सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने जनाइएको छ । यातायात सञ्चालनका लागि तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन ।
सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको कुनै जानकारी विभागलाई दिइएको छैन । तर बन्दाबन्दी बिस्तारै खुकुलो बनाउँदै गएपछि यातायात पनि सञ्चालन हुन्छ होला भन्ने अनुमानले विभागले काम गरिरहेको छ । हालकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्नुपरे कसरी गर्ने भनेर विभागले नयाँ निर्देशिका तयार गरेको छ । यस बिषय लगायत स्वास्थ्य सम्बन्धि अन्य विषयमा स्वास्थ्य अनलाईन संवाददाताले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत सह प्राध्यापक एवं वरिष्ठ छाति रोग विशेषज्ञ डा. निरज बमसँग गरेको कुराकानीको सारसंक्षेप
१.सार्वजनिक सवारी साधन प्रयोगमा के–के सावधानीका उपाय अपनाउनु पर्छ ?
निजी वा सार्वजनिक सवारी साधन प्रयोग गर्दा सावधानि अपनाउनु पर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसारका उपायहरु अपनाउनु पर्छ । गाडिमा चढ्नु अघि र पछि साबुन पानीले हात मिचिमिचि धुने गर्नु पर्छ । साबुन पानी नभएको अवस्थामा सेनिटाइजरको प्रयोग गर्नु पर्छ । त्यस्तै सवारी साधनको ह्याण्डिल, स्टेरिङ लगायतलाई डिसइन्फेक्सन गर्नु पर्छ । सवारी साधन भरसक एकजनाले मात्र चलाउनु पर्छ । यदि , सार्वजनिक सवारी साधन प्रयोग गर्ने हो भने यात्रा गर्नु अघि र पछि साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ । सामाजिक तथा भौतिक दुरी कायम गर्नु पर्छ । सार्वजनिक यातायातमा पहिला जस्तो कोचाकोच गरि यात्रु राख्नु हुँदैन । आधा यात्रु राखेर दुरी कायम गरि साधन चलाउनु पर्छ । यात्रु चढने र झर्ने क्रममा पनि सामाजिक तथा भौतिक दुरी कायम राख्नु पर्छ ।
२. गाडिमा पैसा दिने लिने क्रममा कोरोना भाइरस सर्छ की सर्दैन ? कसरी जोगिने ?
पैसाबाट सर्छ ÷सर्दैन भन्ने बारे अझैं पुष्टि भइसकेको छैन । हामीसमेत अनविज्ञ छौं । तर, पैसा लेनदेन गर्दा सामाजिक तथा भौतिक दुरी कायम राख्नु पर्छ । पैसा गन्दाखेरी र पैसा लिंदा तथा दिंदा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।
३. एटीएम मेसिन कसरी प्रयोग गर्ने ?
एटिएम मेशिनमा प्रवेश गर्दा भौतिक तथा सामाजिक दुरी कायम गर्नु पर्छ । एटीएम कार्ड मेशिनमा प्रवेश गराएर घर फर्किसकेपछि अनिवार्य हात धुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।
४. होटल–रेस्टुँरा जाँदा वा खानेकुरा मगाउँदा ध्यान दिनुपर्ने कुरा के–के हुन् ?
होटल तथा रेष्टुरेन्ट भीडभाड हुने स्थलमा पर्छन । होटल तथा रेष्टुरेन्टमा कार्यरत कामदार संक्रमण मुक्त रहेको ग्राहकलाई थाहा पनि हुँदैन । त्यसैले भरसक जानु हुँदैन । जानै पर्ने अवस्था आए भौतिक तथा सामाजिक दुरी कायम गर्नु पर्छ । यदि प्याकिंग गरिएको र सुरक्षित छ भन्ने निश्चित भएमा पनि सतर्कता अपनाउनु पर्छ । प्याकिंग खोले पछि हात हुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ । खाइसकेपछि पनि सुरक्षित ढंगल बिसर्जन गर्नु पर्छ ।
५. मोबाइल अरूलाई (फोटो खिच्न, टिकटक बनाउन, नम्बर सेभ गर्न, आफ्नो फोनबाट अरूलाई कुरा गर्न आदि) दिने कि नदिने?
मोबाइल व्यक्तिगत हुन्छ । आफुले मात्र प्रयोग गर्नु पर्छ फोटो खिच्न, टिकटक बनाउन, नम्बर सेभ गर्न वा आफ्नो फोनबाट अरुलाई कुरा गर्न भरसक दिनु हुँदैन । मोबाइलको सतहमा भाइरस रहन सक्ने भएकोले सकेसम्म अरुलाई दिनु हुँदैन ।
६. मास्क, सेनिटाइजर र पानीको अभाव भएका ठाउँमा रहेका व्यक्तिले कसरी सावधानी अपनाउने ?
मास्क , सेनिटाइजर र पानीको अभाव भएका ठाउँमा रुमाल, टिस्यु पेपरको प्रयोग गर्न सकिन्छ । हाँच्छिउँ आयो वा खोकी लाग्यो भने कुहिनोको भागतिर गर्नु पर्छ । भरसक, साबुन पानीले हात धुने वा सेनिटाइजर अन्यत्रबाट मगाएर भएपनि पकेटमा राखिराख्ने र प्रयोग गर्नु पर्छ । जहाँसुकै पनि सामाजिक तथा भौतिक दुरी कायम राख्नु पर्छ ।
७. क्वारेन्टाइन कसरी व्यवस्थापन गर्नु पर्छ ?
यो व्यवस्थापकीय पक्ष हो । व्यवस्थापन पक्षले यस कुरामा गम्भीर भएर शीघ्र व्यवस्थापन गर्नु पर्छ । क्वारेन्टाइनमा रहँदा व्यवस्थापनका साथै व्यक्ति स्वयंले पनि सावधानि अपनाउनु पर्छ । भौतिक तथा सामाजिक दुरी कायम गर्नु पर्छ । आवश्यक परेको अवस्थामा साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नु पर्छ । रुमाल , टिस्यु पेपरको प्रयोग गर्नु पर्छ । व्यक्तिगत सरसफाईमा पनि ध्यान दिनु पर्छ । नियमित नुहाउनु पर्छ । अहिले कतिपय क्वारेन्टाइनमा बसेका व्यक्तिले धुम्रपान तथा मद्यपान गरेको समाचार सार्वजनिक भएको छ । यो निकै दुःखद छ । मद्यपान तथा धुम्रपानले रोगप्रतिरोधात्मक शक्ति घटाउँछ । त्यसैले मद्यपान तथा धुम्रपानबाट टाढै बस्नु पर्छ । मानसिक एवं शारिरीक रुपमा स्वस्थ राख्न व्यवस्थापन पक्षले सम्बन्धित चिकित्सकहरुसँग पनि परामर्श गर्ने वा जाँच गर्ने व्यवस्था गर्नु पर्छ ।

