्म सात लाख २७ हजार १६९ संक्रमित पुगेका छन् । अहिले सघन उपचारकक्षमा ६३५ र भेन्टिलेटरमा १७२ जना रहेका छन् । यस्तै संक्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३७ हजार ६९० पुगेको छ । यस्तै संक्रमणबाट हालसम्म ९ हजार ६६१ जनाको निधन भइसकेको छ ।

