काठमाडौं,साउन ६ । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणको लागि सरकारले घोषणा गरेको गरेको लकडाउन (बन्दाबन्दी) अन्त्य भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको जानकारी दिए । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने छ ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, हामी अब लकडाउनमा छौं भन्न परेन ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन अन्त्य भएको मन्त्री खतिवडाको भनाइ छ ।
लकडाउनले मनोवैज्ञानिक त्रास दिएको र बहानाबाजी पनि भएको भन्दै यसलाई अन्त्य गरिएको उनले बताए । तर, स्वास्थ्य सुरक्षाको जोखिम तथा संक्रमणको जोखिम भने कायमै रहेको चर्चा गर्दै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, भौतिक दुरी कायम राख्ने र स्यानिटाइज गर्ने काम जारी राख्नुपर्ने बताए ।
सरकारले चैत ११ गतेदेखि नेपालभर लकडाउन सुरु गरेको थियो । भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि गरिएको छ । बिहीबारदेखि सार्वजनिक यातायात पनि संचालन हुँदैछन् । अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।
सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णयसमेत गरेको छ । साउन १५ गतेबाट होटल खुल्ने निर्णय गरेको सरकारले भोज र पार्टीमा भने प्रतिबन्ध जारी राखेको छ । सरकारको यो निर्णय अनुसार अब होटलमा भोज र पार्टी गर्न भने पाइने छैन ।
त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेको थियो ।सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । त्यसैगरी सरकारले यसअघि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो । भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर आउदो हिउँदलाई ध्यानमा राखेर ट्रेकिङ बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।पछिल्ला दिनमा घट्दै गएको कोरोना संक्रमण बढेमा फेरि लकडाउन हुने प्रवक्ता खतिवडाले जानकारी दिए । संक्रमितको संख्या भने १७ हजार ९ सय ५४ पुगेको छ । संक्रमितमध्ये १२ हजार चार सय ७७ निको भएका छन् । मंगलबार मात्र १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट ४० जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

