विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९को नाम दिएको छ । कोरोना भाइरस रोग (कोभिड १९) श्वासप्रश्वासको माध्यमबाट सर्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्छ ।
नयाँ प्रजातिको यो भाइरसले विश्वमै आतंक मच्चाइरहेको छ । सामान्य रुघाखोकी देखि तीब्र स्वासप्रश्वासको गम्भीर समस्या गराउँछ । यस यस रोगबाट नेपालमा चार जनाले ज्यान गुमाएका छन । जसमध्ये तीन जनाले आफूलाई कोरोना भाइरस भएको थाहा पाउन सकेनन । उनीहरुको मृत्युपछि बल्ल कोरोना भाइरस पोजेटिभको पुष्टी भएको थियो । ज्यान गुमाउने पहिलो व्यक्ति महिला हुन । बाँकी तीन जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो संक्रमणको पुष्टी माघ ९ गते भएको थियो ।
१.सुत्केरीको सकस
कोराना भाइरसबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला पहिलो व्यक्ति हुन । उनी २९वर्षकी थिइन । बाह्रबिसे —९, राम्चेकी यी महिला सुत्केरी भएको एघारौं दिनको दिन अस्ताइन ।
धुलिखेल अस्पतालको इमरजेन्सीमा भर्ना भएको केहि बेरमा नै उनको ज्यान गएको थियो । जेठ १ गते राती उनको निधन भएको थियो । यस अघि सुत्केरी हुनकालागि उनी बैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, बैशाख २४ गते नर्मल डेलिवरि भएको थियो । दोस्रो सन्तानलाई जन्म दिएपछि उनी २५ गते डिस्चार्ज भएकी थिइन । त्यसपछि उनी सिन्धुपाल्चोकस्थित घर गएकी थिइन । बैशाख ३१ गते उनलाई अचानक श्वासप्रश्वासमा अप्ठेरो महसुस हुन थाल्यो । जेठ १ गते बिहानै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । एक्सरे गर्दा छातिमा समस्या देखियो । एक्सरे प्रतिवेदनमा दुबै फोक्सोमा निमोनिया देखिएको थियो । यसबाहेक सुख्खा खोकी र ज्वरो पनि आएको थियो । उपचारपछि पनि समस्या बिसेक भएन ।जेठ १ गते राती साढे ९ बजे धुलिखेल अस्पतालमा ल्याइएको थियो । त्यतिबेला उनलाई सास फेर्न गाह्रो भइसकेको थियो ।
शिक्षण अस्पतालबाट डिस्चार्ज भएको ५ दिनपछि नै स्वासप्रश्वासमा अप्ठेरो हुने , ज्वरो आउने लगायतका कोरोनासँग सम्बन्धीत लक्षणहरु देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. डा. समिरकुमार अधिकारीका अनुसार,ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएको थियो । ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मृत्यु भएको छ ।’ डा. अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उनको मृत्युका जानकारी दिन समेत मन्त्रालय हिचकिचाएको थियो ।
मन्त्रालयका सह प्रवक्ता अधिकारीले बेलुका ८ बजेर ५० मिनेट जाँदा विज्ञप्ति जारी गर्दै पुष्टी गरेका थिए । उनको आर्थीक अवस्था पनि कमजोर रहेको पाइएको छ । सुत्केरी हुने क्रममा टोखा नगरपालिका —९ मा डेरा लिएकी थिइन । लक डाउनको बेला उनलाई राहत दिन महिला वडा सदस्य जगतमाया महर्जनले फर्म समेत भरिदिएकी थिइन ।
२. वान्ता पछि क्वारेन्टाइनमै मृत्यु
कोरोना भाइरसबाट ज्यान गुमाउने दोस्रो व्यक्ति बाँकेका हुन । उनको जेठ ४ गते क्वारेन्टाइनमा मृत्यु भएको थियो । उनी नरैनापुर —५का बासिन्दा हुन । उनी २५ वर्षका थिए ।
