काठमाडौं,साउन १२ । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ ।
स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन् । सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको स्रोतले बतायो । पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय खुलाइएको छैन ।
उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन ।
शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे । माइत आएका बेला परिवारका अन्यमा संक्रमण भएको हुन सक्ने डा। राजभण्डारीले बताए । नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि शुक्रबार र आइतबार अस्पतालमा भर्ना गरिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।
डा। राजभण्डारीका अनुसार कोरोना पुष्टि भएकामध्ये एक जनामा डेंगुको लक्षणसमेत देखिएको छ । ‘स्वास्थ्य अवस्था सामान्य छ । दुई जनामा सामान्य खोकी छ । अन्य लक्षण देखिएको छैन’, डा। राजभण्डारीले भने ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा। वासुदेव पाण्डेले परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिँदा जोखिमको संकेत देखापरेको बताए । ‘परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएपछि सबै जना झन् बढी सतर्क र सजग हुनुपर्छ’, उनले भने, ‘हेलचेक्र्याइँ गर्नुभएन । कोरोना नियन्त्रणमा चुनौती बढ्छ ।’
परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । यसअघि एकै परिवारका बा, आमा र छोरामा असार दोस्रो साता कोरोना संक्रमण पुष्टि भएको थियो । बाँके,कोहलपुर २ का ३९ वर्षका पुरुष, उनकी पत्नी र ९ वर्षका छोरामा कोरोना पुष्टि भएको हो ।यी सबै डिस्चार्ज भइ घर फर्किसकेका छन ।
लामो समयदेखि भारतमा बस्दै आएका उनको परिवार अब नेपालमै बस्ने भनेर डेराडण्डीसहित घर फर्केको थियो । दिल्लीबाट नेपाल आएर कोहलपुर २ को लक्ष्मी माध्यमिक विद्यालय वर्दहवाको क्वारेन्टाइनमा बसेका थिए ।
नेपालमा माघ ९ गते पहिलो संक्रमण फेला परेको थियो । परिवारका सबै सदस्यमा संक्रमणले समुदायमा फैलिने सम्भावना प्रबल देखिएको एक जनस्वास्थ्यविद्ले बताए ।
नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । यीमध्ये १३ हजार १ सय २८ जना निको भएका छन् । कोरोनाबाट ४५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
माइती आउँदा परिवार संक्रमित
माइती आउँदा परिवार संक्रमित
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

