बर्दिया । कोरोना भाइरस सर्ने हो की ? भन्ने भय कसलाई नहोला र ? भय मलाई पनि थियो ।मलाई थाहा छ, मिडिया समाजको ऐना हो । त्यहिं ऐना जब धमिलो हुन्छ तब समाजको अनुहार प्रष्ट आउँदैन भन्नेमा म विश्वस्त भएको तीस वर्ष नाघिसक्यो ।
कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न सरकारले लक डाउन घोषणा गरेको दुई महिनापछि म बर्दिया क्वारेन्टाइनमा गएर रिपोर्टिङ गर्न मन लाग्यो ।
बाँकेका क्वारेन्टाइन र आइसोलेसनसँगै संक्रमितको अवस्था उजागर गरेपछि बर्दिया मेरो गन्त्यव्य बन्यो । पाठक, स्रोता तथा दर्शकलाई वस्तुस्थितिको यथार्थ जानकारी दिने हुटहुटि थियो । जब बर्दियाको गडेनपुर पुगें । यथार्थ दर्दनाक थियो । खान नपाएर मजदुरको ज्यान गएको अवस्थाले मन दुःखी बनायो । काठमाडौं सिंहदरबारमा कोरोना भाइरस नियन्त्रणका लागि दर्जनौं पटक बैठक बसिरहेका बेला बर्दियाको विपन्न परिवारको ज्यान गएको दृश्यले मलाई स्तब्ध तुल्यायो ।
बर्दियास्थित गुलरिया नगरपालिकाको गोडियनपुर गाउँमा पुग्दा एक जना गरिब मजदुरले खान त परै जावस पानी समेत पिउन पाएनन । दुई छाक जुटाउन नसक्ने विपन्न बर्गलाई रोग भन्दा भोकले मारेको पाएँ । यस गाउँमा छाप्रा देखिन्छन । बस्तीका अधिकांश व्यक्तिको पेशा नै ज्याला मजदुरी रहेछ । श्रम नगरि हात मुख जोडन धौ धौ पर्ने अवस्था छ । लामो लक डाउनले श्रमजीवि मजदुरलाई छाक जुटाउनै सकस भइरहेको देखें । तर, संघ, प्रदेश र स्थानीय गरि तीन तहको सरकारले आँखा चिम्लिएको छ । भोकको चेपुवामा विपन्न वर्ग परेको देख्दा मन कुँडियो । यस्तै मध्येका एक पात्र ५५ वर्षिय ज्योति गोडियालाई भेटें । उनले खान त परै जावस पानी समेत पिउन नपाएर ज्यान गुमाएका रहेछन । उनका छोरा प्रल्हादले सबै बेलिबिस्तार लगाउँदा म स्तब्ध भएँ । अन्य आफन्तसँग कुरा गरें ।
उनी सडक निर्माणका क्रममा पहाडि जिल्ला अछामको साँफबगर पुगेका रहेछन । मुलुकमा लक डाउन घोषणा भएको झण्डै दुई महिनापछि जेठ ९ गते जंगलको बाटो भएर घर फर्कंदा साथमा दुई छोरा सहित १६ जना थिए । भोकले थकित उनीहरु चार दिनपछि पहाडबाट पसिना पुछदै तराई झरे । यसबीचमा अन्नको त कुरै नगरौं ।बाटोमा पानी समेत कसैले दिएनन । शरीर लतार्दै उनी गुलरियाको प्रहरी कार्यालय अगाडि आए । तीर्खा मेटन प्रहरीसँग पानी मागे । तर, पानीको थोपो पाएनन । प्रहरीले सबैलाई बबई क्याम्पसको क्वारेन्टिनमा लगेछ । तीर्खा र भोकले आकुलव्याकुल भएका उनी रातभर छटपटाए ।त्यहाँ पनि पानी पाएनन । दुई छोरासँग सुतेका उनको अन्ततः जेठ १४ गते बिहान उठ्न नपाउँदै क्वारेन्टिनमै ज्यान गयो । यसबारे मैले प्रत्यक्षदर्शीसँग पनि कुरा गरे । नरमाइलो लागिरहयो । क्वारेन्टिनमा सुरक्षार्थ खटिएका प्रहरीलाई भेटन गएँ । ती प्रहरीले विहान ५ बजे कसलाई के भइरहेको छ ? भन्दै कोलाहल गरेपछि सबैजना उठेको र बल्ल मृत्युको बारेमा थाहा भएको ती प्रहरीले बताए । आफूले कोलाहल गरेपछि छोराहरु उठेको र बल्ल उनीहरुले पनि थाहा पाएको ती प्रहरीको दाबी थियो । अहिले ज्योतिको पुरै गाउँ शोकमा डुबेको छ ।
पति वियोगमा परेकी नन्कौ गोडियाको आँखा चिसा भएका छन । आँशु पुछिदिने कोहि छैन । म पुग्दा आफुसँगै सुतेको बुबाको मृत्युभएपछि टुहुरा भएका दुई छोराले काजक्रिया पनि गर्न पाएका थिएनन । एउटा गरिबकोे यो दर्दनाक अवस्थाले मलाई पीडा भइरहयो । राज्य त अभिभावक हो नि । तर, अभिभावक बनेको सरकारले कुनै सहयोग गरेको छैन । मुखमा अन्न परेन । पानी समेत पिउन नपाएर गरिब मजदुरको ज्यान गएको छ । रिपोर्टिङ गरेर फर्किंदा मलाई समाजमा मानवियता हराउँदै जान लागेको छ होइन ? भन्ने प्रश्नले घोंचिरहयो । (कान्तिपुर टेलिभिजनका पत्रकार जे पाण्डेसँग गरिएको कुराकानीमा आधारित । )