ज्यान गुमाउनु अघि उनलाई वाकवाकी लागेको थियो । ज्वरो समेत आएको थियो । झण्डै एक घण्टा वान्ता गरेका थिए । उनलाई भारतको मुम्बईबाट उनी ३० बैशाखमा घर फर्किएका थिए । भारतबाट आएका कारण उनको स्वाब संकलन भइसकेको थियो । ज्यान गएकै दिन अपरान्ह चार बजे कोरोना भाइरसको पुष्टि भेरी अस्पतालको प्रयोगशालाले गरेको थियो ।
एक सातालामो यात्राले गर्दा उनी थकित थिए । नरैनापुर —५, भोजभगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दा उनको खुट्टा सुन्निएका थिए । पलाखा समेत लागेको थियो । उपचार नै नपाई उनको ज्यान गयो । भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिका यी युवाको शव पनि पोष्टमार्टम गरिएन ।
३. जन्डिसपछि ज्वरो
कोरोना संक्रमणबाट ज्यान गुमाउने तेस्रो व्यक्ति गुल्मीका हुन । उनको जेठ ८ गते ज्यान गएको थियो । ४१ बर्षका उनी शिक्षक थिए ।
गुल्मी , मदाने —६ का बासिन्दा हुन । २५ बैशाखदेखि उनलाई टाउको दुख्ने समस्याका साथै सामान्य ज्वरो आएको थियो । पछि रुघाखोकीका साथै जन्डिसको लक्षण देखिएको थियो ।
उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको थियो । बिसेक नभएपछि ३१ बैशाखमा मोटरसाईकलमा छायाँ पोलिक्लिनिकमा लगिएको थियो । त्यहाँ जचाउँदा निमोनिया, जण्डिसका भएको पत्ता लागेको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि रुपन्देही ल्याइएको थियो । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनमा जण्डिस, कडा खालको निमोनिया र मिर्गौलामा समेत समस्या आएको थियो ।
जेठ १ गते उपचारकालागि अस्पताल भर्ना भएका थिए । भर्ना भएको भोलीपल्ट घाँटीको खकार (स्वाब) संकलन गरिएको थियो । जेठ ५ गते भैरहवास्थित प्रादेशिक प्रयोगशालाले कोरोना संक्रमणको पुष्टी भएको थियो । उनलाई आइसीयुमा राखेर तीन दिनसम्म कृत्रिम श्वासप्रश्वास दिइएको थियो । क्रिमसन अस्पतालका प्रबन्ध निर्देशक शेखर पोखरेलका अनुसार फोक्सोमा समस्या थियो ।
४. अन्त्येष्टिको ८ दिन पछि कोरोना
कोरोना संक्रमणबाट ज्यान गुमाएका चौथो व्यक्ति बाराका वृद्ध हुन । जेठ ४ गते उनको निधन भएको थियो । निधन भएको ८ दिनपछि कोरोना भाइरस पोजेटिभको पुष्टी भएको थियो । उनी ७० वर्षका थिए । बारा जिल्ला करैयामाई गाउँपालिका —७का बासिन्दा हुन ।
उनलाई निमोनिया र दमको समस्या थियो । जेठ २ गते अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राख्नु अघि कोरोनाको आशंकामा स्वाब संकलन गरिएको थियो । स्वाबको परीक्षण नारायणी अस्पताल बिरगन्जमा गरिएको थियो । स्वाबको रिपोर्ट आउनु अघि नै उनको निधन भयो । पीसीआर रिपोर्ट नआउँदै अस्पतालले परिवारजनलाई शव दियो । गाउँले मिलेर अन्त्येष्टि गरे । उता कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएपछि जेठ ७ गते थप परीक्षणकालागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो । केन्द्रीय प्रयोगशालामा दुई पटक परीक्षण गरियो । जेठ १२ कोरोना भाइरस पोजेटिभको रिपोर्ट आयो ।
किन गरिएन पोष्टमार्टम ?
