काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस विरुद्धको खोप आपूर्तिमा सहजीकरण गरिदिन भारतलाई अनुरोध गरेका छन् । शुक्रबार भारतीय समकक्षी एस यजशंकरसँगको टेलिफोन वार्ताका क्रममा ज्ञवालीले उक्त अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘परराष्ट्रमन्त्रीले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका विदेशमन्त्रीसँग अनुरोध गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ । जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले कोरोनाविरुद्ध नेपालले चालेका कदममा भारतले गरिरहेको सहयोग निरन्तर रहने र आश्वासन दिएको परराष्ट्रमन्त्रालयले उल्लेख गरेको छ ।
दुवै मन्त्रीबीच कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा कसरी लड्ने भन्ने विषयमा छलफल गरेको बताइएको छ । त्यसका लागि एकआपसमा सहयोगको आदानप्रदान गर्ने समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अहिलेको सहयोगलाई वृद्धि गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

