काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु भएका ३० जनामध्ये २१ जनाको मृत्युपछि पीसीआर परीक्षण गर्दा नजिता पोजिटिभ आएको थियो । यो तथ्यांकले कोरोनाले मृत्यु भएका ७० प्रतिशत व्यक्तिले संक्रमणको अवस्था थाहा नपाई मृत्युवरण गरेको पाइएको हो । हालसम्म चार जनाको क्वारेन्टाइनमै र दुई जनाको आइसोलेसनमै मृत्यु भएको छ । सरकारकै निगरानीमा क्वारेन्टाइन र आइसोलेसनमा रहे पनि ६ जना अर्थात् २० प्रतिशतले उपचारबिना ज्यान गुमाएका हुन । कोरोनाले मृत्यु भएका हरेक तीन जनामध्ये दुई जनाको मृत्युपछि कोरोना पत्ता लाग्नुको कारण सुरुमै परीक्षण गर्न नसक्नु भएको विज्ञहरुको भनाइ छ । यसले त मृत्युपछि मात्रै परीक्षण गर्ने सोच रहेको देखिन्छ ।
हाल मुलुकभर २३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने सरकारी तयारी छ । दिनहुँ कम्तीमा १० हजार पीसीआर परीक्षण गर्ने योजना रहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताउँदै आएका छन । तर विज्ञहरूले मृत्युपछि स्वाब संकलन हुने र संक्रमित भएको थाहा लाग्ने अवस्था रहनुले नियन्त्रणको प्रयास प्रभावित हुने बताएका छन् । मृत्युपछि कोरोना संक्रमणको अवस्था थाहा हुनु भनेको संक्रमणको विस्तारलाई कम गर्ने प्रयास असफल रहेको संकेत भएको विज्ञहरुको टिप्पणी छ । हालसम्म मृत्यु भएकामध्ये १६ जनामा कोरोना संक्रमणसँगै अन्य रोगसमेत थियो ।

