काठमाडौँ — नेपालमा शनिबारसम्म कुल जनसंख्याको करिब ५ प्रतिशतले कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप लगाइसकेका छन् । दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकमा खोपप्रति आकर्षणसमेत बढ्दै गएको पाइएको छ ।
दोस्रो चरणअन्तर्गत शनिबारसम्म १० लाख ३९ हजार ६ सय ५९ जनाले खोप लगाएका छन् । दुवै चरण गरी १४ लाख ७८ हजार ५ सय ३८ जनाले खोप लगाइसकेको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले बताए । यो कुल जनसंख्याको ४.९ प्रतिशत हो । मुलुकमा ६५ वर्षमाथिका मानिसको संख्या करिब १७ लाख ९२ हजार छ ।
‘भारतले हालसम्म करिब २ प्रतिशत जनसंख्यालाई खोप लगाएको छ, हामीले करिब ५ प्रतिशतलाई लगाइसक्यौं,’ डा.गौतमले भने, ‘६५ वर्षमाथिकालाई खोप लगाइसकेपछि दोस्रो प्राथमिकताको दोस्रो चरणअन्तर्गत ५५ वर्षमाथिकालाई लगाउने प्रक्रिया सुरु हुन्छ ।’ पहिलो चरणमा हिचकिचाहट र संकोच देखिए पनि ज्येष्ठ नागरिकमा उत्साहप्रद सहभागिता देखिएको उनले बताए ।
मुलुकमा गत माघ १४ गतेदेखि पहिलो चरणमा कोभिड उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी, कर्मचारीलगायतले खोप लगाएका थिए । फागुन २३ देखि सुरु भएको दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र पहिले छुटेका स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन् । पहिलो र दोस्रो चरणमा प्राथमिकताको निर्धारित लक्ष्यको ५३ प्रतिशत खोप लगाइसकेको डा. गौतमले बताए ।
पहिलो चरणमा सहभागी भएकालाई दोस्रो मात्रा खोप लगाउने तयारीसमेत थालिएको उनले बताए । पहिलो मात्रा लगाएकाले ८ देखि १२ साताभित्र दोस्रो मात्रा लगाउनुपर्छ । हालसम्म भारतबाट अनुदानमा प्राप्त १० लाख र खरिदबाट आएको १० लाख मात्रा तथा कोभाक्स सुविधाअन्तर्गत आएको ३ लाख ४८ हजार मात्रा गरी २३ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप भित्रिइसकेको छ । तीमध्ये खेर हुने दर एक प्रतिशतभन्दा पनि धेरै कम देखिएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरिएकोमध्ये बाँकी १० लाख मात्रा खोप सोमबार आइपुग्ने डा.गौतमले बताए ।

