काठमाडौं । उपत्यकाको वस्ती भित्रको दुई ठाउँको ढलको पानीमा कोरोना भाइरस भेटिएपनि डराउन नपर्ने विज्ञहरुले बताएका छन । कोरोना भाइरस पानीबाट सर्ने जीवाणु नभएकोले आत्तिन नपर्ने विज्ञहरुको भनाई छ ।
एक निजी प्रयोगशालाले उपत्यकाको दुई ठाउँमा रहेको ढलको नमूना परीक्षणमा कोरोना भाइरस फेला पारेको थियो । विश्वमा अन्य मुलुकमा भएका विभिन्न अध्ययनले व्यक्तिमा कोरोना भाइरस संक्रमण रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलको पानीमा कोरोना भाइरसका टुक्राटाक्रि भेटिएको देखिन्छ । सेन्ट्रल फर मलिकुलर डायनामिक्स नेपाल (सीएमडीएन) नामक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको परीक्षण गरेकोमा दुई ठाउँको ढलको पानीमा कोरोना भाइरस भेटिएको जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा गरेको अनुसन्धानमा मानिसको दिसामा कोरोना भाइरस भेटिएको तथ्य फेला परेको थियो । इटालीमा गरिएको अध्ययनमा फोेहोर पानीमा पाइएको थियो । ‘दिसामा कोरोना भेटिएपनि त्यहिंमाध्यमबाट संक्रमण बढेको भेटिएको छैन । मानिसमा संक्रमण गराउन ढलमा भएको कोरोना भाइरस सक्रिय भएको अध्ययनबाट पुष्टि भएको छैन ।’डा. पुनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भाइरस देखियो भन्दैमा नआत्तिन र नडराउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन, ‘यो सामान्यतया रोग सार्ने खालको हुँदैन । फोहोर पानी ( ढल प्रणालि)बाट कोरोेना भाइरस संक्रमण भएको प्रमाण फेला परेको छैन । ढलको पानीमा कोरोना भाइरसको पहिचान भएपनि यसको माध्यमबाट मानिसमा कोरोना भाइरस सर्न सक्ने संभावनालाई अध्ययनहरुले पुष्टि गरेका छैनन ।’ फोहोर पानी अर्थात अस्पतालबाट निस्कने ढलको पानीमा पनि कोरोना भाइरस दुईदिनसम्म बाँच्ने देखिएको छ । तै पनि अन्य संक्रमण रोगका किटाणु प्रशस्त हुने हुनाले ढलको पानीको उचित प्रशोधन हुन भने जरुरी भएको डा. गौतमले बताए ।
ढलको पानीमा कोरोना भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने डा. गौतमले दावी गरे ।
मन्त्रालयले अध्ययन गर्ने
ढलको पानीमा भेटिएका भाइरसका सन्दर्भमा स्वास्थ्य मन्त्रालयले थप अध्ययन गर्ने भएको छ । के कस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोग लिइने डा. गौतमले जानकारी दिए ।
ढलको पानीमा जीवाणु र विषाणुको पहिचान र मात्रा तय गरि त्यसका आधारमा समुदायमा संक्रमणको अवस्था बुझन सकिने यस प्रकारको अध्ययनलाई पुरक विधि मान्न सकिने मन्त्रालयले जनाएको छ । डा. पुनका अनुसार, ढलमा भेटिएको कोरोना भाइरस संक्रिय हो÷होइन अध्ययन गर्न सके थप कुराहरु प्रष्ट हुन सजिलो हुन्छ । ‘जोगिने उपायबारे थप सचेत हुन सजिलो हुन्छ ।’ उनले भने ।
ढलको फोहोर पानीमा सरसफाई गर्ने व्यक्तिले उचित प्रकारका व्यक्तिगत सुरक्षा सामग्रि, लामो खालको गाउन,बाक्लो पञ्जा, बुट, जुत्ता, मास्क, अनुहार छोप्ने सामग्रि वा चश्मा लगाउनु पर्ने हुन्छ । काम गर्दा फोहोर हातले नाक, मुख र आँखा छुन नहुने डा. गौतमले बताए । पीपीई खोलिसकेपछि अनिवार्यरुपमा मिचिमिचि सहि तरिकाबाट साबुन पानीले हात धुनु पर्छ । डा. गौतमका अनुसार, अन्य संक्रमणको सम्भाव्यतालाई समेत मध्यनजर गरि फोहोर पानीको उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक छ ।
कोरोना भाइरस संक्रमण हुन सक्ने मुख्यतया दुई माध्यम देखिएका छन । स्वासप्रश्वासको माध्यमबाट संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा अथवा नजिकमा रहेका व्यक्तिहरुलाई छिटाको माध्यमबाट संक्रमित व्यक्तिले हाच्छिउँ गरेर , खोकेर वा उसका संक्रमित हातले छोएको कुनै पनि सतहमा भाइरस केहि घण्टा देखि केहि दिनसम्म जीवित रहन सक्ने देखिएको छ । अतः त्यस्तो कोरोना भाइरस हुन सक्ने स्थानमा छोई संक्रमित हात वा औंलाले मुख, नाक र आँखामा छुनु हुँदैन ।बारम्बार साबुन पानी वा सेनिटाइजरले हात धुनुपर्ने डा. गौतमले बताए ।
‘ढलको कोरोनाले संक्रमण गराउँदैन’
‘ढलको कोरोनाले संक्रमण गराउँदैन’
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

