संवाददाता
काठमाडौं ।कोरोना संक्रमणका कारण आजै मात्र थप ४ जनाको निधन भएको छ । बाँके, पोखरा , ललितपुर र काभ्रेमा गरी ४ जनाको मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको स्वाब संकलन गरिएको थियो । सोमबार राति ११ः४० बजे अस्पतालमा उपचार गर्दा गर्दा उनको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले पुष्टि गरे । उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो ।
यसअघि नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ । बाँके जिल्लामा ७ सय ३८ जना कूल कोरोना संक्रमित रहेकोमा मंगलबार डिस्चार्ज हुने १३ जनासहित चार सय ६८ जना निको भइसकेका छन् । आइसोलेसनमा उपचार गराइरहेको संख्या भने दुई सय ६३ छ ।
नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको आज उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।साउन ३० गते पाटन अस्पताल भर्ना गरीएका उनको अवस्था गम्भिर भएपछि हिजो साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उता, काभ्रेको धुलिखेलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल– ७ का ९८ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।
स्वासप्रश्वास र घाँटीमा सममस्या भएपछि उन्लाई साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो ।
यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सगै देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ सय १३ पुगेको छ ।

