काठमाडौं : ललितपुरको बखुम्बहाल चोकबाट केही मिनेटमै पुगिन्छ— सत्यमोहन जोशीको घर ।उनको घर पुग्ने हो भने जोशीकी श्रीमती राधादेवी भेटिन्छिन् । साथमा हुन्छिन् उनकी बुहारी ।
तर अहिले भेट्न नजानुस । बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दश दिनको अस्पताल बसाई पछि अहिले घरमै छन् । शुक्रवार डिस्चार्ज भए पछि आराम गरिरहेका छन् ।
जेठ २६ गते उनलाई ज्वरो आयो । श्वासप्रश्वासमा समस्या भयो । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा लगियो । उपचारका क्रममा छातिमा संक्रमण देखियो । मुटुको चालमा गडबडि र रक्तचापमा कमी देखिएको थियो ।
जोशीको उपचारमा खटिए, प्राडा मिलेशजँग सिजापति । डा. सिजापतिको नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरे पछि उनी साविक सरह हिंडडुल र खान सक्ने भएका छन् ।
मुटुको औषधि दिएर उनलाई डिस्चार्ज गरिएको छ । डा. सिंजापतिका अनुसार, प्रेसर, सुगर,दमजस्ता रोगबाट मुक्त छन् । डा. सिजापतिले भने,‘ नियमित व्यायाम, खानपानमा ध्यान दिएकै कारण स्वास्थ्य राम्रो भएको देखिन्छ ।’
जोशीका भतिजा अजरमानले संघ संस्था तथा मिडियाकर्मीलाई केहि दिन फोन वा भेटघाटमा नआउन अनुरोध गरेका छन् । गत बैशाख ३० गते १सय २ वर्षमा प्रवेश गरेका थिए ।
००० ०००
प्रत्येक दिनजसो उनी विभिन्न कार्यक्रममा गइरहन्छन् । स्वस्थ छन् । खानपिनमा पनि बार्नुपर्ने त्यस्तो केही छैन । सामान्य आहार गर्छन् । त्यति मात्र कहाँ हो र, दिन बिराइ खसीको मासुसमेत खान्छन् । उनको स्वस्थताको के हो त राज ?
‘स्वस्थ र दीर्घजीवन बाँच्नेले चिन्ताको भारी बोक्नहुँदैन’, उनी भन्छन्, ‘चिन्तन गर्ने, तर चिन्ता नगर्ने । चिन्ताले रोग ल्याउँछ । मनमा असन्तोष बढ्छ ।’ अझैपनि उनको अघिपछि मिडिया लागिरहेकै हुन्छन् ।
उनलाई आफ्नो अनुहार चाउरी नपरे पनि भित्री अवस्था भने चाउरी परे जस्तो लाग्छ । ‘अरूले तारिफ गरेर मात्रै कहाँ हुन्छ’, उनले भने, ‘मेरो शरीरको कुरो मलाई थाहा छ ।’
लामो आयु मात्रै हुनु बेकार लाग्छ उनलाई । जबसम्म मान्छेको चेतनाले काम गर्छ, त्यति बाँच्नु राम्रो रहेको उनको भनाइ छ । ‘मज्जाले खान सक्ने तर केही गर्न नसक्ने भएर बाँच्नुहुन्न’, उनले भने, ‘अरूको सहारामा बाँच्नुको के अर्थ रु जबसम्म मान्छेको बोली र ज्ञान हुन्छ । सत्य–असत्य, राम्रो–नराम्रो थाहा पाउँछ, आफूले के गर्दै छु भन्ने थाहा पाइन्जेल मात्रै जिउनु राम्रो हो ।’
आफू बाँच्दा अरूलाई भार दिन नहुने उनको भनाइ छ । चिन्तनमननका लागि ‘जुरेली’को दर्शन अवलम्बन गरेको र साधारण जीवनयापनमा आफू रमाइरहेको उनले बताए ।
कामको सिलसिलामा सुदूरपश्चिम पुग्दा जुरेलीको गीत सुनेका थिए— के खायो, के लायो होला वनको जुरेली चरीले । त्यो गीत उनलाई दर्शन जस्तै लाग्यो । र आफूलाई साधारण जीवन बिताउन पे्ररित गरेको जोशीको भनाइ छ ।
तर हिजोआज भने चिन्ता लाग्न थालेको उनले बताए । ‘पहिला चिन्ता लाग्दैनथ्यो’, उनलाई शंका छ, ‘के थाहा म पनि अरुको बोझ पो बन्ने हुँ कि रु ’ जोशीको स्वास्थ्य अवस्था, सफलता आदिका पछाडि श्रीमती राधादेवीको भूमिका पनि उत्तिकै छ । घरपरिवारका सबै जिम्मेवारी उनले सम्हालिदिएका कारण आफू यो अवस्थामा आइपुगेको सत्यमोहन स्विकार्छन् ।
‘राधाले मलाई कहिल्यै किचकिच गरिनन’, जोशीले भने, ‘मैले गरेको काममा उनले पूरा साथ दिइन् । उनी घरपरिवार हेर्थिन् ।’
९० सालको भूकम्पका बेला १० वर्ष पुगेकी थिइन्, राधादेवी । कृष्णमन्दिर नजिकै छिन्नमस्ता उनको माइती । राधादेवीले आफ्नो बिहे सम्झिइन्, ‘मागी विवाह भयो । चिना देखायौं । मिल्यो । त्यसको एक महिनामा सुपारी ल्याएपछि मात्रै विवाह पक्का भयो । केटा बिहेमा मात्रै देखेँ । बिहेको तीन वर्षसम्म हामी बोलेनौं ।’
बिहेपछि उनलाई गुफा राखिएको थियो । गुफा नराखी श्रीमान् \श्रीमती बोल्नुहुँदैन भन्ने चलन थियो । बिहेमा सत्यमोहन १९ वर्षका र उनी १४ वर्षकी थिइन् । बिहेको बेलासम्म राधादेवीलाई खाना पकाउनसमेत आउँदैनथ्यो ।
‘प्रत्येक दिन खुट्टा ढोग्नुपथ्र्यो । खाना पकाएर राखिदिन्थें । उहाँ (सत्यमोहन) आएर खानुहुन्थ्यो, नबोली’, राधादेवीले विगत सम्झिइन् ।
सत्यमोहनले घरको काममा कहिल्यै समय दिन पाएनन् । भान्सामा सघाएनन् । सधैं साहित्य, सिर्जनामा लागिरहे । उनलाई लोकले चिनेको छ । यो उमेर हुँदा पनि श्रीमान्सँग घुम्न निस्किएको राधादेवीलाई सम्झना छैन । तर पनि सत्यमोहनप्रति उनको कुनै गुनासो छैन । ‘उहाँले जे गर्नुभयो, देशका लागि गर्नुभयो’, उनले भनिन्, ‘मैले सानो कुरामा के गुनासो गर्नु र ?’

