काठमाडौं : कोरोना भाइरस संक्रमणकैबीच बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा स्वास्थ्य विपत्को त्रास बढेको छ। तर, राज्यका तीन तहबीच समन्वय हुन नसक्दा व्यवस्थापन झन् जटिल बनेको छ।
‘अघिल्लो पालि कोरोना महामारी उत्कर्षमा पुगेका बेला तीनै तहबीच समन्वयमा अलमल भएको थियो। फेरि अर्को विपत्को प्रतिकार्यमा त्यस्तै देखिँदै छ,’ जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘यसले थप स्वास्थ्य विपत् निम्त्याउँदै छ।’
उद्धार, व्यवस्थापन र राहतमा संघ, प्रदेश र स्थानीय तीनै तहबीच समयमै हुनुपर्छ। तर, यसमा हरेक वर्ष कमजोरी देखिने गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. मरासिनीका अनुसार, बाढी, पहिरो र डुबान प्रभावितका लागि अहिले पहिलो स्वास्थ्य जोखिम नै सफा पिउने पानी हो। दूषित पानी भएमा झाडापखाला, आउँ, टाइफाइड लगायतका समस्या देखिन सक्छन्।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी कोरोना संक्रमणसँगै बाढी, पहिरो र डुबानले थप स्वास्थ्य समस्या झेल्नु पर्ने अवस्था सिर्जना हुँदै गएको बताउँछन्।
चुस्त संयन्त्र
प्रतिकार्यका लागि आपसी समन्वयको अभावमा मानवीय एवं अन्य क्षति बेहोर्नु परिरहेको विज्ञहरूको ठम्याइ छ। डा. मरासिनीका अनुसार पाँच वर्ष अघिसम्म हरेक वर्ष चैत\वैशाख महिनामा नै दुई लाख बोतल स्लाइन किनिन्थ्यो। प्रकोपपछि हुने झाडापखाला लगायतका समस्याका लागि अस्पतालको क्षमताअनुसार बाँडिन्थ्यो। बफर स्टकमा सिटामोल, एन्टिबायोटिक, जीवनजलको पर्याप्त व्यवस्था हुन्थ्यो। थोरै परिमाणमा भए पनि अक्सिजनको सिलिण्डर हुन्थ्यो।
हरेक जिल्लामा स्थानीय तहमा रेपिड रेस्पोन्स टिम (आरआरटी) परिचालित हुन्थ्यो। अहिले स्थिति बदलिएको छ। स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीका अनुसार, संविधानमै तीन तहको संरचना बनाएकाले अहिले आएर सहयोग, सहकार्य र सहजीकरण बिना कुनै पनि विपत्को प्रतिकार्य गर्न कठिनाइ हुन्छ। ‘तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्छ। कहीँ केही भइहाले शून्य स्थितिको अवस्थामा पनि केन्द्रबाट गएर काम गर्ने अवस्था छैन। फरक अवस्था छ। संघीयतामा प्रवेश गरेरसँगै नयाँ संरचना बलियो भइसकेको छैन,’ उनी भन्छन्, ‘नयाँ संरचना तत्कालै चुस्त भइसकेको हुँदैन। पुरानो संरचनाले काम गर्न सक्ने हुँदैन। यही बीचमा छौं अहिले। महामारीको प्रतिकार्यका लागि नेतृत्व गर्ने र फिल्डमा काम गर्ने संयन्त्र भए काम पनि शीघ्र हुन्छ। एकबाट अर्कोलाई भन्ने खालको तहगत प्रणालीमा काम गर्न गाह्रो हुन्छ।’ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. सुशीलनाथ प्याकुरेल पनि तीन तहबीचको समन्वयमै समस्या देखिएको बताउँछन्।
व्यवस्थापनको सहजीकरण
सम्भावित विपत्का लागि आँकलन गरी त्यसको प्रतिकार्यका लागि अभ्यास गर्ने\गराउने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन। पूर्वसूचना बिना अनपेक्षित ढंगले सिर्जना हुने विपत् व्यवस्थापनमा महामारीको रोकथाम र जोखिम कम गर्नेतर्फ ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्। डा. प्याकुरेलका अनुसार महामारीका लागि मुख्य गरी ६ वटा व्यवस्थापकीय कार्य गर्नुपर्छ। ‘विपत्जन्य क्षेत्रमा जनशक्ति व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘सूचना व्यवस्थापनमा ध्यान दिई जोखिममा रहेका वर्गलाई क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्नुपर्छ।’

