काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा जनताको दैनिक जीवन कष्टकर बन्दै गएको बताएका छन् । दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले संकटको बेला सरकार जनताको अभिभावक बन्न नसकेको समेत बताएका छन् । 
‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ,’ पूर्वराजा शाहद्वारा जारी सन्देशमा भनिएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यति बेला हुँदैछ ।’
उनले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्तासमेत व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।

