काठमाडौं , अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राजदूत ¥यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।
अमेरिकाले अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित जेन्सेन खोप सहयोग गर्न लागेको हो । यो खोप एक मात्रा (डोज) लगाए पुग्छ । राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्ना लागि अन्त्यन्तै खुसीको क्षण भएको उल्लेख गरेका छन् । ‘अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ’, उनले उल्लेख गरेका छन् । उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारे यकिन भइनसकेको अमेरिकी दूतावासले जनाएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् । यद्यपि, यो खोप सहयोग भने अमेरिकी जनताका तर्फबाट भएको जनाइएको छ ।
अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने वाचा गरेको थियो । तर, नेपालले अमेरिकाले वाचा गरेको खोप हालसम्म प्राप्त गरेको छैन । सरकारले चीनको सिनोफार्म कम्पनीबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार ल्याइएको छ । उक्त कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको छ । जसमध्ये पहिलो खेपमा ८ लाख डोज ल्याइएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार चीनबाट प्राप्त भएको खोपलाई तीनवटा प्रदेशमा पठाइएको छ । डा. गौतमले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पठाइएको बताए । भने, ‘खोप ढुवानी गर्ने रेफ्रिजेरेटर भ्यानबाट हेटौंडा, पोखरा र बुटवलस्थित प्रादेशिक भण्डारणमा पठाइसकेका छौं ।’ जनसंख्याको अनुपातमा पठाइएको उक्त खोप कुन मितिदेखि कुन उमेर समूहलाई प्राथमिकता दिने विषयमा निर्णय भइनसकेको डा. गौतमले बताए । ‘कोभिड–१९ राष्ट्रिय खोप कार्ययोजनामा तोकिएको प्राथमिकता अनुरूप निर्णय हुन्छ । कति खोप प्राप्त हुन्छ । त्यसको आधारमा पनि कुन उमेर समूलाई प्राथमिकता दिने भन्ने कुराको निर्धारण गर्छ’, उनले भने ।
यसअघि भारतबाट उपलब्ध गराइएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो । ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई उक्त खोप लगाइएकोमा अब ५० वर्ष नाघेका व्यक्तिले खोप पाउने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलसम्म ५५ वर्षमाथिका करिब १७ लाखलाई खोप लगाइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप शाखा प्रमुख डा. गौतमले अहिले ५५ वर्ष नाघेका अधिकांशले खोप लगाइसकेकाले अब बाँकी रहेको उमेर समूहमा खोप लगाइने बताए । भने, ‘खोप आएमा त्योभन्दा तल्लो उमेर समूहमा पनि जान्छौं । विभिन्न मुलुकबाट आउने खोपबारे स्पष्ट भइसकेको छैन । भण्डारको तयारी गरिरहेका छौं । खोप आएको अवस्थामा लगाउन पनि सुुरु गर्छौं ।’