कोभिड १९का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि,०७६ अनुसार कोभिड १९ ले मृत्यु भएको व्यक्तिको सामान्यतया पोष्टमार्टम गर्नु पर्दैन । यदि गर्नुपरेमा मृतकको फोक्सो र अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्ने कार्यविधिको (ण) नं बुँदामा उल्लेख छ ।
त्यस्तै कार्यविधिको (त) नं बुँदामा यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै (द) नं बुँदामा पोष्टमार्टम सकिने बित्तिकै प्रयोग गरेको सामग्रीहरु पोष्टमार्टम सकिने बित्तिकै प्रयोग गरेका सामग्रीको डिसइन्फेक्ट गर्नुपर्ने उल्लेख छ ।
कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको विशेष सावधानीका साथ पाोष्टमार्टम गर्नु पर्छ । तर ती महिलाको पोष्टमार्टम हुन सकेन । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं डिष्ट्रिक्ट क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्य डा. नरेन्द्र झाले बताउन चाहेनन । उनले भने,‘ भक्तपुरबाट एम्बुलेन्स आयो । शब लिएर गयो । किन पोष्टमार्टम गरिएन भन्नेबारे मलाई नसोध्नुस ।’ मन्त्रालयका एक उच्च अधिकृत भने संक्रमणको डरका कारण कोरोना भाइरस संक्रमित कसैको पनि पोष्टमार्टम हुन नसकेको बताउँछन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार, कोरोना भाइरसको संक्रमण पछि जटिल खालको निमोनिया हुन सक्छ । उनले भने, ‘ निमोनिया र श्वासप्रश्वासमा जटिलता हुँदा फोक्सोमा समस्या आउँछ । फोक्सोले अक्सिजन पाउँदैन । त्यस्तो अवस्थामा मिर्गौला फेल तथा ब्रेन डेथ हुन सक्छ ।’
कोरोना भाइरसबाट मृत्यु भए पनि पोष्टमार्टम गरेको भए धेरै तथ्य थाहा हुने डा. प्याकुरेलको भनाई छ । ‘मृतकको फोक्सो र अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पथ्र्यो । आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्न सकिन्थ्यो । ’ डा. प्याकुरेलले भने ।
कसरी भयो अन्त्येष्टी ?
पहिलो संक्रमित महिलाको निधन भएको दुई दिनपछि अन्त्येष्टि गरिएको थियो । उनको शव काठमाडौंमा ल्याईएको थियो । जेठ ३ गते पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको थियो ।
दोस्रोे संक्रमित बाँकेका युवाको पनि पोष्टमार्टम नगरि अन्त्येष्टि गरियो । ज्यान गएको दिन अपरान्ह चारबजेट कोरोना भाइरस पोजेटिभको पुष्टी भयो । साँझ ८ बजे धार्मिक परम्परा अनुसार दाहसंस्कार गरियो ।स्थानीय राप्ती नदीको किनारामा खाडल खनेर अन्त्येष्टि भएको थियो ।
तेस्रो संक्रमित व्यक्ति गुल्मीका शिक्षकको अन्त्येष्टिमा ढीलाई भयो । उपचारका क्रममा अस्पतालले लापरवाही भएको दावी गर्दै परिवारजनले शव उठाउन अस्वीकार गरेको थियो । कलेजो र मिर्गौलामा समस्या देखिएपछि चिकित्सकले मेनेन्जाइटिसको आशंका गरेका थिए । १ जेठमा ढाडमा जमेको पानी निकालिएको थियो । ढाडबाट पानी निकालेको एक घण्टा पछि उनी बेहोस भएकोले उपचारमा लापरवाही भएको पीडित परिवारको दावी थियो ।
चौथो संक्रमित वृद्धको रिपोर्ट आउनु अघि नै जेठ ४ गते एम्बुलेन्समा शव लगेर दाहसंस्कार गरिएको थियो । खोलामा दाहसंस्कार गरिएको थियो । ७० जना भन्दा बढी मलामी गएका थिए ।
कोभिड १९ को कारण मृत्यु भएका व्यक्तिको शव जथाभावि सदगत गर्न नहुने कार्यविधिमा उल्लेख छ । शवलाई कम भन्दा कम चलाउनु पर्छ । शवलाई डिसइन्फेक्ट गर्नु आवश्यक छैन ।

